• १२ असोज २०८१, शनिबार

कतार विश्वकपका लागि इरान टोलीको घोषणा

blog

इरान फुटबल टोली । तस्बिर : तेहरान टाइम्स

काठमाडौं, कात्तिक २८ गते । कतारमा मङ्सिर ४ गतेदेखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि इरानले २५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक कार्लोस क्वीरोजले आइतबार राति एसियाली देश इरानको अन्तिम टोली सार्वजनिक गर्नुभएको हो । प्रशिक्षक कार्लोसले टोलीमा निकारागुआविरुद्धको खेलमा चोट बोक्नुभएका ओमिद इब्राहिमीलाई समेट्नुभएको छैन । 

इरानले विश्वकपअघि कतारको दोहामा ट्युनिसियासँग मैत्रीपूर्ण अभ्यास खेल खेल्न लागेको छ । विश्वकपमा इरान समूह ‘बी’ मा रहेको छ । यस समूहमा इङ्ल्यान्ड, वेल्स र अमेरिका रहेका छन् । इरानले मङ्सिर ५ गते इङ्गल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

इरानी टोलीको गोलरक्षकमा अलिरेजा बेइरानभाड, अमिर बदेदजादेह, होसेन होसेइनी र पायम निएजमान्ड हुनुहुन्छ । रक्षकहरूमा एहसान हाजासाफी, मोर्तेजा पाउरालिगान्जी, रामिन रेजाइन, मिलद मोहम्मदी, होसेन कानाजिजादेगन, शोजाई खालीजादेह, सादेघ मोहरामी, रोउजबेह चेस्मी, मजिद होसेनी र अबोलफजल जाली हुनुहुन्छ ।

यस्तै मिडफिल्डरहरुमा भहिद अमिरी, अलिरेजा जाहानबाख्स, साइद एजातोलाही, मेहदी तोराबी, सामान घोडोस, अली घोलिजादेह, अहमद नोउरोलाही र हलि करिमी तथा स्ट्राइकरहरुमा करिम अन्सारीफार्द, सर्दार अजमोन र मेहदी तारेमी हुनुहुन्छ । एजेन्सी