सिराज खान
नेपालगन्ज, असार १७ गते । बाँकेको बैजनाथ गाउँपालिकाले धान रोपाइँ लगायत खेतीपातीको समयमा किसानलाई सहजता होस् भनेर आधुनिक कृषि उपकरणहरु वितरण गरेको छ ।
गाउँपालिकाले ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’अन्तर्गत कृषकहरूलाई आधुनिक कृषि यान्त्रिक उपकरणहरू अनुदानमा वितरण गरेको हो । सो क्रममा किसानहरुलाई पावर टिलर, मिनी टिलर, च्याप कटर, ई–लोडर अटो लगायतका उपकरण ७० प्रतिशत अनुदानमा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो ।
उहाँले गाउँपालिकाले हालसम्म १०२ वटा मिनी टिलर र २१ वटा पावर टिलर वितरण गरिसकेको जनाउँदै यसबाट किसानलाई खेतीपातीमा ठुलो राहात मिलेको बताउनुभयो ।
अध्यक्ष शाहीले पालिका भित्रका कृषकहरूको माग, सुझाव र अनुभवका आधारमा योजना बनाएर कृषि उपकरण उपलब्ध गराइएको बताउनुभयो ।
गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माका अनुसार पालिकाले यान्त्रिकीकरणसँगै सिँचाइ, ढुवानी, भण्डारण र बीउ व्यवस्थापनजस्ता पक्षमा पनि विशेष ध्यान दिइरहेको छ ।
उहाँले पालिकाले किसानहरुलाई ७० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, ५० प्रतिशत अनुदानमा भण्डारण गोदाम निर्माण, ११ जना कृषकलाई ई–लोडर वितरण र आकस्मिक सेवा स्वरूप ‘कृषि एम्बुलेन्स’ समेत सञ्चालनमा ल्याएको बताउनुभयो ।
पालिकाबाट अनुदानमा कृषि उपकरण पाएपछि बैजनाथ–२ का भरत न्यौपाने र वडा ७ का गणेश थारुजस्ता किसानहरूलाई श्रम र समय दुबैमा ठुलो राहत मिल्ने उहाँहरुले नै बताउनुभएको छ ।
समय, श्रम र लागतमा बचत भएपछि उत्पादनमा पनि स्थायित्व र सुनिश्चितता हुने निश्चित भएको बैजनाथ–२ का किसान न्यौपानेको भनाइ छ ।
अर्का किसान वडा नम्बर ७ का गणेश थारुले पहिला हलो जोतेर एक बिघा जोत्न दिनभर लाग्थ्यो, अब आधा समयमै दुई बिघा जोत्न सकिने हुँदा काम गर्न निकै सहज र सरल हुने बताउनुभयो ।
गाउँपालिकाका अनुसार पहिला सहरका लागि मात्र सम्भव ठानिएका आधुनिक कृषि उपकरणहरू अब गाउँका खेतबारीसम्म पुगेका छन् । आधुनिक कृषि उपकरणहरुले गर्दा समय, श्रम र लागतमा बचत भएपछि उत्पादनमा पनि वृद्धि हुने निश्चित देखिएको किसानहरुको भनाइ छ ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष शाहीले बैजनाथलाई कृषिको हब बनाएर यहाँका किसानलाई लुम्बिनी प्रदेशमै नमुना बनाउने उद्देश्य लिएर पालिकाले काम गरिरहेको बताउनुभएको छ ।