नेपालमा किसानले अन्न, तरकारी, फलफूल, उखु, चिया, कफी, जडीबुटी आदिको खेती खेत, बारी तथा करेसाबारीमा गर्छन्। आफूलाई आवश्यक पर्ने केही तरकारी, फलफूल, जडीबुटीको खेती आफ्नो घरको कौसीमा र बार्दलीमा पनि गर्न थालेका छन्। आजभोलि व्यापारिक प्रयोजनका लागि कतिपयले कृषि फार्म स्थापना पनि गर्न थालेका छन्। केहीले माटोबिनाको खेती गरी तरकारी उब्जाउनसमेत थालेका छन् । प्रचुर मात्रामा विज्ञान र प्रविधि प्रयोग गरी घरभित्रै धेरै तलामा तरकारी खेती गरेको झनै हेर्नलायक हुन्छ।
किसानका शत्रु
किसानले राखेको ब्याडमा, रोपेको वा छरेको अन्न, तरकारी, फलफूल र अन्य बालीमा वा बाली भित्र्याई भण्डारण गरी राखेको अन्न खाएर दुःख दिने, बिगार गर्ने, नोक्सान गर्ने मुसा, घुन, लाही कीरा, झुसिलकीरा, शङ्खेकीरा, चिप्लेकीरा, ब्याक्टेरिया, भाइरस, नेमाटोड, झारपात आदि किसानका शत्रु हुन्। यी जीवलाई शत्रुजीव या बिगार्ने जीव भन्न सकिन्छ। यी बिगार्ने जीव कीरा या रोगजनक जीव (ब्याक्टेरिया, भाइरस, नेमाटोड) या झारपातमा वर्गीकरण गर्न सकिन्छ। यी किसानका शत्रुले किसानको ३५ देखि १०० प्रतिशतसम्म उपज नोक्सान गरेको पुष्टि भइसकेको छ।
शत्रुनाशक विषादी
किसानले आफ्नो समस्या समाधान गर्न शत्रुजीव नाश गर्ने विषादी बनाउन सिकेका छन्, प्रयोगमा नयाँपन ल्याएका छन् र व्यवहारमा उतारेका छन्। वैज्ञानिकले पनि कृषि समस्या समाधान गर्न निरन्तर अनुसन्धान गरिरहेका छन्। उक्त अनुसन्धानबाट प्राप्त ज्ञान, सीप र प्रविधि किसानसम्म पु¥याएका छन्। किसानले पनि ती विषादीको प्रभावकारिता जाँचेका छन्, पर्खेका छन् र मूल्याङ्कन गरिरहेका छन् । किसानले आफ्ना समस्या पनि अनुसन्धानकर्तालाई पस्किदिएका छन्।
वानस्पतिक विषादी
किसानले थरीथरीका वनस्पतिलाई विषादी बनाउन प्रयोग गरेको देखिन्छ। मूलतः पिरो, टर्रो, अमिलो, झम्झमाउने, कोक्याउने, वास्ना आउने, तीतो स्वादका वनस्पतिलाई विषादी बनाउँदा कीटनाशक औषधि (विषादी) बन्दो रहेछ, बनाउँदा रहेछन्। धेरैजसो प्रयोगमा ल्याउने वनस्पति स्थानीय ठाउँमा नै पाइने, किन्न नपर्ने र चाहिएको बेलामा प्रयोगमा ल्याउन सक्ने खालका हुँदा रहेछन्। डा. फणीन्द्रप्रसाद न्यौपानेले नेपालका ३२४ थरीका वनस्पतिबाट विषादी बनाउन सकिने आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ।
विषादी बनाउने तरिका
विषादी बनाउने वनस्पति या वनस्पतिका जरा, डाँठ, पात, फूल, फल, बीउ सङ्कलन गर्ने, मसिनो टुक्रा बनाउने, प्लास्टिकको ड्रममा राख्ने, गाईभैँसीको मूत्र अथवा पानी मिसाउने। राम्ररी गल्न दिनका लागि दिनको एक पटक लठ्ठीले चलाउने। गर्मी मौसममा सात–१० दिनमा र जाडोमा १५–२० दिनमा विषादी तयार हुन्छ। एक भाग विषादीमा १० भाग पानी मिसाएर कलिलो बिरुवामा छर्ने, एक भाग विषादीमा छदेखि आठ भाग पानी मिसाएर अलि छिप्पिएको बिरुवामा छर्कने गरिन्छ। एक भाग विषादीमा चार भाग पानी मिसाएर हुर्केका वयस्क बिरुवामा विषादी छरेर शत्रु जीवनाश गर्न सकिने कुरा जुम्लाका किसान गोरखबहादुर भण्डारीले बताउनुभयो।
झोल विषादी कसरी छर्कने ?
पहिले पहिले कुचो प्रयोग गरी बालीमा विषादी छर्ने गरिन्थ्यो। आजभोलि हजारी, स्प्रेयर, टैङ्क प्रयोग गरी विषादी छर्ने कार्य गरिन्छ। विषादी बिहान या बेलुका हावा नचलेको बेला छर्दा वेस हुन्छ ।
विषादीसम्बन्धी अध्ययन
विषादीमा प्रयोग हुने वनस्पति केके छन्, विषादी प्रयोगबाट कुन कीरा या जीवाणु मार्न या भगाउन प्रभावकारी हुन्छ, कुन कति मात्रा मिसाएर बनाएको विषादी असरदार हुने रहेछ भन्नेबारेमा नेपाल र अन्य देशका वैज्ञानिकले अनुसन्धान गरिसकेका छन्। वैज्ञानिकले गरेको अध्ययन अनुसन्धानको नतिजा अनुसन्धान प्रतिवेदनका रूपमा, वैज्ञानिक लेखका रूपमा र किसानले बुझ्ने भाषामा पनि विभिन्न पत्रपत्रिकामा समेत प्रकाशित भएका छन्। किसानले विषादी बनाउने ज्ञान, सीप, प्रविधि र अनुभवलाई समेटेर भिडियो, रेडियो र टीभीजस्ता सञ्चार माध्यमबाट प्रसारण हुन थालेका छन्।
कृषि शिक्षामा वानस्पतिक विषादी
नेपालका विश्वविद्यालयले वानस्पतिक विषादी पठनपाठनका लागि कृषि शिक्षाको पाठ्यक्रममा समावेश गरेका छन्। त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्नातक तहको कृषि
पाठ्यक्रममा वानस्पतिक विषादीका बारेमा सिकाउँदै आएका छन्। हाल मध्यपश्चिम विश्वविद्यालयले पनि आफ्नो स्नातक तहको कृषि कार्यक्रमको ‘माउन्टेन अर्गानिक एग्रिकल्चर’ पाठ्यक्रममा ‘प्राङ्गारिक कृषिमा जैविक विषादी’ सैद्धान्तिक पाठ्यक्रममा र ‘झोल विषादी तयार र प्रयोग गर्ने विधि’ प्रयोगात्मक पाठ्यक्रममा समावेश गरिसकेको छ। पङ्क्तिकारलाई पनि विश्व खाद्य तथा कृषि सङ्गठनको कार्यक्रमको स्थलगत अध्ययनका सिलसिलामा गत १९–३० जुलाई २०२२ को कर्णाली भ्रमणमा सुर्खेतको ब्राइट मध्य–पश्चिम कृषि तथा वन विज्ञान कलेजका विद्यार्थीले तयार गरेको झोल वानस्पतिक विषादी अवलोकन गर्ने मौका जुरेको थियो । मैले विद्यार्थीलाई विषादीका बारेमा निरन्तर अनुसन्धानमा लाग्न पनि सुझाव दिएको थिएँ।
अबको बाटो
वानस्पतिक विषादीको महत्व, विषादी तयार गर्ने विभिन्न विधि, विषादीको असर, यसको प्रभावकारिताका बारेमा थप अध्ययन अनुसन्धान हुन जरुरी छ। कृषक पाठशालामा पनि प्राङ्गारिक कृषिका लागि वानस्पतिक विषादीको महìवका बारेमा घनीभूत छलफल गर्न आवश्यक छ। यसका साथै थप सम्भावित रैथाने या मिचाहा वनस्पतिलाई पनि वानस्पतिक विषादी र झोल मल बनाएर प्रयोग गरी वातावरणको जीव सदुपयोग गर्ने या वातावरणलाई जोगाउने काम गर्न सकिन्छ।
यस कार्यमा स्थानीय सरकार, प्रदेश सरकार, कृषक समूह, प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थीले हातेमालो गरी विषादी बनाउने कार्य र प्रयोगमा फड्को मार्न जरुरी छ। प्रादेशिक र स्थानीय सरकारले अनुसन्धान र शैक्षिक संस्थालाई निरन्तर अनुसन्धानका लागि अनुदानको व्यवस्था गर्न आवश्यक छ। अध्ययन–अनुसन्धानको नतिजा हस्तान्तरण र पुस्तान्तरण गर्न सभा–सम्मेलन आयोजना गर्न आवश्यक छ। पुस्तक र लेख–रचना पनि प्रकाशन गर्न जरुरी छ। नयाँ सामाजिक सञ्चार माध्यम पनि अपनाउन आवश्यक छ। छरिएर रहेका वानस्पतिक विषादीका बारेमा लेख–रचना तथा पुस्तक अध्ययन गरी पुस्तक र डाटाबेस तयार गरी प्रकाशन पनि छिट्टै गर्न आवश्यक छ । यी कार्य सम्पादन गर्न व्यक्ति, सङ्घसंस्थाको पहिचान गरी ती सङ्घसंस्थासँग हातेमालो र सहकार्य गर्दै प्राङ्गारिक कृषिका लागि वानस्पतिक विषादी प्रवद्र्धन गर्ने कार्यमा हामी आजैबाट लागौँ । नेपाल कृषिप्रधान मुलुक भएर पनि किसानले राज्यबाट आवश्यक सहयोग पाउन सकेका छैनन्। किसानलाई उत्साहित बनाउन आवश्यक सामग्री राज्यबाट समयमै उपलब्ध हुन जरुरी छ।