• १२ असोज २०८१, शनिबार

बीके सुनचाँदी टिम बन्यो फुटसल च्याम्पियन

blog

गोरखापत्र अनलाइन

ललितपुर, कात्तिक २८ गते । पाँचौँ ताम्राकार फुटसल प्रतियोगिता २०२२ को उपाधि बीके सुनचाँदी पसलले हात पारेको छ । ताम्राकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगितामा बीके सुनचाँदी पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो ।

सेमीफाइनलमा बीके सुनचाँदी पसलले ओरियन इलेक्ट्रिकलाई २–१ ले तथा मेडस मार्ट फार्मेसीले आर्टस फेसन नेपाललाई टाइब्रेकरमा २–० ले पराजित गरी फाइनलमा प्रवेश गरेका थिए । बीके सुनचाँदी पसल चौथो संस्करणको उपविजेता पनि हो ।

विजेतालाई ३० हजार र उपविजेतालाई १५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै, अण्डर १४ प्रतियोगिताको फाइनलमा प्रभु हिरोजले सिटी प्रिमिएर रेन्जर्सलाई ३–१ गोल अन्तरले पराजित गरी ट्रफी हात पारेको छ । 

यस्तै, ताम्राकार अल स्टार र द ब्रिटिस कलेजबीच भएको मैत्रीपूर्ण खेलमा द ब्रिटिस कलेज ३–२ ले विजयी भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपरमा मेडस मार्ट फार्मेसीका बिक्सन ताम्राकार, उत्कृष्ट खेलाडीमा बीके सुनचाँदीका कुशल राजकर्णिकार, उच्च गोलकर्तामा बीके सुनचाँदीका लिउसन राजकर्णिकार र मेडस मार्ट फार्मेसीका बादल शिल्पकारले संयुक्तरुपमा प्राप्त गर्नुभयो । 

त्यस्तै, प्रेसिडेन्ट च्वाइसमा मेडस मार्ट फार्मेसीका युसन ताम्राकार घोषित हुनुभयो भने अण्डर १४ को उत्कृष्ट खेलाडीमा प्रभु हिरोजका रेक्सन राजकर्णिकार छनोट हुनुभयो ।