राधाकृष्ण डुम्रे
वालिङ, कात्तिक २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जामा पार्टीको आन्तरिक विवादका कारण ठूलो समूहबाट निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । पार्टीको आन्तरिक विवाद समाधान नगरीकन मनोमानी ढङ्गबाट निर्वाचनमा उम्मेदवार बनाएर अगाडि बढेकोमा आपत्ति जनाउँदै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको असन्तुष्ट पक्षको जिल्ला अध्यक्ष ज्ञानप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
राप्रपाको एकतापछि नवौँ महाधिवेशनको तयारीका लागि पार्टीको केन्द्रीय समितिले तोकेको कार्यकारी अध्यक्ष ज्ञानप्रसाद न्यौपाने र कार्यबहाक अध्यक्ष भूमिजंग केसीले जिल्लाका सबै तहको अधिवेशन तयारी गर्दा केन्द्रबाट कमल थापा नेतृत्वका साथीहरूले नीलकण्ठ काफ्ले र मदन कार्कीको मिलेमतोमा न्यौपानेको अध्यक्षतामा बसेको बैठकलाई कुल्चेर होटलमा बसेर वडा अधिवेशन, गाउँ अधिवेशन र नगर अधिवेशन गरी इन्द्र गुरुङलाई जिल्ला अध्यक्ष बनाएपछि पार्टीभित्र विवाद सिर्जना भएको थियो ।
पछि न्यौपाने समूहले पनि निर्धारित तालिकाअनुसार जिल्ला अधिवेशन सम्पन्न गरी केन्द्रमा कागजात पठाएपछि पार्टी भित्र विवादले ठूलो रूप लिएको थियो । केन्द्रको महाधिवेशनमा न्यौपाने समूहले भाग लिन नपाएपछि एकलौटीरुपमा गुरुङ समूहको मात्र उपस्थिति रहेको थियो । न्यौपाने २०४८ सालबाट निरन्तर पार्टीमा क्रियाशील नेता हुनुहुन्छ ।
न्यौपाने समूहबाट गत स्थानीय तहको निर्वाचनमा तटस्थ बसेको कुनै उम्मेदवारी नदिएको र मतदानमा पनि सहभागी नभएको जनाएका छन् । यस पटकको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पनि उक्त समूहको सल्लाह विना अन्य पार्टीबाट आएका नयाँ मान्छेलाई उम्मेदवार बनाएका कारण न्यौपाने समूहको जिल्ला समितिको आकस्मिक बैठक बसी आगामी मङ्सिर ४ गतेको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
राप्रपाबाट प्रतिनिधि सभातर्फ क्षेत्र नं १ बाट खेम गुरुङ, क्षेत्र नं २ बाट लालगोपाल अर्याल र प्रदेशतर्फ क्षेत्र नं १ (क)बाट सूर्यलाल श्रेष्ठ, प्रदेश (ख)बाट गोविन्दप्रसाद उपाध्याय र क्षेत्र नं २ प्रदेश (क) बाट सागर गैह्रे र (ख) बाट कमलप्रसाद डुम्रेलाई उम्मेदवार बनाएको छ ।
क्षेत्र नं २ बाट प्रतिनिधि सभामा लालगोपाल अर्याललाई उम्मेदवार बनाएपछि पार्टी भित्रै असन्तुष्टि बनेको बुझिएको छ । उम्मेदवार अर्यालले प्रतिस्पर्धी दल नेकपा (एमाले)का नेताहरूसँग निरन्तर भेटघाट गर्ने गरेको भन्दै राप्रपाका कार्यकर्ताहरूले विरोध जनाएको बताइएको छ । अर्याल काँग्रेसबाट टिकटका आकाङ्क्षी हुनुहुन्थ्यो । उहाँ राप्रपा प्रवेश गरेर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको हो ।