• १२ असोज २०८१, शनिबार

निर्वाचनलाई मर्यादित बनाउन आयोग सक्रिय

blog

काठमाडौँ, कात्तिक २८ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभाको यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको जानकारी दिनुभएको छ। निर्वाचन आयोगले यस पटकदेखि निर्वाचन हुने दिनभन्दा ४८ घण्टाअघिको अवधिलाई मौन अवधि नभनी प्रचारप्रसार गर्न नपाउने अवधि भनेको छ। 

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकमा उहाँले प्रचारप्रसार गर्न नपाउने उक्त अवधिमा हुने आचारसंहिताविपरीतका गतिविधि रोक्न आयोग लागिपरेको बताउनुभयो। 

उहाँले नेपालमा प्रचारप्रसार गर्न नपाउने अवधिमा विदेशी सञ्चार माध्यमबाट हुने प्रचारप्रसार नियन्त्रण गर्ने चुनौती आयोगलाई रहेको बताउनुभयो। उहाँले स्वदेशमा प्रचारप्रसार रोकिए पनि विदेशबाट गर्न लगाउने सम्भावना रहेको पनि स्पष्ट पार्नुभयो। अहिले पनि निर्वाचन प्रचारमा हेलिकोप्टरको प्रयोगको समस्या रहेको र त्यससम्बन्धी उजुरी आयोगमा आएको जानकारी दिँदै छानबिनबाट दोषी पाइए कारबाहीमा जाने बताउनुभयो। उहाँले हेलिकोप्टर प्रयोगमा गृह मन्त्रालय र मातहतका कर्मचारीको कामप्रति असन्तुष्टि जनाउनुभयो। 

आचारसंहिता पालनाको सन्दर्भमा भौतिक उपस्थितिमा आचारसंहिता उल्लङ्घन कम भए पनि सामाजिक सञ्जालमा भने उल्लङ्घन बढिरहेको पनि बताउनुभयो। उहाँले सामाजिक सञ्जालबाट आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही पनि भइरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेदनशील बन्न सबैको ध्यानाकर्षण गराउनुभयो। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढङ्गले प्रभावित हुने स्थिति देखिएको भन्दै आचारसंहिताका सन्दर्भमा अरूलाई लक्षित गरेर कुरा गर्ने, चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराउनुभयो। उहाँले यस पटकको निर्वाचनमा धेरैजसो आचारसंहिता उल्लङ्घनका घटना टिकटकबाट भइरहेको उल्लेख गर्नुभयो।

प्रमुख निर्वाचन आयुक्त थपलियाले जिल्लामा आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही गर्न कञ्जुस्याइँ भइरहेको भन्दै आयोगको निर्देशनलाई पूर्ण पालन गर्न जिल्ला निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन समितिलाई निर्देशन दिनुभयो। उहाँले आचारसंहिता उल्लङ्घन गर्नेमाथि अनुनय गर्ने नभई कारबाहीको प्रक्रियामा अघि बढ्न स्पष्ट पार्नुभयो।

यसैबीच मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिन मात्रै बाँकी रहेको छ।

निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ। 

मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ। आयोगले आचारसंहिताको परिपालन भइरहेको र उल्लङ्घनका घटनामा कारबाहीको क्रम जारी रहेको जनाएको छ।