• १३ असोज २०८१, आइतबार

जनताले प्रधानमन्त्री बन्नुस् भनेका छन् : नेता सिंह

blog

नेता सिंह घरदैलाे कार्यक्रममा ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ३० गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताउनुभएको छ । 

बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएको जानकारी दिनुभयो । 

उहाँले विगतका चुनावमा भन्दा यस पटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरू धेरै गरेको बताउनुभयो । 

उहाँले जनताले काठमाडौं, १ मा खानेपानीको समस्या समाधान गर्ने कुरा पहिलो माग राखेको बताउनुभयो । गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताले माग गरेको बताउनु भयो ।

उहाँले आसन्न निर्वाचनमा जित हासिल गरेपछि आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको बताउनुभयो । शिक्षामा समानताका लागि सङ्घीय शिक्षा ऐन बनाउँदा जोड दिने पनि बताउनु भयो । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको साझा उम्मेदवारको रूपमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रमा भएका सार्वजनिक जग्गाहरू अनधिकृत रूपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्कहरू बनाउने बताउनुभयो ।

नेता सिंहले संवैधानिक निकायहरूमा राजनीतिकरण हुनु नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने कुरामा जोड दिनुभयो ।