• १२ असोज २०८१, शनिबार

चुनावी चटारोबीच पार्टीमा कार्यकर्ता भित्र्याउने होडबाजी

blog

नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा अन्य दल परित्याग गरेका कार्यकर्ता कांग्रेसमा स्वागत गर्नुहुँदै । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, कात्तिक २७ गते । ओखलढुङ्गामा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) लगायतका दलहरूले चुनावी अभियानलाई तीव्रता दिएका छन् । दलहरूलाई चुनावी चटारोसँगै अन्य दलका कार्यकर्ता आफ्नो दलमा भित्र्याउने होडबाजी देखिएको छ । 

अधिकांश दलहरूले आफ्नो पार्टीमा अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउने प्रयासमा लागेको देखिन्छ । आफ्नो चुनावी नारा जनताको घरदैलोमा लग्न विभिन्न कार्यक्रम अभियानका रूपमा उम्मेदवारले चलाइरहेका छन् । सभामा अन्य दलका कार्यकर्तालाई प्रतिस्पर्धात्मक रूपमा पार्टी प्रवेश गराइरहेका छन् । दलका नेता कार्यकर्ता आफ्नो दलमा प्रवेश गराउन गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा नै चलेको छ ।  

सुनकोसी गाउँपालिका –५ एमाले वडा कमिटी अध्यक्ष दिनेश तामाङले आसन्न निर्वाचनमा गठबन्धन उम्मेदवारलाई सघाउन आफू नेपाली कांग्रेसमा प्रवेश गरेको बताउनुभयो । उहाँलगायत १० जना युवाहरू एमाले त्यागेर कांग्रेस प्रवेश गर्नुभयो ।

त्यसैगरी सिद्धिचरण नगरपालिकाको वडा १ र २ बाट १३६ जना एमाले कार्यकर्ता गठबन्धन लाई जिताउन कांग्रेसमा प्रवेश गर्नुभयो । कांग्रेस जिल्ला सदस्य हुकुम राईका अनुसार  जिल्लाका अन्य पालिकाहरू पनि दल परिवर्तन गर्ने कार्यकर्ताहरूको सङ्ख्या उच्च पाइएको छ ।  

सिद्धिचरण नगरपालिका –३ कांग्रेसका वडा सभापति शिवकुमार बानियाँलगायत नेता कार्यकर्ता कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभयो । एमाले ओखलढुङ्गाका अनुसार  कांग्रेसका सुनकोसी गाउँपालिका –८ का पूर्व पार्टी सभापति भुपध्वज कटुवालसहित करिब पन्ध्र जना कार्यकर्ता एमाले उम्मेदवारलाई जिताउन सो दलमा प्रवेश गरेका छन् ।  

त्यसैगरी मोलुङ गाउँपालिका –८ रागाँदिपका ८५ जना विभिन्न दलका कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेको जसपा ओखलढुङ्गाले जनाएको छ । सबै दलका उम्मेदवारले चुनावी अभियानलाई तीव्रता दिए पनि ओखलढुङ्गामा विशेषगरी गठबन्धन र एमाले उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा संयुक्त लोकतान्त्रिक बाम गठबन्धन र एमालेका स्थानीय नेता कार्यकर्ता नै बढी दल अदलबदलमा देखिएका छन् । प्रतिनिधि सभातर्फ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका रामहरी खतिवडा र एमालेका उम्मेदवार यज्ञराज सुनुवारवीच प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । 


नेकपा (एमाले) का उम्मेदवार यज्ञराज सुनुवार अन्य दल परित्याग गरेका कार्यकर्ता एमालेमा स्वागत गर्नुहुँदै । तस्बिर : शेरबहादुर राई 

२०७० र २०७४ को निर्वाचनमा विजयी हुनुभएका एमालेका सुनुवार तेस्रो पटक जितको प्रयासमा हुनुहुन्छ । २०७४ मा सुनुवारसँग पराजित हुनुभएका कांग्रेसका खतिवडा भने यस पटक हारको बदला लिने दाउमा लाग्नुभएको छ । 

त्यसैगरी जनता समाजवादी पार्टीबाट जुद्धबहादुर राई, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट विर्जबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीबाट कुमार तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शोभा कार्की र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) बाट ङिमाल्हमु शेर्पा प्रतिनिधि सभा तर्फका उम्मेदवार हुनुहुन्छ ।

ओखलढुङ्गा प्रदेश सभा (क) र (ख) दुवैतर्फ कडा प्रतिस्पर्धा हुने यहाँका मतदाताको अनुमान  छ । (क) तर्फ गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार र  एमाले उम्मेदवार प्रदेश १ का पूर्वमन्त्री अम्बीरबाबु गुरुङ हुनुहुन्छ । त्यसैगरी (ख) तर्फ गठबन्धनबाट माओवादी केन्द्रका बाबुराम गौतम र एमालेबाट ज्ञानबहादुर खड्का उम्मेदवार रहनुभएको छ ।