• १३ साउन २०८१, आइतबार

चुँदीरम्घालाई साहित्यिक धाम बनाइन्छ : नेता पौडेल

blog

तनहुँमा आयोजित कार्यक्रममा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक ३० गते। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ-१ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले आदिकवि भानुभक्तको जन्मस्थल भानु नगरपालिका-४ स्थित चुँदीरम्घा र यस आसपासको क्षेत्रलाई साहित्यिक धाम बनाइने बताउनुभएको छ।

 भानु नगपालिका-२ गोठरीमा बुधबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो। भानुको जन्मस्थलमा जीवनको एकपटक पुग्नैपर्ने स्थानको रुपमा बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माण गरेर धाम बनाइने त्यसको लागि निर्वाचनमा अत्यधिक मतले विजयी गराउन मतदातालाई उहाँले आग्रह गर्नुभयो।

गाउँमै बसौं बसौं बनाउन कृषि क्रान्ति, पर्यटनको विस्तार तथा उद्योग व्यवसायको सञ्चालन आवश्यक रहेको पौडेलको भनाइ छ। उन्नत र स्वावलम्बी समाज निर्माण गर्न जीवनोपयोगी शिक्षा, सर्वसुलभ र भरपर्दो स्वास्थ्य सेवा र श्रमको सम्मान गर्ने संस्कृति आवश्यक रहेको नेता पौडेलको भनाइ छ। शिक्षालाई सीपमा, सीपलाई श्रममा, श्रमलाई उत्पादनमा, उत्पादनलाई रोजगारीमा र रोजगारीलाई बजारमा पुर्याउने नीति ल्याउने वरिष्ठ नेता पौडेलले बताउनुभयो। 

तनहुँ–१ को प्रदेश (क) बाट प्रदेश सभाका सत्ता गठबन्धन साझा उम्मेदवार अशोककुमार श्रेष्ठले समाज परिवर्तनको वेगलाई लोकतान्त्रिक तथा प्रगतिशील ऊर्जामा रुपान्तरण गर्न, संविधानले जनतासँग गरेको समुन्नत नेपालको जग बसाल्ने कार्यभार पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले जल, जमिन, जङ्गल जडीबुटी, पर्यटन र संस्कृतिको परिचालन गरेर गाउँ र सहरमा बराबरी समुन्नतसहितको समृद्ध तनहुँको निर्माणका लागि जनताको सेवामा सङ्कल्प लिएको बताउनुभयो।