• १९ असोज २०८१, शनिबार

उपत्यकाबाट बाहिरिने बढे

blog

काठमाडौँ, मङ्सिर १ गते । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै काठमाडौँबाट बाहिरिने सार्वजनिक यातायातमा यात्रुको चाप बढेको छ। जिल्लामा जाने अधिकांश बस रिजर्व भइसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। मङ्सिर ४ गतेको निर्वाचन अघिसम्म करिब पाँच लाख यात्रु बाहिरिने महासङ्घको अनुमान छ।

महासङ्घका महासचिव डेकनाथ गौतमकाअनुसार बुधबार नियमितभन्दा ४० प्रतिशत यात्रुको वृद्धि भएको छ। नयाँ बसपार्कबाट छुट्ने रुटका झन्डै एक हजार बस रिजर्व भइसकेका छन् तर सार्वजनिक यातायातको टिकट अभाव नहुने र सहज यात्राका लागि बसको व्यवस्थापन गरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो। उहाँका अनुसार एउटा जिल्लामा १० देखि १५ वटासम्म बस रिजर्व भएका छन्। पार्टीका सम्पर्क समन्वय समिति र उम्मेदवारबाट बस रिजर्र्व भएका हुन्। आफैँ टिकट काटेर जानेको सङ्ख्या पनि बढेको छ। 

अन्तरप्रदेशमा सञ्चालित बसमा पनि यात्रुको चाप बढेको छ। विभिन्न पार्टीका सक्रीय कार्यकर्ताहरू जिल्ला पुगिसकेका छन्। अब जाने यात्रुहरू भनेको मतदाताहरू रहेको सिटौलाको दाबी छ। मङ्सिर २ गतेसम्म लामो दुरीका यात्रुले टिकट लिएका छन् भने मङ्सिर ३ गते काठमाडौँ आसपासका यात्रु बढी सङ्ख्यामा जाने महासङ्घको अनुमान छ। निजी सवारीसाधनले पनि यात्रु (मतदाता) ओसारेका छन्। 

निर्वाचन आयोगकाअनुसार मङ्सिर ३ गते दिउँसोसम्म सार्वजनिक यातायात सञ्चालन हुनेछन्। ३ गते राति र ४ गते मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यकबाहेकका सार्वजनिक यातायात सञ्चालन हुने छैनन्।