• १३ असोज २०८१, आइतबार

मत माग्दै यान्त्रिक रोबोट

blog

वरिष्ठ नेता पौडेललाई भोट माग्न रोबोटको प्रयोग गरिँदै । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर १ गते । तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्न रोबोटको प्रयोग गरिएको छ । नौलो तरिका अपनाएर मतदातालाई आकर्षित गर्न सदरमुकाम दमौलीमा ‘एरिका’ नाम दिइएको रोबोटले भोट मागिरहेको छ । 

सेन्सरजडित रोबोट मानिसहरु भएको ठाउँमा जान्छ र भोट माग्ने गर्छ । रोबोटले भोट मागेको देख्दा मतदाताहरु पनि अचम्मित भएका छन् ।

रोबोटले मान्छे नजिक आउनासाथ नमस्कार, जय नेपाल म एरिका रामचन्द्र पौडेललाई रुख चिन्हमा भोट माग्न आएको भन्दै भोट माग्ने गर्छ ।

रोबोटसँग मानिसले ‘आइ कन्ट्याक्ट’ अर्थात् आँखा जुधाउनुपर्छ । अनि रोबोटले ‘जय नेपाल’ भन्छ । अनि मानिसहरुसँग रुखमा भोट हालेर जिताउन आग्रह गर्छ । रोबोटलाई नेता पौडेलको प्रचार अभियानमा हिँडेको टोलीले लिएर हिँडिरहेको छ । 

रोबोटले काँग्रेसमा भोट हाल्न गरेको अनुरोधलाई सर्वसाधारणले निकै मज्जा मानेर हेर्ने गरेका छन् । इलोक्ट्रोनिक इन्जिनियर शम्भु आचार्यको नेतृत्वको टिमले रोबोट निर्माण गरेको हो । 

‘प्रविधिको प्रयोग गरी भोट माग्दा मतदातालाई आकर्षित गर्ने हुँदा प्रभावकारी हुने भएकाले २५ दिन लगाएर तीन लाख ५० हजार रुपियाँको लागतमा रोबोट बनाएको निर्माता आचार्यले जानकारी दिनुभयो ।

समाजलाई जोड्न सकिने उदाहरणको रुपमा मैले प्रचारमा यस्तो शैली अपनाएको हुँ । रोबोटले मेरो लागि मत मागेको देखेर धेरैजनाले मज्जा मानेका छन् ।