• १३ असोज २०८१, आइतबार

लामिछानेको नागरिकता विषयकाे उजुरीमा आयोगकाे अनुसन्धान शुरु

blog

वसन्त पराजुली 

भरतपुर, कात्तिक ३० गते । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेको नागरिकता सम्बन्धमा परेको उजुरीमा निर्वाचन आयोगले अनुसन्धान सुरु गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेविरुद्ध नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने माग गर्दै परेको उजुरी उपर अनुसन्धान सुरु भएको हो ।

अनुसन्धानकै क्रममा आयोगले लामिछानेलाई स्पष्टीकरण सोधेको निर्वाचन कार्यालय चितवन क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो । 

“हामीले लामिछानेलाई नागरिकताका विषयमा उठेको सवालमा स्पष्टीकरण सोधेका छौँ”, आचार्यले भन्नुभयो, “ यो स्पष्टीकरणको जवाफ लामिछानेले सात दिन भित्र आयोगमा बुझाउनुपर्ने छ ।” 

लामिछानेमाथिको स्पष्टीकरण पत्र निर्वाचन कार्यालयबाट स्वतन्त्र पार्टी चितवनका सचिव कृष्णप्रसाद भुसालले बुझ्नुभएको छ । 

लामिछानेका विरुद्ध आयोग कार्यालयमा राजकुमार पाण्डेले उम्मेदवारी खारेजी मागसहित मंगलबार उजुरी दिनुभएको थियो । आयोगमा दर्ता भएको सो उजुरीलाई आयोगले आफ्नो मातहत कार्यालय निर्वाचनको कार्यालय चितवन क्षेत्र नम्बर– २ मा परिपत्र गरेको थियो । आयोगकै परिपत्रका आधारमा लामिछानेलाई आफूहरूले स्पष्टीकरण मागेको आचार्यले गोरखापत्रलाई भन्नुभयो । 

१८२२२ नागरिकता नम्बर कायम भई २०५० सालमा तत्कालीन काठमाडौं नगरपालिका वडा नम्बर ६ बाट रविले नागरिकता लिनुभएको बताइन्छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लिइएको सो नागरिकता अमेरिकाको नागरिक भएसगैँ खारेज भएको तर त्यही खारेज नागरिकताकै आधारमा उम्मेदवारी दर्ता गरिएको दाबी उजुरीकर्ताको छ । 

नेपाल नागरिकता ऐन २०६३ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशी नागरिक बनेसँगै नेपाली नागरिकता निष्क्रिय हुने व्यवस्था छ । यसरी निष्क्रिय बनेको नागरिकताका सम्बन्धमा विवाद भएपछि चार वर्षअघि नै अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकता सक्रिय बनाएको रवि लामिछानेको दाबी छ ।

आफ्नो नागरिकतासम्बन्धि विवाद चार वर्ष अघि नै सकिएको तर अहिले अनावश्यक विवाद झिकिएको लामिछानेले मंगलबार फेसबुक लाइभमा भन्नुभएको छ । नागरिकताको विषय चार वर्ष अघि सकिए पनि अहिले उम्मेदवारको दाबी विरोध सकिएपछि किन पुनः  एकाएक चर्चामा आयो यो आश्चर्यको विषयमा छ।

यसमा कतै लामिछानेभित्रै 'प्रोपोकाण्ड'का लागि रचिएको विषय हुन सक्ने आशङ्का एकातिर छ भने अर्कोतर्फ नागरिकताभित्र देखिएको त्रुटि उजागर गर्न पनि यो उजुरी भएको हुनसक्ने बताइन्छ । सहायक निर्वाचन अधिकारी आचार्यले लामिछानेले स्पष्टीकरण दिएपछि जस्ताको तस्तै आयोग कार्यालयमा पठाउने बताउनुभयो ।

“उजुरी उपर आयोग कार्यालयले नै छानबिन गरिरहेको हुँदा हामी उतै जवाफ पनि पठाउने छौँ”, उहाँले भन्नुभयो । उम्मेदवारमाथिको दाबी विरोधमाथिको हदम्याद सकिएपछि आएको उजुरीलाई आयोगले विशेष परिस्थितिमा विशेष निर्णय लिएर अनुसन्धान गर्न सक्ने पनि आचार्यले जानकारी दिनुभयो ।