• १३ साउन २०८१, आइतबार

चितवनमा ह्वात्तै बढे पर्यटक

blog

चितवन राष्ट्रिय निकुञ्ज प्रमुख प्रवेशद्वार सौराहाको राप्ती नदी किनारमा बस्दै गरेका पर्यटकहरु । तस्बिर-शान्ता अधिकारी

शान्ता अधिकारी 

चितवन, मङ्सिर १ गते । कात्तिक महिना शुरु भए यता चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले दिएको जानकारीअनुुसार बितेको तीन महिनाको समग्र पर्यटक आगमनभन्दा कात्तिक महिनाको पर्यटक सङ्ख्या दोब्बरभन्दा बढी छ । पर्यटकबाट भएको राजस्व आम्दानी दोब्बरभन्दा बढी छ ।

गत दुई वर्ष कोरोनाका कारण शून्यता जस्तै रहेको निकुञ्जको राजस्व आम्दानी बितेको चार महिनामा मात्र झण्डै छ करोडको हाराहारीमा पुगेको छ । त्यसमा पर्यटक बाट प्राप्त भएको राजस्व मात्र पाँच करोड १५ लाख ४८ हजार ३५० रुपियाँ छ ।

निकुञ्ज स्रोतले दिएको जानकारीअनुसार निकुञ्ज प्रवेशवापत साउन, भदौ र असोज महिनामा दुई करोड १३ लाख ७९ हजार २५० रुपियाँ आम्दानी भएकोमा कात्तिक महिनामा मात्र तीन करोड एक लाख ६९ हजार एक सय रुपियाँ आम्दानी भएको छ ।

कुल आम्दानी पाँच करोड ९८ लाख ६२ हजार ९२१ रुपियाँमध्ये सबैभन्दा बढी पर्यटकबाट प्राप्त राजस्व छ । त्यस्तै गैर काष्ठ पैदावारको बिक्रीबाट १५ लाख ११ हजार ७१३ रुपियाँ, दण्ड सजायवापत २४ हजार पाँच सय रुपियाँ र अन्य शीर्षकबाट एक लाख ८१ हजार ७१३ रुपियाँ निकुञ्जले आम्दानी गर्न सफल भएको छ ।


साउन यता निकुञ्ज प्रवेश गर्ने ८६ हजार ६४३ पर्यटक मध्ये ६५ हजार ५२९ जना स्वदेशी पर्यटक छन् । त्यस्तै यो अवधिमा १३ हजार ३२८ विदेशी (समुद्रपार)का र सात हजार ७८६ जना सार्क मुलुकका पर्यटक छन् ।

निकुञ्जको प्रमुख प्रवेशद्वार सौराहा क्षेत्रका होटलहरु पर्यटकले भरिभराउ भएका छन् । 

चितवन राष्ट्रिय निकुञ्जले दिएको तथ्याङ्कमा साउन भदौ र असोज महिनामा आएका पर्यटकभन्दा कात्तिक एक महिनामा आएका पर्यटक दोब्बरभन्दा बढी छन् । साउन भदौ र असोज तीन महिनामा ३५ हजार ८४९ जना पर्यटकले निकुञ्ज अवलोकन गरेकोमा कात्तिक महिनामा मात्र ५० हजार ७९४ जनाले अवलोकन गरेका छन् ।

साउन, भदौ र असोज महिनामा नेपाली २५ हजार ७४४ जना, विदेशी पाँच हजार ८८९ र सार्क मुलुकका तीन हजार ४०५ जनाले निकुञ्ज अवलोकन गरेकोमा कात्तिक महिनामा नेपाली, विदेशी र सार्क मुुलुकका पर्यटक क्रमश: ३९ हजार ७७४, सात हजार ४३९ र तीन हजार ५८१ जनाले निकुञ्ज अवलोकन गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज अवलोकनको लागि झण्डै ९० प्रतिशत पर्यटक सौराहा क्षेत्र हुँदै प्रवेश गर्ने गर्दछन् ।

चितवन राष्ट्रिय निकुञ्ज अवलोकन असोजदेखि मङ्सिरसम्मको तीन महिना मुख्य पर्यटकीय सिजनको रुपमा लिइन्छ । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्व अध्यक्ष एवं पर्यटक व्यवसायी शङ्कर सैँजु यस पटकको लक्षण राम्रो देखिएको बताउनुहुन्छ । अर्का व्यवसायी कृष्ण अधिकारीको पनि उहाँका अनुसार विदेशीभन्दा पनि प्याकेजमा नेपाली पर्यटकहरु आउने गरेका छन् ।

चितवनको पर्यटक आगमनको आधार निकुञ्ज प्रवेशलाई लिने गरिन्छ । चितवन घुम्न आउने अधिकांश पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्ने गर्दछन् ।