• १३ साउन २०८१, आइतबार

निर्वाचन सुरक्षा भरपर्दो बनाउँदै जिल्ला प्रशासन

blog

रवीन्द्र उप्रेती 

बर्दिबास, कात्तिक २८ गते । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुरक्षा व्यवस्थाबारे चासो र चर्चा बढ्न थालेको छ । केही समूहले निर्वाचन बिथोल्न औपचारिक रुपमै आह्वान गरेको र गतिविधि बढाएकाले सुरक्षा व्यवस्था थप कडा पारेको प्रशासनले जनाएको छ । नेपाली सेनाले समेत निर्वाचन लक्षित सुरक्षा परिचालन गरेकाले कुनै प्रकारको अवाञ्छित गतिविधि हुन नपाएको जनाइएको छ । 

जिल्ला निर्वाचन कार्यालय, महोत्तरीकाअनुसार प्रतिनिधिसभाका ४ तथा प्रदेश सभाका लागि ८ निर्वाचन क्षेत्रमा २५८ मतदानस्थल र २ अस्थायीसमेत ५०१ मतदान केन्द्र कायम गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले सबै मतदानस्थलमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको दाबी गर्नुभयो । 

पहाडीकाअनुसार निर्वाचन क्षेत्र र निर्वाचन केन्द्रका परिस्थितिजन्य अवस्थाको विश्लेषणको आधारमा निर्वाचनस्थलको वर्गीकरण गरी सुरक्षा व्यवस्था सुदृढ पारिएको छ । 


भारतको विहार राज्यको सीतामढी र मधुवनी गरी दुई जिल्लासँग ३९ किलोमिटर सीमा जोडिएको महोत्तरीमा शान्तिपूर्ण तरिकाले निर्वाचन गर्नु चुनौतीपूर्ण भएको छ ।

सुरक्षाको लागि नेपाल भारतको सीमा नाका निर्वाचन अगावै ७२ घण्टा सिल गर्ने दुई देशका सुरक्षा अधिकारीहरूको बैठकले निर्णय गरिसकेको छ । 

प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जिल्लाभरका २५८ मतदानस्थलमध्ये १४३ अर्थात् ५५ प्रतिशत मतदानस्थल अति संवेदनशील, ११४ संवेदनशील र एउटालाई मात्र सामान्यमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षा व्यवस्था मिलाइएको जनाउनुभयो ।

सामाजिक एवं सांस्कृतिक परिवेश, सामाजिक मनोविज्ञान, विगतका घटनाक्रम, भौगोलिक अवस्थिति, मतदाताको मनोभावना, राजनीतिक गतिविधिलगायत परिस्थितिका आधारमा जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको वर्गीकरण गरेको जनाइएको छ ।  

पङ्गेनीले निर्वाचनलक्षित गरी तीन तहमा सुरक्षा परिचालन गर्ने बताउनुभयो । ‘पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ’ पङ्गेनीले भन्नुभयो । 

यसका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी चार हजार तीन सय र सशस्त्रको ६ सय बढी परिचालनको तयारीमा छ । सशस्त्र प्रहरीलेसमेत निर्वाचनलाई लक्षित गरी ४ वटै निर्वाचन क्षेत्रमा सुरक्षा बेस खडा गरी निगरानी बढाएको छ ।

नेपाली सेनाले निर्वाचन सुरक्षालाई बाहिरी घेराबाट निगरानी गरिरहेको छ भने राष्ट्रिय अनुसन्धान विभागले हरेक गतिविधिमाथि सूक्ष्म निगरानी राखेको पङ्गेनीले जनाउनुभयो । 

‘सुरक्षित एवं भयरहित मतदानका लागि चुस्त र दुरुस्त सुरक्षा व्यवस्था मिलाएका छौँ’ पङ्गेनीले भन्नुभयो ।