• १७ असार २०८२, मङ्गलबार

रारामा पर्यटक आगमन वृद्धि

blog

मुगु समाचारदाता

मुगु, असार १७ गते । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुमा सुविधा सम्पन्न होटेल खुलेपछि राराताल घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटक बढेका छन् । आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँ सुविधा सम्पन्न होटेल खोल्न थालिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्म १६ हजार ५८९ जना आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् । नेपाली १६ हजार ३०९ जना, सार्क मुलुकबाट ५३ जना, विदेशी २२७ जना पर्यटक रारा आएको तथ्याङ्क रहेको रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु मुगुका निमित्त संरक्षण अधिकृत घर्मजित सावदले जानकारी दिनुभयो ।

रारा घुम्ने समय फागुनदेखि असार अन्तिमसम्म, असोजदेखि मङ्सिर र पुसदेखि माघ महिनासम्म उपयुक्त महिना मानिएको उहाँले बताउनुभयो । सडक, हवाई यातायात र होटेल सहज हुँदै जान थालेपछि रारामा पर्यटकको सङ्ख्यामा बढ्दै जान थालेको हो । पछिल्लो पटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, जुम्ला सिँजा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी गराएको छ ।

डाँफे होटेलका सञ्चालक पुनिकला बमका अनुसार रारामा पर्यटकको सहजताका लागि रिसोर्ट सञ्चालनमा ल्याइएको छ । रारामा सुविधा सम्पन्न होटेल नहुँदा पर्यटकलाई बास बस्न सास्ती भएको थियो । अहिले रारामा सुविधा सम्पन्न होटेल सञ्चालनमा आएपछि पर्यटक पनि वृद्धि भएको जानकारी उहाँले दिनुभयो । 

चितवन भरतपुरबाट रारा घुम्न पुग्नुभएका पुष्पराज त्रिपाठीले राराताल दुई/तीन पटक घुमेर भरपुर आनन्द लिन सक्ने सुनाउनुभयो । केही दिनको बिदामा यहाँ घुम्न आउन सके वर्षभरिको तनाव लुकाउने अनुभव बटुल्ने उहाँको भनाइ छ । रारा आउने पर्यटक घोडा चढेर मुर्माटपसम्म पुगेर दृश्य अवलोकन गर्ने गर्छन् । त्यसै गरी रारामा पर्यटक घोडा चढ्ने, डुङ्गा चढेर तालमा रमाउने, राराका असला माछा अवलोकन गर्नुका साथै यहाँ रहेका प्रसिद्ध धार्मिक स्थल लागुडा महादेव, छाप्रु महादेव, रारा महादेवको दर्शन गर्ने गर्छन् ।