नेपालमा लोकतान्त्रिक मूल्य मान्यतालाई जनमानसले अन्योन्याश्रित आवश्यकताका रूपमा अङ्गीकार गरिआएका छन्। यस सन्दर्भमा लोकतान्त्रिक पद्धतिलाई संस्थागत विकासका दिशामा विभिन्न चुनौती हाम्रासामु छन्। लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई जनताको चासो, चिन्तनको विषयवस्तु बनाउने विषयमा हाम्रा राजनीतिक दल तथा राज्य सञ्चालनका अङ्गले कुन तथा के कति मानेमा महìव दिइआएका छन्, यी विषयले अहम् महत्व राख्छ।
आगामी मङ्सिर ४ गते जनप्रतिनिधिमूलक संस्था सङ्घीय संसद्को प्रतिनिधि सभा तथा प्रदेश सभाको एकै चरणमा निर्वाचन सम्पन्न हुन गइरहेको छ। मुलुक एक पटक फेरि निर्वाचनमय भएको छ। आफ्ना जनप्रतिनिधि निर्वाचित गर्न आमविवेकशील मतदाता आतुर छन्। लोकतन्त्रको सार र लोकतन्त्रको जीवन्तताका लागि आगामी निर्वाचनले खास मानेमा अहम् महत्व राख्छ। जनअपेक्षाका बहुआयामिक पाटालाई सम्बोधन गर्ने र जनजीविकाका विषयमा जनतासँग नितान्त नजिक रहेर काम गरेका र गर्ने वाचा गरेका स्वच्छ, निर्भीक तथा योग्य उम्मेदवारलाई छान्ने अवसरका रूपमा आममतदाताले आवधिक निर्वाचनलाई लिएका छन्।
चुनावमा होमिएका दल तथा तिनका उम्मेदवार पनि आफ्नो क्षमता, जनअभिमत तथा स्वच्छतालाई पुनः एक पटक जनता र मतदातासमक्ष प्रत्यक्ष रूपमा चुनावी अभियान, वाचा, प्रतिबद्धतापत्र, सङ्कल्पपत्र या भनौँ, घोषणापत्रमार्फत आएका छन्। यो निर्वाचन फगत आवधिक निर्वाचन मात्र होइन, दल तथा दलका विगत र आगामी राजनीतिक अभियान, दिशाबोध, जनपरिचालन, विकास, समृद्धि र मुलुकको समग्र विकास तथा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको मियोका रूपमा विश्लेषण गर्न सकिन्छ।
आगामी निर्वाचनले लोकतन्त्र र राजनीतिक स्थिरता, गठबन्धन संस्कृतिको विकास तथा राजनीतिक गतिविधिको परिचालन र जनअनुमोदनका दिशामा थप आयाम थप्नेछ। गठबन्धन संस्कृतिको विकास नयाँ होइन। विगतका राजनीतिक तथा आन्दोलनका ऐतिहासिक पृष्ठभूमिमा लोकतान्त्रिक शक्ति र वाम शक्तिबीच भएका सहकार्य, कार्यगत एकता र संयुक्त आन्दोलनका सफल अभ्यासले मुलुकमा लोकतान्त्रिक पद्धति र लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने, त्यसलाई दरिलो बनाउने, विकास र समृद्धिलाई विकट तथा दुर्गम गाउँबस्तीसम्म पु-याउन कोसेढुङ्गा साबित हुन सक्यो।
अबको निर्वाचनको अभियानमा वाम लोकतान्त्रिक गठबन्धनले फेरि पनि विगतका असल र सफल अभ्यासका मूल्य, मान्यता तथा आयामलाई निरन्तरता दिने प्रयास गरेको छ। निर्वाचनमा होमिएका दलको उपस्थितिलाई विशलेषण गर्दा समग्रमा गठबन्धनको चुनावी अभ्यासलाई अझ घनीभूत रूपमा चुनावी अभियानका माध्यमबाट जनअभिमतको कसीलाई रूपान्तरण गर्ने असल र सफल अभ्यासका रूपमा ग्रहण गर्ने दिशामा सकारात्मक सन्देश दिएको छ।
लोकतन्त्रको सबैभन्दा महìवपूर्ण पक्ष भनेको कुनै पनि निर्वाचनमा दुरदराजको छाप्रो र झुप्रोमा बस्ने सामान्य जनता र राज्यको नीति निर्माण तहको महìवपूर्ण ओहदामा बस्ने सर्वाधिकारसम्पन्न अधिकारीको पनि समान अधिकार र हैसियत रहने कुरामा सर्वमान्य सिद्धान्तको परीक्षण र पुनःपरीक्षणको आयाम हो। तसर्थ जनताको अभिमतको सम्मान गर्न सक्ने राजनीतिक पद्धतिको संस्थागत विकास र दिगो तथा स्थिर शासन पद्धतिका पक्षमा परोक्ष/प्रत्यक्ष सहभागिताको पक्षमा आमजनता रहेका छन् र रहने पनि छन् भन्ने तथ्य र यसको यथार्थपरक अभिव्यक्ति मतदाताले आवधिक निर्वाचनमार्फत प्रकट गर्नेछन्। लोकतन्त्र र निर्वाचनमा गठबन्धनको संस्कृति नेपाललगायत विश्वका विभिन्न मुलुकमा अभ्यासमा छ।
दक्षिण एसियाका भारत, पाकिस्तानलगायतका मुलुकमा चुनावी अभियान होस् या चुनावपछि बनेका
संसद्बाट सरकार निर्माण र सञ्चालनमा गठबन्धनको असल अभ्यास भएको पाइन्छ। तसर्थ नेपालमा २०७२ मा जारी नेपालको संविधान कार्यान्वयनमा आएपश्चात् निर्वाचन र निर्वाचनपश्चात्को संसद्को गणितीय बनोटका आधारमा सङ्घीय तथा प्रदेश सरकार निर्माण र सञ्चालनमा यसै संस्कारको प्रयोग भइआएको पाइन्छ। अहिलेको सन्दर्भमा यो निरन्तरताको अर्को पहल हो।
यस मानेमा हाम्रा राजनीतिक दल तथा दलगत राजनीतिक संस्कार र व्यवहारलाई जनताको अभिमतको कसीमा राखेर विश्लेषण गरिएको खण्डमा हामी फेरि पनि जनतालाई लोककल्याणकारी राज्यको अवधारणाअनुसार वितरण गर्नुपर्ने सेवा, सुविधाको न्यायोचित, व्यवस्थित तथा उत्तरदायी वितरणको मान्यताअनुसार जनताले अनुभूत गर्ने आभास सधैँ पाउनुपर्छ। विगतको तीन दशकभन्दा बढी समयान्तरको खुला तथा स्वतन्त्र राजनीतिक वातावरणका बीचमा बहुदलीय शासन व्यवस्थाका आधारभूत मूल्य मान्यताको कुनै न कुनै रूपमा प्रयोग र निरन्तरको अभ्यास भइआएको छ।
विगतको अनुभव र मूल्यको राजनीतिलाई आत्मसात् गर्दै राजनीतिक संस्कार र संस्कृतिको परम्परालाई अझ मुखरित र परिपक्व बनाउने दिशामा हाम्रा कार्यकलाप र व्यवहार चल्नुपर्छ। आमनिर्वाचनका यावत् गतिविधिमा राजनीतिक संस्कार र संस्कृतिले अझ माझिएको, झाँगिएको र परिपक्वताको उदाहरण दिन सकिएमा हाम्रो साझा लोकतान्त्रिक मूल्य, संस्कार र राजनीतिक परिचालनको स्वच्छ वातावरणको विकासमा थप टेवा र भरथेग पुग्ने थियो।
राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण तथा जनतालाई कानुनी शासनको अनुभूति दिने दिशामा दल तथा राज्य सञ्चालकको महìवपूर्ण भूमिका रहन्छ। कुनै पनि दलले जनताको भावना र चाहनालाई प्रतिविम्बित गर्न सकेनन् भने त्यस्ता दल तथा दलका साङ्गठनिक संरचनाले दीर्घकालमा राष्ट्रिय राजनीतिको मियोलाई आत्मसात् गरी अघि बढ्न सक्दैनन्। राजनीतिक दलका सन्दर्भमा कुरा गर्दा प्रसिद्ध राजनीतिक विश्लेषक जे. लापालोम्बरा र एम. वेनरका विचार आजको सन्दर्भमा उद्धृत गर्नु सान्दर्भिक नै रहला, “जब हामी राजनीतिक दलको कुरा गर्छौं, हामी त्यो सङ्गठनलाई औँल्याइरहेका हुन्छौँ, जुन कि स्थानीय स्तरसम्म प्रभावकारी हुन्छ, जो सामान्य जनतासँग अन्तरक्रियाशील रहन्छ एवं तिनबाट चुनावी समर्थनका लागि प्रयत्नशील रहन्छ, जसले राजनीतिक भर्तीमा प्रत्यक्ष र उल्लेखनीय भूमिका निर्वाह गर्छ र जो एक्लै वा अरूसँग संलग्न भई राज्यशक्ति आर्जन गर्न वा शक्तिमा कायम रहिरहन वचनबद्ध हुन्छ।”
यहाँ स्वच्छ तथा स्वस्थ चुनावी प्रतिस्पर्धा, जनमतको प्रकटीकरणको आधार आवधिक निर्वाचन, गठबन्धन संस्कृति र राजनीतिक क्रियाकलाप अघि बढाउँदा त्यसका न्यूनतम मान्यता र आयामका बारेमा जोड दिइआएको पाइन्छ। जसले नितान्त चुनावी गतिविधि, मतदाताको मनसाय, दल र उम्मेदवारका वाचा र प्रतिबद्धतालाई रूपान्तरण गर्न खोज्ने र गर्न सक्ने राजनीतिक स्वस्थ परिचालनको मान्यतालाई आधारका रूपमा ग्रहण गरेकै छ। चुनावी अभियानका सन्दर्भमा अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरले आफ्नो चुनावी अभियानलाई अघि बढाउँदा सबै समर्थक र दर्शक सानो होस् वा विशाल, उनीहरूमाझ आफूले वाचा गरे कि ‘कहिल्यै झुटो नबोलौँ अथवा गलत सन्देश प्रवाह गर्ने विचार नराखौँ (ह्वाइट हाउस डायरी, जिम्मी कार्टर–२०१०)।’
यसै मान्यता र व्यवहारको आडमा उनी जर्जिया राज्यको गभर्नर र पछि सन् १९७६ मा डेमोक्र्याटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए। लोकतान्त्रिक व्यवस्था तथा उदार समाज र राज्यशक्तिको स्पष्ट दिशाबोध भएको समावेशी तथा समाजवादी आर्थिक विकासको मान्यतालाई अनुभूति दिएर भावी नेपालको समृद्ध र सबल नेपाल बनाउने दिशामा आउँदो आमनिर्वाचनले स्पष्ट सन्देश दिएको छ। लोकतन्त्रको मुटु नै स्वतन्त्रता, मानवाधिकार तथा सबै किसिमका विचारको सम्मान हुने वातावरणको सिर्जना भएको तथ्यलाई मनन गर्दै हामीले हाम्रा महìवपूर्ण निर्णय शक्तिको सान्दर्भिक प्रयोग गर्न सक्नुपर्छ। कुनै पनि आवधिक निर्वाचन त्यसको कसी हो, लोकतान्त्रिक व्यवस्थालाई पद्धति र मूल्यको राजनीतिमा रूपान्तरण गर्ने दिशामा चुनावलाई उपयोग र असल अभ्यास गरिनुपर्छ। आउँदो निर्वाचनले त्यसको सन्देश दिने नै छ।