• ९ मंसिर २०८१, आइतबार

मताधिकार प्रयोगमा विवेक

blog

“अक्षम मानिस राजनीतिमा आउनु भनेको अक्षम मानिसबाट मतदाता स्वयं शासित हुनु हो। अक्षम छान्नुको सजाय यही हो,” यी भनाइ महान् युनानी दार्शनिक प्लेटोका हुन्। आसन्न निर्वाचनका सन्दर्भमा मतदानद्वारा प्रकट हुने सम्भावित नतिजाको प्रसङ्गमा यहाँ उद्धृत गर्न आवश्यक ठानिएको हो। मुलुक यतिखेर चुनावी माहोलमा होमिँदै छ। सङ्घ र प्रदेश दुवै तहका सांसद पदका लागि आगामी मङ्सिर ४ गते देशभरि एकैसाथ निर्वाचन हुन गइरहेको छ। कुनै पनि निर्वाचन चुनौतीपूर्ण हुन्छ नै, संवेदनशील पनि त्यत्तिकै हुन्छ । जसको आ–आफ्नै महìव र भूमिका रहन्छ । 

आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर आभूषण 

संविधानतः सामान्यतया प्रत्येक पाँच वर्षमा हुने संसदीय चुनावलाई आवधिक निर्वाचन भन्ने गरिन्छ। लोकतन्त्रमा निर्वाचनमार्फत नै मतदाताले खराबलाई दण्डित र असललाई पुरस्कृत गर्ने गरी जनादेश जारी गर्छन्। अतः दलहरूकै निमित्त पनि निर्वाचन आफ्नो लोकप्रियताको डिग्री वा नाडी छाम्ने एक महत्वपूर्ण मापन अथवा कडी पनि हो। त्यसैले आवधिक निर्वाचनलाई लोकतन्त्रको सुन्दर आभूषण भन्ने गरिएको हो।

बालिग मताधिकार

मताधिकार नैसर्गिक हक, अधिकार हो। संविधानको धारा १७ को उपधारा २ को (क) र (ग) मा स्वतन्त्रताको हक अर्थात् प्रत्येक नागरिकलाई आफ्नो इच्छाअनुसार आस्था र विचार राख्न, अभिव्यक्त गर्न तथा संविधान, कानुनबमोजिम दल खोल्न र सो दलमार्फत राजनीतिक गतिविधि गर्न छुट छ। जुन लोकतन्त्रको एक महत्वपूर्ण पाटो हो। संविधानतः १८ वर्ष उमेर पुगेका प्रत्येक व्यक्ति बालिग नागरिक मानिन्छन्। आसन्न निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० बालिगले आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्। आगामी मङ्सिर ४ गतेका दिन यिनै मतदाताले सङ्घ र प्रदेशका सांसद पदका उम्मेदवारको भाग्यको फैसला गर्नेछन्। मतदान अमूल्य दान भएकाले आफ्नो सो मताधिकार प्रयोग गर्दा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने बताइन्छ। 

निर्वाचन आयोगको तयारी

कुनै पनि निर्वाचन भन्नेबित्तिकै यसअन्तर्गत विभिन्न चरण तय गरिएका हुन्छन्। ती चरणमध्ये आयोग अब अन्तिम चरण अर्थात् मतदान एवं सोको परिणामसम्बन्धी प्रक्रियाअन्तर्गतको तयारीमा जुटेको देखिन्छ। सोअनुरूप आवश्यक तयारी युद्धस्तरमा भइरहेको जनाइएको छ। समग्रमा आयोगको व्यवस्थापकीय पाटो सन्तोषजनक नै रहेको पाइएको छ, जुन सराहनीय छ।

प्रभावकारी मतदाता शिक्षा 

एउटै मात्र मतको फरक वा अन्तरले पनि प्रतिनिधि चयनको परिणाम तलमाथि हुन सक्छ। त्यसैले दान गरिएको मतको पूर्ण उपयोग हुन सक्नुपर्छ। ठूलो, लामो, भद्दा धेरै निर्वाचन चिह्न भएका मतपत्रमा थोरै समयमा छुट्टाछुट्टै रूपमा छाप हान्नु भनेको निश्चय पनि आफैँमा झन्झटिलो कार्य हो। यस पटकको चुनावमा सङ्घ र प्रदेश गरी दुवैमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी चार–चारवटा मतपत्रमा छुट्टाछुट्टै छाप लगाउनुपर्ने, सो चारवटामध्ये दुइटा रातो, दुइटा कालो रङको चिह्न भएका मतपत्र त्यस्तै रङ भएको स्टिकर लगाएका मतपेटिकामा छुट्टाछुट्टै तरिकाबाट खसाल्नुपर्ने व्यवस्था छ। अतः भरिसक्य कुनै पनि मतपत्र बदर नहोस् भन्ने कुराको हेक्का, तदनुरूपको तयारी गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभई राजनीतिक दलको पनि हो। 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सबै पदमा खसेको दुई करोड ९४ लाख ८८ हजार ९८८ मध्ये ४२ लाख २० हजार ९४ मत बदर भएका थिए। यतिका मतपत्र खेर जानुका मुख्य कारणमा त्यसबखत मतदाता शिक्षा कार्यक्रम प्रभावकारी एवं व्यावहारिक नहुनु नै हो। विशेषगरी स्थानीय दल र उम्मेदवारको पनि चरम लापरबाही हो। तसर्थ विगतको सो अनुभवबाट पाठ सिक्दै निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई व्यावहारिक एवं प्रभावकारी तुल्याउनेतर्फ आवश्यक पहल गरेको छ। साथै राजनीतिक दल वा उम्मेदवारका कार्यकर्ताले पनि घरदैलो कार्यक्रम गर्दा र अघिपछि पनि मतपत्रमा कुन चिह्नमा कसरी छाप लगाउने, कसरी मतपत्र पट्याउने भन्ने आदि कुरा न्यूनतम रूपमा प्रशिक्षित गराउनु उत्तिकै आवश्यक छ।

आचारसंहिताको पालना

आसन्न निर्वाचनको सन्दर्भमा विगतमा जसरी यस पटक पनि आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न गत असोज १२ गते जारी आचारसंहितामा केही संशोधन गरी आचारसंहिता, २०७९ जारी गरेको छ। जुन आचारसंहितामा स्वयं दलहरूले पूर्ण पालना गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। निर्वाचनको स्वच्छता नै निष्पक्ष निर्वाचनको विश्वसनीयता हो। आसन्न निर्वाचनको विश्वसनीयताकै खातिर उक्त आचारसंहिता जारी गरिएको हो।

युवा वर्गको भूमिका 

मुलुकमा संवत् २००७ सालको परिवर्तनपछि जनस्तरबाट जे–जति आन्दोलन भए, ती सबै परिवर्तन एवं समृद्धिकै खातिर भएका थिए। ती आन्दोलनमा अपार जनसहभागिता भनौँ या अपार जनउभार, प्रायः युवा जमातकै बाहुल्य रहेको थियो। युवापुस्ता भोलिका भविष्य हुन्; जो परिवर्तनका संवाहक हुन् भनेर त्यसै भनिएको होइन। हाल हुन गइरहेको निर्वाचनमा कुल मतदातामा ४९ प्रतिशत मतदाता १८ देखि ४० वर्षबीचका युवा छन्। यस्तै कुल मतदातामध्ये करिब २१ लाख ६९ हजार मतदाता विदेशमा रहेको अवस्था छ। जुन कुल मतदाताको १२ प्रतिशत जति हुन आउँछ। 

यो संवेदनशीलतालाई मनन गरी विदेशमा रहेका नागरिकको वास्तविक लगत सङ्कलन गर्न दर्ता प्रक्रिया अविलम्ब सुरु गरी आउँदो निर्वाचनसम्म मतदानमा सहभागी हुने वातावरण मिलाउनु, उनीहरूको मताधिकार सुनिश्चित गर्नू भनी संवत् २०७४ चैत ७ मा सर्वोच्च अदालतबाट आदेश भए पनि यो निर्वाचनसम्म आइपुग्दा सो आदेश कार्यान्वयनमा आउन सकेको छैन। सायद सरकारसामु पनि आफ्नै समस्या वा अरू त्यस्तै कुनै चुनौती वा बाधा अड्चन हुन सक्छन्। अबको समय भनेको परिवर्तनको समय अर्थात् देशमा समृद्धि वा विकासमा छलाङ मार्ने समय हो। हरेक आन्दोलन भनौँ या चुनावी रुझान समृद्धि र परिवर्तनकै नाममा गर्ने गरिएको पाइन्छ। विडम्बना दलहरूका व्यवहार, कार्यशैली भने कछुवाको गतिजस्तै टिकट वितरणमा पराक्रम गर्न सक्ने जुझारू शिक्षित युवा 

जमातलाई भन्दा पनि परिक्रमा गर्ने, स्तुतिगान गाउने, सुकिला लुगा लगाउनेहरूले नै प्रायः प्राथमिकता पाउने गरेका छन्। 

समय बदलियो, व्यवस्था बदलियो, सरकार बदलियो, परिवेश बदलियो, मतदाता बदलिँदैछन् तर त्यसको आकलन गर्न अथवा तदनुरूप मानसिकतामा परिवर्तन ल्याउन नेताहरूले नसकेको गुनासो सर्वत्र छ। त्यसैले नागरिक समाजका अगुवा, बुद्धिजीवी, पढेलेखेका मतदातासमेतले भन्न थालेका छन्– अब नेतृत्व वर्गले राजनीतिमा सक्रिय रहनुको साटो संरक्षकत्व ग्रहण गर्नु उत्तम हुनेछ। हिजो पनि अघिल्लो पुस्ताको नेतृत्वले अगाडि नबढाएको भए अहिलेको नेतृत्वले कसरी स्थापित हुने अवसर पाउँथ्यो र ? परिवर्तनका खातिर युवालाई नै अग्रसर तुल्याउनु जरुरी छ। युवा स्वयं पनि अब जाग्ने र तात्ने बेला आएको छ।

देशको राजनीतिलाई हराभरा पार्ने कार्यमा युवाकै भूमिका महत्वपूर्ण मानिन्छ। अपितु यो निर्वाचनमा सङ्घ र प्रदेश दुवै तहका लागि कुल उम्मेदवार पाँच हजार ६३६ रहेकामध्ये २५–४० वर्ष उमेर समूहकाको उम्मेदवारी सङ्ख्या एक हजार ८५३ (३०.८२ प्रतिशत) मात्र रहनु विडम्बना नै मान्नुपर्छ। सक्षम, योग्य, जुझारू, मिलनसार युवा पुस्ताले नै अब नेतृत्वका लागि अग्रसरता लिनुपर्छ, लिन हिम्मत पनि गर्नुपर्छ, चाहे जुनसुकै दलका युवा कार्यकर्ता किन नहुन्। विगतका अनुभवबाट पाठ सिक्दै असललाई पुरस्कार र खराबलाई दण्डित गर्न मतदाताले युवालाई साथ दिनैपर्छ। अन्यथा परिवर्तनका खातिर फेरि पाँच वर्ष कुर्नुबाहेक अरू के नै विकल्प हुन्छ र ?

अतः दलका नेता जो अघिल्लो पुस्ताका छन्, उनीहरू र सम्बन्धित दलका अन्य नेताले गरेको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्छ। तथापि आफ्ना र आफ्ना दलका तर्फबाट विगतमा भए–गरिएका कमीकमजोरी सुधार गर्दै समयको मागलाई मनन र आत्मसात् गर्दै नेतृत्व पुस्तान्तरण गर्दा मात्र अहिलेको नेतृत्व वर्ग जीवनपर्यन्त पूजनीय बन्नेछ। यसैगरी आसन्न निर्वाचनको स्वच्छता एवं निष्पक्षताका खातिर जारी गरिएको आचारसंहिता, २०७९ को स्वयं आफूले पूर्वप्रतिबद्धता जाहेर गरेअनुरूप आममतदातालाई भयमुक्त वातावरणमा स्वतःस्फुर्त रूपमा मतदान गर्न सक्ने वातावरण बनाउन यतिखेर देशका सबै दललगायत, विभिन्न तह र तप्काले आ–आफ्नो तहबाट सक्दो योगदान गर्नुपर्छ। 

अन्त्यमा महान् ग्रिक दार्शनिक विद्वान् प्लेटोले भनेझैँ राजनीतिमा अक्षम व्यक्ति आउनु भनेको त्यस्तो अक्षम व्यक्तिबाट मतदाता स्वयं शासित हुनु हो। आसन्न निर्वाचनमा नेपाली मतदाताले यस्तो मूर्खता प्रकट गर्ने छैनन्। किनकि मताधिकार प्रयोग गर्दा नेपालीले यस पटक अवश्यमेव सुझबुझपूर्ण निर्णय लिनेछन्। विवेकको परीक्षामा मतदाता पास हुन सके समृद्ध नेपाल निर्माणको सपना साकार मात्र हुने छैन, आमनेपालीको कल्याण हुनेछ।