• १६ भदौ २०८१, आइतबार

जाडोले घुम्ती गोठ झरे बेँसीतिर

blog

जाडोका कारण बेंसी झारिएका भेडाबाख्रा । तस्बिरः बेलिना थापा ।

बेलिना थापा 

लमजुङ, कात्तिक २६ गते । जाडो बढेसँगै लमजुङमा रहेका घुम्ती गोठहरू बेँसी झर्न थालेका छन् । सबै पालिकामा रहेका घुम्ती गोठहरू जाडोका कारण बेँसी झरेको किसानले बताएका छन् ।

जाडो छल्नका लागि र खेतीपातीका लागि मल आवश्यक पर्ने भएकाले गोठहरू बेँसी झर्ने चलन छ । क्व्होलासोंथर गाउँपालिका ४ भुजुङका नौराज गुरुङका अनुसार घुम्ती गोठ भुजुङको घिम्चेफाँटमा झरेको छ । करिब ५० वटा गोठ फाँटमा राखिएको बताउनुभयो ।

गाउँमाथि लेकमा रहेका भैँसी गोठ र भेडा गोठ फाँटमा झरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जाँडो बढेको छ । जाडो बढ्दै गर्दा लेकमा रहँदा वस्तुलाई चिसो हुन्छ । चिसोमा मर्ने समस्या हुन्छ । न्यानो बनाउन गोठ बेँसीमा झरेको छ । धान उठाएको फाँटमा गोठ बसेको छ । खेतीपाती गर्नका लागि पनि गोठको मलले सहयोग गर्छ ।’


उक्त गोठहरू कात्तिकदेखि मङ्सिरसम्म घिम्चेफाँटमा त्यसपछि केही दिन कोदो लगाइएको खेतमा बस्छ । चैत १५ गतेबाट लेकमै फर्कने गरेको स्थानीयले बताएका छन् । क्व्होलासोंथर गाउँपालिका ३ घलेगाउँका गमबहादुर गुरुङका अनुसार गाउँको बेँसीमा घुम्ती गोठ बसेको छ । एक साताअघि देखि नै गोठ आएको हो ।

पर्यटकीय एवं ऐतिहासिक दूधपोखरी जाने बाटो थुर्जु लेक, टुलेकमा रहेका गोठहरू अहिले गाउँ झरेको हो । भेडीगोठ र भैँसीगोठ जाडो छल्नका लागि गाउँ झरेको बताउनुभयो । कात्तिकमा बेँसी झर्ने, मङ्सिर, पुस, माघ, फागुन र चैतसम्म बस्ने गर्छ । वैशाखमा पुन लेकमा जाने गर्छ । बस्तुभाउलाई न्यानो बनाउन र मलका लागि गोठ झर्ने गरेको स्थानीयले बताएका छन् । 

दूधपोखरी गाउँपालिका पशु शाखाका कर्मचारी दिनेश गुरुङका अनुसार दूधपोखरी क्षेत्रको लेकमा रहेका घुम्ती गोठहरू बेँसी झरेको छ । गोठहरू इलमपोखरी डाँडामा बसेको छ । जाडोको समय भएकाले गोठ बेँसी झरेको हो । छ महिनापछि पुनः लेकमै जाने रहेको बताउनुभयो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठका अनुसार लमजुङका घुम्ती गोठहरू अहिले बेँसी झरेको छ । जाडोको समयमा लेकमा बस्न नसकिने भएकाले न्यानो खोज्दै बेँसी आउने गरेका छन् ।

लमजुङमा करिब ३०० वटा घुम्ती गोठ छन् । करिब १० वटा गाईगोठ, करिब १०० वटा भेडाबाख्राको गोठ र अन्य भैँसी गोठ छन् ।