• १३ साउन २०८१, आइतबार

चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो बनाइँदै

blog

चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो निजी क्षेत्रबाट बनाउन लागिएकाे नमुना

गोकर्ण पौडेल

तुलसीपुर, कात्तिक २७ गते । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरमा चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो निजी क्षेत्रबाट बनाउन थालिएको छ । सो दर्शनटुप्पोको अन्तिम तलाबाट चिया कफी पिउँदै दाङ उपत्यकाको अवलोकन गर्न सकिने बताइएको छ । पाँचौं तलामा १२६ जना सिट क्षमता भएको दुई वटा सिनेमा हल बनाइनेछ । 

करिब १६ कठ्ठा क्षेत्रफलमा बनाइने दर्शनटुप्पोको सुरुको तलामा व्यापारिक प्रयोजन, चौथोमा सिनेमा हल, पाँचौंदेखि १३ तलासम्म होटेलको प्रबन्ध गरिने बताइएको छ । घोराही तुलसीपुर सडकखण्डदेखि तीस मिटर उत्तरतर्फ निर्माण गर्न थालिएको दर्शनटुप्पोको चौथो तलामा स्वीमिङपुलसमेत रहनेछ । प्राविधिक डिजाइन गर्नुभएका इन्जिनियर सुरज मल्लका अनुसार यो दर्शन टुप्पोको उचाइ ५३.६ मिटर रहनेछ ।

व्यापारिक घराना प्रकाश आचार्यको समूहले निर्माण गर्न थालेको यस दर्शनटुप्पोका नाम राउन्टे एण्ड यार्सा राखिएको छ । उहाँका अनुसार पर्यटन मन्त्रालयकै मापदण्ड बमोजिम निर्माण गर्न थालिएको छ । करिब ७० करोडको लागतमा निर्माण हुन थालेको दर्शनटुप्पोमा रहेका व्यापारिक, सिनेमा हलका कोठा अपाङ्गमैत्री रहने बताइएको छ । 

दर्शनटुप्पाेको अन्तिम तलामा पुग्नका लागि छुट्टै लिफ्टको व्यवस्थापन गरिएको छ भने  सुरुको तलादेखि नै अन्तिम तलामा पुग्ने क्रममा सिसाबाट दाङ उपत्यकाको दृश्यावलोकन गर्न सकिने प्रबन्ध गरिएको छ ।

जिल्लामा पर्यटकहरुलाई आकर्षित गर्नका लागि दर्शनटुप्पो निर्माण गर्न थालिएको बताइएको छ । मनोरञ्जन, किनमेल र अवलोकन प्रयोजनका लागि निर्माण गर्न थालिएको यस दर्शनटुप्पोमा पुग्नका लागि छ वटा लिफ्टको प्रयोग गरिने भएको छ ।