• १३ असोज २०८१, आइतबार

मतदान केन्द्रतर्फ हिँड्न थाले कर्मचारी र सुरक्षाकर्मी

blog

गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु निर्वाचन सामग्री बुझेर गन्तव्यतर्फ लाग्दै । तस्विर–ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक ३० गते । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ हिँड्न थालेका छन् । सदरमुकामदेखि टाढा रहेका मतदान केन्द्रमा खटिएका कर्मचारी र सरक्षाकर्मीहरु बुधवारदेखि निर्वाचन सामग्री बुझेर हिँड्न थालेका हुन ।

जिल्लाको अति विकट धवलागिरि गाउँपालिका १ गुर्जा, ४ नम्बर वडा मुदीको बगरा,२ नम्बर वडा लुलाङ,५ नम्बर वडा मल्कबाङ र रघुगङ्गा गाउँपालिका ८ को कुइनेमंगलेका मतदान केन्द्रमा खटिएका कर्मचारीहरु बुधवार नै बेनीबाट हिंडेका छन् ।   

मतदान केन्द्रमा खटिएका कर्मचारीलाई जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचन सामग्री हस्तान्तरण गर्नुभएको छ । दुर्गम भेगका मतदान केन्द्रमा खटिएका कर्मचारी लगायतको टोलीले मङ्गलबार र बुधवार निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ हिडेको जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो । 

मङ्सिर १ गते साँझसम्म पुग्नुपर्ने भएकाले  निर्वाचन सामग्री बुझेर गुर्जातर्फ लागेको मतदान अधिकृत अमृतप्रसाद सुवेदीले बताउनुभयो । एउटा मात्र मतदान केन्द्र रहेको गुर्जामा मतदान अधिकृत,सहायक मतदान अधिकृतसहित ८ जना कर्मचारी र १२ जना सुरक्षाकर्मी सहित २० जना खटिएका छन् । 

कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ६३ प्रकारका निर्वाचन सामग्री बुझेका छन् । 

मङ्सिर १ गते साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुुगेर मदिरा निषेधित क्षेत्रको सूचना टाँस लगायतका निर्वाचनसँग सम्बन्धित कामहरु गर्नुपर्ने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो ।