• १२ असोज २०८१, शनिबार

मतदान केन्द्र मतदातामैत्री बनाइने

blog

काठमाडौँ, कात्तिक २८ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौँका सबै मतदान केन्द्र मतदातामैत्री बनाइने भएको छ । मतदाताले सहज रूपमा मतदान गर्न सक्ने गरी जिल्लाका मतदान केन्द्रलाई मतदातामैत्री बनाउन लागिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । मतदान गर्न आउने अपाङ्गता, अशक्त, ज्येष्ठ नागरिकले सहज रूपमा आवतजावत गर्न सक्ने गरी मतदान केन्द्र निर्माण गर्न लागिएको हो । 

काठमाडौँमा प्रतिनिधि सभाको १० वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको २० वटा क्षेत्र रहेका छन् भने ३२० वटा मतदान स्थल र ७६७ मतदान केन्द्र रहेका छन् । ती सबै निर्वाचन स्थल र केन्द्रलाई सहज रूपमा मतदाताले मतदान गर्न सकिने गरी मतदान केन्द्र निर्माण गर्न लागिएको हो । सिंहदरबारस्थित चण्डीदल गणका प्रमुख सेनानी वरुण केसीले जिल्लाभित्र भएका सबै मतदान केन्द्रलाई मतदातामैत्री बनाउने उद्देश्यले नमुना मतदान केन्द्रको प्रदर्शनी गरिसकिएको बताउनुभयो । 

उहाँका अनुसार मतदान स्थललाई मतदातामैत्री बनाउने उद्देश्यले केही दिनअघि जिल्लाका सुरक्षा निकाय, निर्वाचन अधिकृत, निर्वाचनमा खटिने कर्मचारीको उपस्थितिमा चण्डीदल गणमा नमुना मतदान केन्द्रको प्रदर्शनी तथा सिमोलेसन अभ्याससमेत गरिएको थियो । 

निर्वाचनका दिन नेपाली सेना, सशस्त्र प्रहरी र संयुक्त सुरक्षा फौज खटिँदा मतदान केन्द्रमा कुनै पनि राजनीतिक दल वा अन्य कुनै समूहबाट हुन सक्ने अवरोधलाई संयुक्त सुरक्षा फौजले गर्ने प्रतिकारको समेत अभ्यास गरिएको छ । 

अहिले छिट्टै अँध्यारो हुने र मतदान गर्न लाइनमा बसिसकेकालाई मतदान गराउन आवश्यक पूर्वतयारी, मतदान केन्द्र र मतपेटिकाको सुरक्षा तथा व्यवस्थापनलाई लक्षित गरी नमुना मतदान केन्द्र निर्माण गर्न लागिएको छ । काठमाडौँमा छ लाख ५७ हजार ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।