• १० चैत २०८२, मङ्गलबार

महानगर प्रमुख साहसँग जर्मनीका राजदूत डा. प्रिन्सको शिष्टाचार भेट

फोहोरको दिगो व्यवस्थापनसहित आपसी सहयोगका विषयमा कुराकानी

blog

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग भेटवार्ता गर्नुहुँदै नेपालका लागि जर्मनीका राजदूत डा.थोमास प्रिन्स । तस्बिर : काठमाडौं महानगर

काठमाडौं, कात्तिक २९ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमास प्रिन्सले शिष्टाचार भेट गर्नुभएको छ । मङ्गलबार प्रमुख साहको कार्यकक्षमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रमुख साहले फोहोरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताउनुभयो । राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसङ्गमा चर्चा गर्नुहुँदै अहिलेको अवस्थामा बारे जानकारी लिन चाहेपछि प्रमुख साहले आफ्नो योजना सुनाउनुभएको थियो ।

प्रमुख साहले भन्नुभयो, ‘‘फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि छन् । हामीसँग प्रस्ताव पनि धेरै छन् । तीमध्ये वर्गीकृत फोहोरलाई प्रकृतिअनुसार व्यवस्थापन गर्न सकिने दिगो प्रविधि हाम्रो प्राथमिकतामा छ ।’’

महानगरका प्राथमिक कार्यक्रमका बारेमा जानकारी दिनुहुँदै प्रमुख साहले, मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुनर्स्थापना, खुल्ला तथा सार्वजनिक स्थलको संरक्षण, पार्क निर्माण शैक्षिक गुणस्तरको वृद्धि तथा स्वास्थ्य सेवाको पहुँच वृद्धिलगायत क्षेत्रमा काम भइरहेको बताउनुभयो ।

फोहोरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौं महानगरलाई सहयोग गरेको थियो । राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्नुहुँदै परम्परागत सङ्गीत शिक्षण तथा प्रवर्द्धनका लागि सहयोगको इच्छा व्यक्त गर्नुभएको थियो । उहाँले सहरी विकास, निर्माण र व्यवस्थापनका विषयमा चासो राख्नुभएको थियो ।

भेटका क्रममा महानगरका पूर्वाधार सल्लाहकार एवम् सविचवालय सदस्य सुनिल लम्साल, सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठसहित अधिकारी सहभागी हुनुहुन्थ्यो ।