• १३ साउन २०८१, आइतबार

किसानले मागे उम्मेदवारसँग मल

blog

घरदैलोमामा सम्बाेधन गर्नुहुँदै प्रदेश उम्मेदवार मसिना खड्का भण्डारी ।

चित्र मिजार

सिन्धुपाल्चोक, कातिक २६ गते । मत माग्न घरदैलो आएका प्रतिनिधि सभा, प्रदेश सभाका उम्मेदवारसँग सिन्धुपाल्चोकका किसानले रासायनिक मल मागेका छन् । 

त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका रामु भण्डारीले घरदैलोमा मत माग्न आएका प्रतिनिधि सभा–१ का गठबन्धन उम्मेदवार माधव सापकोटा (सुबोध) र प्रदेश सभा–१ का गठबन्धन उम्मेदवार मसिना खड्का भण्डारीलाई भोट चाहिने भए समयमा नै रासायनिक मल उपलब्ध गराउन पर्ने, बालीनाली संरक्षणका लागि बाँदर नियन्त्रण गर्नु पर्ने माग राख्नुभयो ।  

सोही ठेगानाका अर्का कृषक लोकबहादुर श्रेष्ठले सबै पार्टीका उम्मेदवारहरू भोट माग्न आएको जानकारी दिनुभयो । ‘किसानका समस्या सुनाउँछौ, उम्मेदवारहरूले समयमा नै मल उपलब्ध गराउने बाचा गरेका छन्, हेरौँ, नेताहरूले किसानका समस्या सुन्छन् की सुन्दैनन्’–उहाँले भन्नुभयो । 

समस्या समाधानमा केन्द्रित हुने प्रदेश सभा–१ का उम्मेदवार मसिनाले किसानसँग प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला, ज्येष्ठ नागरिक र विकास निर्माणमा जनताको पूर्ण सहभागितामा काम गर्ने उहाँले बताउनुभयो ।

प्रतिनिधि सभा–१ का उम्मेदवार सुबोधले किसानलगायत सबै समुदायका समस्या समाधान गर्दे विकास निर्माणका कामलाई तीव्रता दिने जनतासँग प्रतिबद्धता गर्नुभयो । 

विभिन्न राजनीतिक पार्टीबाट सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधि सभा उम्मेदवार, प्रदेश सभा उम्मेदवार, समानुपातिक उम्मेदवारहरूलाई सडक, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्यलगायतका विकास निर्माणसम्बन्धि माग गरेका छन् ।