• १३ साउन २०८१, आइतबार

कञ्चनपुर–३ मा

लेखक र पालबीच मुख्य प्रतिस्पर्धा

blog

लक्ष्मणदत्त पन्त

महेन्द्रनगर, कात्तिक २६ गते । कञ्चनपुर–३ मा नेपाली कांग्रेसका केद्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखक र नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वसांसद नीरूदेवी पालबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। १२ जना उम्मेदवार रहेको यो क्षेत्रमा मुख्य रूपमा दुई जनामा प्रतिस्पर्धा हुने विगतको तथ्याङ्कले पनि देखाएको छ। 

२०७४ सालको निर्वाचनमा नेकपा (एमाले)का डा. दीपकप्रकाश भट्टसँग पूर्वमन्त्री लेखक झिनो मतान्तरले हार्नुभएको थियो। उतिबेला माओवादी र एमालेबीच चुनावी तालमेलमा डा. भट्ट र कांग्रेसका लेखकबीच कडा प्रतिस्पर्धा भएको थियो।

 डा. भट्टले २६ हजार ३६४ र लेखकले २६ हजार १०६ मत पाउनुभएको थियो। २०३६ सालमा नेविसङ्घबाट राजनीति थाल्नुभएका लेखक कांग्रेसको जिल्ला सचिव हुँदै केन्द्रीय सदस्य हुनुभएको हो। २०५६ सालमा यसै क्षेत्रबाट निर्वाचित हुनुभएका लेखक दुई पटक मन्त्री र एक पटक राज्यमन्त्री हुनुभएको थियो। 

२०६३ सालमा माओवादीसँगको वार्ता टोलीका संयोजकसमेत रहनुभएका लेखक आफ्नो क्षेत्रमा हालका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव लड्नुभएपछि २०६४ सालमा समानुपातिक सांसद हुनुभएको थियो। २०७० मा करिब नौ हजार मतले चुनाव जित्नुभएका लेखक २०७४ मा माओवादी र एमाले मिलेपछि २५८ मतले चुनाव हार्नुभएको थियो। 

यस्तै लेखकका मुख्य प्रतिस्पर्धी मानिएका उम्मेदवार नेकपा (एमाले)की नेत्री नीरूदेवी पालले २०५३ मा युवा सङ्घबाट राजनीतिक यात्राको सुरुवात गर्नुभएको हो। उहाँ युवा सङ्घको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष हुँदै केन्द्रीय अध्यक्षसमेत भइसक्नुभएको छ। 

२०६४ सालको उपनिर्वाचनमा माओवादीका हरिश ठकुल्लासँग पराजित उहाँ पहिलो पटक लेखकसँग आमनेसामने हुनुभएको छ। २०७४ मा समानुपतिक सांसद हुनुभएकी नेत्री पाल सदनभित्रको महिला तथा सामाजिक समितिको सभापतिसमेत हुनुभएको थियो। 

यस क्षेत्रभित्र पर्ने भीमदत्त, दोधाराचाँदनी र वेदकोट नगरपालिकाको वडा नं. ८ सहितको स्थानीय तहको निर्वाचन २०७९ को नतिजालाई विश्लेषण गर्ने हो भने नेकपा (एमाले)/राप्रपाभन्दा कांग्रेसलगायत सत्ता गठबन्धन बलियो देखिन्छ। स्थानीय चुनावमा कांग्रेसलगायतको गठबन्धनले २६ हजार २८२ र एमाले/राप्रपाले २३ हजार २७१ मत प्राप्त गरेका छन्। भीमदत्तमा कांग्रेस र दोधाराचाँदनीमा एमालेले पालिकामा जित हात पारेको थियो। 

स्वतन्त्रको चुनौती 

यस क्षेत्रमा दुई जना प्रतिनिधि सभा र एक जना प्रदेश सभामा बागी (स्वतन्त्र) उम्मेदवारका रूपमा उभिएपछि लेखक र पाल दुवैलाई चुनौती थपिएको छ। कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका दीपकबहादुर सिंह र महिला अधिकारकर्मी शारदा चन्दसहित चार जना प्रतिनिधि सभा र ११ जना उम्मेदवार रहेको प्रदेश सभाको ३ (क)मा युवा व्यवसायी एवं उद्योगपति कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीसहित पाँच जना प्रदेशमा स्वतन्त्र लड्दै हुनुहुन्छ। यस क्षेत्रमा उहाँहरूले प्राप्त गर्ने मतले लेखक र पाल कसलाई असर पार्छ अनुमान गर्न कठिन छ। 

प्रदेश सभाको ३ (क)मै नेकपा (एकीकृत समाजवादी)ले छुट्टै उम्मेदवारी दिएको छ। एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले उम्मेदवारी दिनुभएको छ। सत्ता गठबन्धनले समाजवादीको उम्मेदवारीलाई भने मित्रवत् प्रतिस्पर्धा भन्ने गरेको छ। 

यस क्षेत्रमा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार भने माओवादीका टेकेन्द्र भट्ट रहनुभएको छ। एमालेले भने राप्रपाका धर्मराज जोशीलाई समर्थन गरेको छ। यस्तै क्षेत्र नं. ३ को प्रदेश सभा (ख)मा भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार बेलबहादुर राना र एमाले÷राप्रपाबाट एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। पाँच जना उम्मेदवार रहेको क्षेत्र नं. ३ को प्रदेश सभा (ख)मा एक जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ।