• १३ साउन २०८१, आइतबार

क्रान्ति दिवसको त्यो उज्यालो दिन

blog

नेपाली कांग्रेसको जन–मुक्तिसेनाले वीरगञ्ज कब्जा गरेर, २००७ सालको जन–क्रान्ति प्रारम्भ गरेको एक ऐतिहासिक दिन हो– कात्तिक २६ गते। वि.सं. २००७ को आश्विन १० र ११ का दिन नेपालको सीमावर्ती स्थान, भारतको बैरगिनियाँमा नेपाली कांग्रेसले सम्मेलन आयोजना ग¥यो। त्यसमा देशको विभिन्न भागबाट र भारतको कतिपय ठाउँबाट आएका करिब तीन सयजति कांग्रेसका प्रतिनिधिहरूले भाग लिएका थिए। त्यही सम्मेलनको सर्वसम्मतिले एकतन्त्रीय राणा शासनको विरोधमा सशस्त्र क्रान्ति गर्ने प्रस्तावलाई पारित ग¥यो। 

सन् १९४८ मा बर्माले स्वतन्त्रता प्राप्त ग¥यो। त्यहाँ ए.एफ.पी.एफ.एल. (एन्टी फासिस्ट पिपुल्स फ्रिडम लिग)को नेतृत्वमा सरकार गठन भएको थियो। त्यो सरकारमा बर्माका समाजवादीहरूको प्रमुखता थियो। उनीहरूसित बीपी कोइरालाको सुमधुर सम्बन्ध थियो। बीपी सन् १९५० को जनवरीमा र अगस्टमा दुई पटक रङ्गुन (याँगुन) जानु भयो। उहाँले बर्माको समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिरक्षा मन्त्री उ वास्वे तथा अरू नेता र मन्त्रीहरूसित भेट्नु भयो। उनीहरू नेपालको जन–क्रान्तिलाई हतियार दिएर सहयोग गर्न तयार भए। कस्मिरका मुख्यमन्त्री शेख अब्दुल्ला पनि कांग्रेसलाई हतियार दिन तयार थिए। दोस्रो विश्वयुद्धमा वीरताका साथ लड्ने तथा सुभाषचन्द्र बोसको ‘आजाद हिन्द फौज’ मा सम्मिलित भएर फर्केका अनुभव प्राप्त नेपाली सैनिकसमेतलाई सङ्गठित गरेर कांग्रेसले जन–मुक्ति सेनाको लडाकु दस्ता तयार पा¥यो। यी सबै तयारी पछि कांगे्रस क्रान्ति सञ्चालन गर्न विलम्ब गर्नुहुँदैन भन्ने निष्कर्षमा पुग्यो। वैरगनिया सम्मेलनपछि पटनामा बसेको कांग्रेसको उच्चस्तरीय बैठकले मातृकाप्रसाद कोइराला, बीपी र सुवर्णशमशेरलाई क्रान्ति सञ्चालनको सम्पूर्ण अभिभारा सुम्प्यो। त्यही बैठकले जनक्रान्तिमा कांग्रेसका नेताहरू, कस–कसले, कहाँ–कहाँको जिम्मेवारी लिएर काम गर्ने, त्यसको पनि प्रारूप तयार पा¥यो। 

नेपालको यो जन–क्रान्तिलाई सफलतामा पु¥याउन भारतका समाजवादी चिन्तक तथा लेखक भोला चटर्जीको महत्वपूर्ण भूमिका थियो। वैरगनिया सम्मेलनपछि अक्टोबरको पहिलो हप्तामा चटर्जी र थीरबम मल्ल फेरि बर्मा गए। उनीहरूले बर्माबाट हतियार ल्याउने दिन निश्चित गरे। तर हतियार ल्याउने कार्य त्यति सजिलो थिएन। त्यसबेला महावीरशमशेरको स्वामित्वको हिमालय एभिएसनको विमानले कलकत्ताबाट भारतको विभिन्न भागमा आफ्नो उडान सेवा सञ्चालन गरेको थियो। त्यही विमान बाटो बिराएको बहानामा रङ्गुन विमानस्थलमा अवतरण ग¥यो। त्यो विमानमा थीरवम मल्ल र चटर्जी पनि गएका थिए। उनीहरू विमानमा हतियार लिएर फर्के। त्यो विमानलाई दोस्रो विश्वयुद्ध कालमा विमानस्थलको रूपमा प्रयोग गरिएको तर त्यसबेला प्रयोगमा नरहेको पटनाको बक्सरनिरको मैदानमा उतारियो। भारत भित्रैबाट पनि गोप्य तवरले अरू हतियार सङ्कलन गरिएको थियो। ती हतियार धेरैलाई देशभित्र पु¥याइसकिएको थियो। यी सबैबाट राणातन्त्रको विरोधमा लड्न आवश्यक शक्ति र साधन पर्याप्त छ भन्ने कांग्रेसका नेताहरूले महसुस गरे। त्यसैले कलकत्ताबाट गोप्य रूपमा थीरवम मल्ल, पुरनसिंह खवास र जी.वी. याकथुम्बाको नेतृत्वमा गएको सय जना जतिको जन–मुक्तिसेनाको सशस्त्र दस्ताले २००७ को कात्तिक २६ गते शनिबार, भाइटीकाको दिन, बिहानै, त्यसबेला राजधानीपछिको नेपालको दोस्रो महत्वपूर्ण स्थान वीरगञ्जलाई आफ्नो नियन्त्रणमा लियो। त्यो दिन–कात्तिक २६ गते कांग्रेसको मात्र होइन, सम्पूर्ण नेपाली जनताको निमित्त एक स्मरणीय दिन थियो। 

कात्तिक २६ देखि प्रारम्भ भएको जन–क्रान्तिको ज्वाला एकसाथ देशभरि प्रज्वलित भएर उठ्यो। पूर्वी पहाडको इलामदेखि चरीकोटसम्म, बैतडीदेखि गोरखासम्म र मधेश एवं भित्री मधेशको सबै भू–भाग कांग्रेसले कब्जामा लियो। राजधानी र त्यसको वरपरबाहेक देशको अरू सबैतिर राणाको अस्तित्व मेटिइसकेको थियो। 

दिल्लीले जन–आन्दोलनलाई पटक–पटक अवरोध गर्न खोजिरह्यो। राजा त्रिभुवन परिवारसहित भारत सरकारको विशिष्ट अतिथि भएर दिल्लीको हैदरावाद हाउसमा बसेका थिए। उनीहरूलाई कांग्रेसका नेताहरू कसैसित भेट्न, सम्पर्क गर्न दिइएन। देशको सम्पूर्ण भागमा फैलिरहेको जनक्रान्ति बारेको यथार्थबाट पनि उनीहरू अनभिज्ञ थिए। दिल्ली तीनै पक्ष कांग्रेस, राजा र राणाका बीचमा समन्वयको स्थिति खोजिरहेको थियो। भारतले प्रस्तुत गरेको सहमतिका बुँदाहरूमा २००७ को पौष २४ गते मोहनशमशेरले स्वीकृति जनाए। पौष २५ गते राजा त्रिभुवनले त्यसलाई समर्थन गरे। राजा त्रिभुवनले जनमुक्ति सेनालाई हतियार नउठाउन अपिल गरे तर जनक्रान्ति अघि बढ्दै गयो। धेरै जिल्लामा आफ्नो नियन्त्रण स्थापित गर्दै, २००७ को माघ १६ गते जनमुक्ति सेनाले नेपालगञ्ज कब्जा गरेपछि मात्र जन–क्रान्ति रोकियो। यसैबीच क्रान्तिका कमान्डर मातृकाप्रसाद कोइरालाको हतियार बन्द गर्नु भन्ने आदेश पनि सबै मोर्चामा पुगिसकेको थियो। यो क्रान्तिको स्पष्ट लक्ष्य–एकतन्त्रीय राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्र स्थापना गर्ने थियो। त्यो लक्ष्यप्रति कांग्रेसका नेताहरू प्रतिबद्ध थिए र जन–मुक्तिसेना यसैमा समर्पित थिए। त्यसैले यो क्रान्ति अनुशासित रूपमा, सक्रियताका साथ आफ्नो गन्तव्यतिर बढिरहेको थियो। मुटभेडमा बन्दुक समाएका दुई पक्षबाहेक यसमा अरू कसैले ज्यान गुमाउनु परेन। सम्पत्तिको कारणले वा प्रतिशोधका कारणले वा अरू कारणले कसैले प्रताडित हुनु परेन। कांग्रेसको नियन्त्रणमा आएका सबै जिल्लामा क्रान्तिकारी सरकार गठन भएको थियो। त्यसैले कुनै जिल्लामा कतैबाट पनि अवाञ्छित क्रियाकलाप हुन पाएन। सबैतिर रचनात्मक कार्यतिर जनतालाई प्रेरित गरियो। धेरै ठाउँमा गाउँ पञ्चायतको गठन गरियो र केही स्वायत्त अधिकारहरू समेत प्रदान गरियो।

त्यही ऐतिहासक क्रान्तिले २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्रको स्थापना ग¥यो। त्यसै दिन राणा–कांग्रेस संयुक्त सरकारको गठन भयो। राणा पक्षले अनेक व्यवधान खडा गरे पनि त्यस बेला कांग्रेसले उल्लेखनीय कार्य ग¥यो। दुई वर्षभित्र संविधान सभाको चुनाव गराउनेसम्बन्धी कार्यहरू प्रारम्भ गरियो। नेपालको अन्तरिम शासन विधान–२००७ लागू ग¥यो। त्यसले न्यायिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र जनताका आधारभूत अधिकारको प्रत्याभूत गरेर संवैधानिक राजतन्त्र र कानुनी राज्य प्रणालीमा देशलाई प्रवेश गरायो। शिक्षा, स्वास्थ्य आदिमा उल्लेखनीय कार्य गरियो। जातीय भेदभाव, छुवाछूत र अरू सामाजिक विकार र विकृति हटाउने कार्य प्रारम्भ ग¥यो। सबै किसिमका असमानता र शोषणको अन्त्य ग¥यो। बेठी–बेगारी हटायो। किसानको हितमा, मोहियानी हक र अरू अनेक कार्यहरूको व्यवस्था ग¥यो। बिर्ता उन्मूलन सुरु ग¥यो। प्रधान न्यायालय र लोकसेवा आयोगको स्थापना ग¥यो। 

२०१६ साल जेठ १३ गते बीपी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभयो। उहाँले प्रत्येक ऐतिहासिक दिनलाई विकास र निर्माणको कार्यहरूसित आबद्ध गरेर अघि बढाउने नीति अघि सार्नु भयो। अन्ततोगत्वा २०१६ को फागुन ७ गते प्रजातन्त्र दिवसमा देशको विभिन्न भागमा अनेक कार्यको शिलन्यास र उद्घाटनहरू भए। २०१७ को कात्तिक २६ गते क्रान्ति दिवसमा पहाड, तराई र राजधानीमा एकसाथ विकास र निर्माणका अनेकौँ कार्य सुरु गरिए। कात्तिक २६ को बिहान प्रधानमन्त्री बीपीले काठमाडौँको महाराजगञ्जमा सोभियत रुसको सहयोगमा निर्माण हुने अस्पताल (हालको कान्ति अस्पताल) को शिलान्यास गर्नुभयो। एक सय शय्याको आधुनिक उपकरणयुक्त यो अस्पतालको सम्पूर्ण कार्य एक वर्षभित्र पूरा गर्ने लक्ष्य थियो। त्यसैदिन रुसकै सहयोगमा निर्माण हुने पब्लिक वक्र्स डिपार्टमेन्ट भवनको सिंहदरबारमा बीपीले शिलान्यास गर्नुभयो। त्यसै दिन १० बजे बीपीले विमानस्थल जाने सडक मर्मत र विस्तार तथा विमानद्वारा चितवन पुगेर राप्ती नदी सिंचाइ आयोजनाको शिलान्यास गर्नुभयो। त्यसै दिन पोखरा पुगेर बीपीले भारतीय सहयोग कोषबाट बन्न लागेको फेवाताल जलविद्युत् आयोजनाको शिलान्यास गर्नुभयो।

 कात्तिक २६ को ऐतिहासिक दिनमा मन्त्री गणेशमान सिंहले सर्लाहीमा कमला नदीको बाँधको तथा मन्त्री सूर्यप्रसाद उपाध्यायले पनौतीमा निर्माण हुने जलविद्युत् आयोजनाको विजुली घरको शिलान्यास गर्नुभयो। मन्त्रीहरू–रामनारायण मिश्र, शिवराज पन्त, सूर्यनाथ दाश यादव, प्रेमराज आङ्देम्बे, डा. त्रिवेणीप्रसाद प्रधान तथा सहायक मन्त्रीहरूले पनि देशको विभिन्न भागमा निर्माण हुन लागेका योजनाहरूको शिलान्यास गर्नुभएको थियो। वास्तवमा कात्तिक २६–देशलाई अन्धकारबाट उज्यालोतिर लग्ने एक ऐतिहासिक दिन थियो। राजा त्रिभुवनले प्रजातन्त्रको संस्थागत विकासमा अवरोध, महेन्द्रमा सैन्य बलको उन्माद नजागेको भए र वीरेन्द्रले उपयुक्त समयमा सही निर्णय लिएको भए नेपाल आज एसियाको एक विकसित मुलुकमा रूपान्तरण भइसक्ने थियो। तर विडम्बना नेपाली जनता लामो सङ्घर्षमा होमिनु प¥यो। त्यही सङ्घर्ष वा २०४६ को जन–आन्दोलनले नेपालमा प्रजातन्त्रको पुनस्र्थापना ग¥यो। तर त्यसलाई अपदस्थ गर्ने षड्यन्त्रहरू भइरहे। २०६१ को माघ १९ अर्को २०१७ पौष १ भएर आयो। त्यसको विरोधमा सम्पूर्ण जनता आन्दोलित भएर उठे। जनताको त्यही आन्दोलनले नेपालमा गणतन्त्रको स्थापना ग¥यो। यी सबै अग्रगामी परिवर्तनको स्रोतको रूपमा कात्तिक २६ एक स्मरणीय दिन भएर आउँछ।