• १३ असोज २०८१, आइतबार

सुकुम्बासीद्वारा खबरदारी सभा

blog

काठमाडौँ, मङ्सिर २ गते । बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीका बासिन्दा आफूहरू त्यहाँबाट नहट्ने भन्दै आन्दोलित भएका छन् । आफूहरूलाई उठीबास लगाउन लागेको भन्दै उनीहरूद्वारा बिहीबार राजधानीको माइतीघर र नयाँबानेश्वर क्षेत्रमा ‘खबरदारी सभा’को आयोजना गरियो ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेपछि सो क्षेत्रका सुकुम्बासी भनिएकाहरू चुनावको मुखमा सडकमा उत्रिएका हुन् ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने भन्दै गत शुक्रबार सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधन हटाउन दस दिनको समय दिएको थियो । समितिले उक्त अवधिभित्र नदी किनार खाली गरेको नपाइएमा सूचनाको अवधि सकिएको मितिपछि काठमाडौँ महानगरपालिका तथा अन्य सरोकारवाला निकायसँगको सहयोग लिएर अनधिकृत संरचना भत्काइने जनाएको छ । सूचनाअनुसार अनधिकृत संरचना भत्काउन क्षेत्र खाली गर्दा÷गराउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुलउपर गरिने चेतावनीसमेत दिइएको छ ।

काठमाडौँ उपत्यकाभित्रका बागमती र यसका सहायक नदी किनारको मापदण्डभित्र अनधिकृत रूपले बनाइएका घर/टहरा तथा थुपारिएका निर्माण सामग्री र सवारीसाधनका कारण नदीको दुवै किनारतर्फको सौन्दर्यीकरणमा गम्भीर अवरोध पर्न गएको समितिको सूचनामा उल्लेख छ ।

सुन्दर, सभ्य र व्यवस्थित सहरको निर्माण तथा सहरी गरिबहरू जथाभावी सार्वजनिक स्थलमा बसोबास नगरून् भन्ने उद्देश्यसहित निर्माण गरिएको राजधानीको इचङ्गुनारायणस्थित सार्वजनिक भवनको सञ्चालन कसरी गर्ने भन्ने विषय अन्योलपूर्ण बन्दै गएको छ ।

आयोगको चेतावनी

यसैबीच निर्वाचन आयोगले मतदातालाई असर पर्ने गरी सुकुम्बासी बस्ती हटाए कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदातालाई असर पर्ने गरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने भन्दै यदि त्यसो गरेमा सम्बन्धित निकायलाई कारबाही गर्ने बताउनुभएको हो ।