• १२ असोज २०८१, शनिबार

मतदाताको गुनासो- ‘भत्किएको बाटोले बारम्बार साइकल पञ्‍चर हुन्छ’

blog

घरदैलोमा जनताका गुनासा सुन्दै घनश्याम भुसाल। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली

सिद्धार्थनगर, कार्तिक २७ गते। सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल यतिबेला मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ। नेता भुसालले मतदाताको घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डा र चुनाव चिह्न त्रिभुजको विषयमा जानकारी गराइरहनुभएको छ।

आइतबार रोहिणी गाउँपालिकाका भित्री बस्तीमा पुग्दा शिक्षा, स्वास्थ्य र सडकको पहुँच राम्रोसँग पुग्न नसकेको भन्दै मतदाताले गुनासो गरेका छन्। स्थानीय सुभावती यादवले भत्किएको बाटोले बारम्बार साइकल पञ्चर हुने गरेको गुनासो गर्नुभयो। साइकलसमेत राम्ररी चल्न नसक्ने बाटोमा किसानले उत्पादन गरेका तरकारी ढुवानी गर्न निकै कठिन भएको उहाँको भनाइ छ।

भत्केको सडक देखाउँदै स्थानीय मतदाताले छेदी गुप्ताले भुसालसँग भन्नुभयो, ‘यो बाटोको हालत हेर्नुहोस्, पहिलेका जनप्रपितनिधिले गरेनन्, तपाईँको आस छ, यसअघि सांसद जितेर गएपछि फर्केर आउनुभएन, तपाईँ त्यसो नगर्नुहोला।’

आफूहरू पटक–पटक ठगिएको भन्दै आक्रोशित देखिएका स्थानीय वृद्ध मतदाता गुलहसन नाउँले गुनासो पोख्नुभयो, ‘अरूभन्दा तपाईँ जानेबुझेको राम्रो व्यक्ति देखेका छौँ, तपाईँ यहीँको मान्छे पनि हो,  विकास गर्नुहोला, अरूले जस्तो भ्रष्टाचार नगर्नुहोला।’

मतदाताको गुनासो र सुझाव सुनेपछि भुसालले नेपाली र भोजपुरी मिश्रित भाषामा यस क्षेत्रको विकासका लागि आफूले इमानदार भएर काम गर्ने र बोलेको कुरा पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो। 

मतदाता भेटघाटका क्रममा भुसालले रोजगारीको सिर्जना, निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवालगायत जनचासो र सरोकारका विषयमा आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभयो। भुसालले भन्नुभयो, ‘स्वदेशमै रोजगारीको सिर्जनाको लागि म प्रतिबद्ध भएर लाग्नेछु, जनताको घरदैलोमा जेजे भनिराख्नुभएको छ ती कुरालाई सम्बोधन गर्नेछु।’

भुसालले आफ्नो घोषणापत्रमा समेत २७ वटा सडक विस्तारका योजना उल्लेख गर्नुभएको छ। रुपन्देही १ मा प्रतिनिधिसभामा एमाले नेता छविलाल विश्वकर्मा भुसालका मुख्य प्रतिस्पर्धी हुनुहुन्छ।