वैदिक सनातन धर्म संस्कृतिले समय चक्रलाई विविध अवयवमा विभाजन गरेको छ। सूक्ष्म रूपमा क्षण, लव, पल, मुहूर्तदेखि तिथि, बार, पक्ष, मास, ऋतु, अयन, वर्ष, दशक, शताब्दी र युगआदि अवयव समयका उत्तरोत्तर ठूला एकाइ हुन्।
बुझ्न सजिलोका लागि ज्योतिषशास्त्रले समयलाई संवत्सर, अयन, ऋतु, मास, पक्ष, तिथि, बार र नक्षत्र भनी आठ भागमा विभाजन गरेको छ। वर्षचक्रको गणना गर्दा सौर, चान्द्र, नाक्षत्र, सावन आदि शब्दको प्रयोग गरिएको पाइन्छ। वैशाख, जेठ आादि सौर वर्षभित्रका महिना हुन्। यी महिना सालाखाला ३० दिनका हुन्छन्। चन्द्रमाको गतिअनुसार हुने २७ दिनको महिना चान्द्रमास हुन्छ र चन्द्रगतिकै आधारमा समयको अँध्यारो र उज्यालो अवधिलाई कृष्ण र शुक्ल पक्षको नाम दिइएको छ।
कार्तिक समयवाचक शब्द हो। ऋषिमुनि भन्छन् ः शब्द ब्रह्म हो, यो सन्दर्भअनुसार अनेकार्थक हुन्छ। विषयवस्तु र
प्रसङ्गले समय पनि अनेक अर्थको संवाहक हुनपुग्छ। काल, बेला, बखतजस्ता शब्द समय सूचक हुन्। सौरमासअन्तर्गतको कार्तिक शब्दले सिङ्गो समयचक्रको एउटा महत्वपूर्ण कालखण्डलाई बुझाउँछ। सूर्य, चन्द्र र वायु क्रमशः आकाश, नक्षत्र र अन्तरिक्ष मण्डलमा घुम्छन् भने अग्नि पृथ्वी स्थानीय हुन्। त्रिकालदर्शी हाम्रा ऋषिमुनिहरूले सौर समयचक्रलाई बाह्र महिना र छ ऋतुमा विभाजन गरेका छन्। वैशाखदेखि चैतसम्मका बाह्र महिनालाई दुई÷दुई महिनामा विभाजन गरेर क्रमश वसन्त, ग्रीष्म, वर्षा, शरद्, हेमन्त र शिशिर छ ऋतुमा समेटिएको छ।
हामी नित्य, नैमित्तिक र काम्यलगायतका विविध धार्मिक–सांस्कृतिक सत्कर्महरू गर्दछौँ। धर्मसंस्कृति हाम्रा पहिचान हुन्, जसले हामीलाई बचाएका हुन्छन्। पहिचान मेटिए हामी निष्प्राण बन्दछौँ। यस्ता कृत्य गर्दा आचारविचारको ख्याल गर्नुपर्छ। देशाचार, लोकाचार, शिष्टाचार र कुलाचार हाम्रा जीवनदर्शन हुन्। त्यस्ता आचारको ख्याल गरी गरिने सत्कर्म सुरु गर्नुपूर्व हामी
सङ्कल्प गर्छौं। सङ्कल्पमा कल्पदेखि संवत्, अयन, ऋतु, मास, पक्ष, तिथि, बार, नक्षत्र,आदिको सामूहिक उच्चारण गरी आफूलाई बाँध्ने काम हुन्छ। अझ स्पष्ट भनौँ हामीद्वारा सम्पादन गरिने कर्मप्रतिको प्रतिज्ञावाक्य नै सङ्कल्प हो। यस्ता कृत्यमा विशेषगरी चान्द्रमासलाई बढी ध्यान दिइएको हुन्छ।
सौरमासीय गणनाअनुसार तुला राशिमा सूर्य सङ्क्रमणपछि १ गतेबाट कार्तिक महिना सुरु हुन्छ। चान्द्रगति अनुसार आश्विनशुक्ल पूर्णिमाबाट सुरु भएर कार्तिकशुक्ल पूर्णिमासम्मको कालखण्ड कार्तिक मानिन्छ। दक्षिणायनभित्रका छ महिनाको क्रममा कार्तिक चौथो महिना हो। वर्षाऋतु सकिएपछि शक्ति उपासना पर्व सुरु हुने शरद् ऋतुको दोस्रो महिना कार्तिक शीतकालीन समयको प्रारम्भिक कालखण्ड पनि हो। आषाढशुक्ल एकादशीदेखि प्रारम्भ हुने चतुर्मासव्रतको समापन कार्तिकशुक्ल पूर्णिमामा हुन्छ। चतुर्मास अवधिको अङ्ग कार्तिकमास स्नान, दान, तीर्थ, व्रतपूर्वकको ईश्वरीय उपासनाका दृष्टिले पनि औधि महत्वपूर्ण मानिन्छ। हाम्रा शास्त्रहरूको उद्घोष छ मनुष्य जीवन भोगविलासका लागि प्राप्त भएको होइन। यो त साधना, संयम र ईश्वरीय उपासना गरी आत्म उद्धारका लागि ईश्वर÷ प्रकृतिप्रदत्त सर्वोत्कृष्ट उपहार हो। चौरासी लाख जुनीमा घुमफिर गरी अमूल्य नरचोला प्राप्त हुने कविउद्गार मननचिन्तनका घतिला उपज हुन्। धर्म संस्कृतिको पालनले आत्मतत्व बोध हुन्छ र अनुसरणले हामीलाई जन्ममृत्युका चक्रबाट छुटाएर मोक्षमार्गको अनुसरण गर्नतिर उत्प्रेरित गर्छ। चाडपर्व, व्रत, साधना र उपासन त्यसैका मार्गदर्शक हुन्। हामी ज्ञान विज्ञानका मननचिन्तनले खारिएका मन्त्रपूत ऋषिमहर्षिका सन्तति हौँ। जीवनदर्शन बुझेका हाम्रा ती पूर्वजले विभिन्न संहिता एवं माहात्म्यको रचना गरी हामीलाई छोडेका छन्।
कालचक्र भगवान्कै स्वरूप हो। समयपरिधिले पनि त्यसैको प्रतिनिधित्व गर्छ। हाम्रो वैदिक सनातन हिन्दु धर्म संस्कृतिले वर्ष चक्रभित्रका बाह्र महिनाले फरक विशेषता साँचेको उद्घोष गरेको छ। शास्त्रहरूमा समयका विशेष अवस्थाको पनि उल्लेख छन्। श्रीमद्भगवद् गीतामा श्रीकृष्णले आफूलाई महिनामा मङ्सिर र ऋतुहरूमा वसन्त हुँ भन्नुभएको छ। सनत्कुमारसंहिता अन्तर्गतको कार्तिक माहात्म्यले महिनाहरूमा मङ्सिर पुण्यदायक, त्योभन्दा वैशाख नर्मदातटमा अझ पुण्यप्रद, त्यसभन्दा प्रयागमा माघ लाखगुणा पुण्यदायक अनि माघभन्दा कार्तिक स्नान सबैभन्दा पुण्यदायक भनी विशाल समयको अवयव कार्तिक महिनाको महत्व दर्शाएको छ। वन वनस्पतिमा तुलसी, वरपिपल, अमला र पलाश, पशुपक्षीमा गाई, कुकुर र काग, मनुष्यमा ब्राह्मण, देवतामा सूर्य, चन्द्र, इन्द्र र अग्नि आदि अनि शिलाहरूमा शालिग्राम सेवाको महत्व कार्तिक माहात्म्यले दर्शाएको छ। दानमा अन्नदान, दीपदान र द्रव्यदानले यस माहात्म्यमा बढी उच्चस्थान पाएका छन्। उपासना पक्षमा पाञ्चायन देवताको समष्टि रूप सूर्यलाई कालका पनि काल हुन् भनिएको छ। सूर्य भगवान् मात्र प्रत्यक्ष देवता भएको प्रष्ट्याएर सम्पूर्ण जगत्लाई जागो गराउने जगच्चक्षुरूप सूर्यमण्डल वा सूर्य प्रतिमाको पूजा उपासना कार्तिकमा गर्नुपर्ने कार्यनिर्देश पनि माहात्म्यको छ। सिङ्गो समय ईश्वरको रूप भएको र सूर्य नै समयको विभाजनकर्ता भएकोले सूर्यपूजालाई कार्तिक माहात्म्यले बढी महìव दिनु सान्दर्भिक देखिन्छ।
आकाश, धरती, नदनदी, वनवनस्पति, कीटपतङ्ग, पशुपक्षी र प्रकृतिसमेत ईश्वरसृष्टि हुन्। तिनको अस्तित्व स्वीकार गरी ईश्वरीय पूजाउपासना गरेर मानव चोला सार्थक पार्ने सन्देश दिनु यस कृतिको सङ्केतात्मक निर्देशन हो। उद्धरेदात्मनात्मानमात्मानमवसादयेत् ... यो सूक्तिको आशय पनि आफ्नो उद्धार मानव आफैँले गरोस् भन्ने हो। मानव कल्याणकारी यी शास्त्रीय निर्देशनका दृष्टिले पनि कार्तिक महिनाका उक्त कृत्यहरू औधि घतिला मानिन्छन्।
सनत्कुमारीय कार्तिक माहात्म्यअनुसार ब्रह्माजीले एकातिर सबै किसिमका दान, व्रत, तीर्थ र नियमहरू र अर्कातिर कार्तिक स्नानलाई राखेर परीक्षण गर्दा कार्तिकस्नानको पल्ला गह्रौँ भएको उल्लेख छ। पूर्वजन्ममा कार्तिक स्नान गरेकै कारण मानिस कलियुगमा सन्तति र सम्पत्तिवान् भएको दाबी यस कृतिले गरेको छ। कार्तिकमा स्नान, तुलसीको सेवा, दीपदान वा बत्ती बाल्न तेल दिने र अरूले बालेको बत्तीको रक्षा गर्नेले पनि पृथ्वीतलमा रत्नभोग गर्न पाउने उल्लेख छ। पुनर्जन्मका विश्वासी हिन्दु धार्मिक जगत्का लागि यी भनाइहरू जीवनदायी छन्। तसर्थ जीवन मुक्तिका लागि माहात्म्यको निर्देशनअनुसार मान्छेका इच्छापूर्ति गरी मुक्ति दिन समर्थ कार्तिकमा भूमिशयन, ब्रह्मचर्यपालन, द्विदलको त्याग, विष्णुको कीर्तन, सत्य सम्भाषण र पुराणश्रवण लगायतका पवित्रकर्म गर्नु कल्याणकारक हुनेछ।
युधिष्ठिरले धर्मका लागि, ध्रुवले धनका लागि, श्रीकृष्णले कामका लागि र नारदले मोक्षका निम्ति गरेको श्रीकृष्णको प्रिय कार्तिकव्रत गर्नुपर्ने आदेश कार्तिकमाहात्म्यको छ। सूर्य र उनका सारथि अरूणबीचको संवादलाई बालखिल्य ऋषिहरूले नैमिषारण्य तीर्थमा साधनारत शौनकादि ऋषिहरूलाई बताउनुभएको कथात्मक अभिव्यक्ति कार्तिक माहात्म्यको मूल कथ्य हो। कथाले १७,२८,००० सौरवर्ष आयुको सत्ययुगलाई सत्वगुणी, १२,९६,००० सौरवर्ष आयुको त्रेतालाई रजोगुणी, ८,६४,००० सौरवर्ष आयुको द्वापरलाई तमोगुणी र ४,३२,००० सौरवर्ष आयुको कलियुगलाई मदिरासेवी, यौनोत्तेजक र बेथितिरतको संज्ञा दिएको छ। कलिका प्रभावले कलुषित मनुष्यको कल्याण गर्न यस माहात्म्यले भनेका कृत्यको उद्देश्य हो।
कार्तिकस्नान गर्नेले यमराजको शास्ती देख्न नपर्ने, अरूलाई धन दिएर स्नान गर्नेको हात समातेमा वा कार्तिकस्नान गर्ने ब्राह्मणलाई ओढ्ने वस्त्रदान गरेर पनि स्नानबाट प्राप्त हुने फल पाउने उल्लेख छ। वैदिक सनातन धर्मका अनुयायी हामीहरू लोक–परलोकमा विश्वास राख्छौँ। पशुपक्षी, वनवनस्पति र नदनदीको अस्तित्व स्वीकार गरी तिनको पूजाआराधना गर्छौं। स्नान–ध्यान, जपतप, पाठपूजा–आराधनाप्रति अगाध विश्वास छ। त्यही विश्वासले हरेक वर्षका प्रतिमहिना, तिथि, बार र नक्षत्रपरक धार्मिक सांस्कृतिक चाडपर्व मनाउँदै आएका छौँ।
कार्तिक ९ गते सुरु भएको कार्तिकशुक्ल पक्षको अन्तिम दिन कार्तिक २२ हो। यी तिथिमितिभित्र गोबद्र्धनपूजा, गोरुपूजा, बलिपूजा, हलितिहार आदि कृत्य र नेपाल संवत् ११४३ को प्रारम्भ, पनि भयो। यमद्वितीया, छठपूजा, कुष्माण्डनवमी, सत्ययुगादि, हरिबोधिनी एकादशीव्रत, तुलसीविवाह, भीष्मपञ्चकारम्भ, बराहक्षेत्र र बराहपोखरीमेला, अखण्डदीपदर्शन, ऋषिकेश रथयात्रा र मन्वादि पर्वका साथै वैकुण्ठचतुर्दशीव्रत, पूर्णिमाव्रत, शिववैकुण्ठ चतुर्दशीव्रत, कालिका भगवतीयात्रा र त्रिपुरोत्सव पर्व पनि यसै अवधिमा आए।
भूगोल र खगोलभित्रका सबै विषयवस्तु समयकै शासनमा छन्। पृथ्वी तलको उत्तम भूखण्ड आर्यावर्तमा मानवचोला पाउनु अहोभाग्य भन्छन् शास्त्रले। यस्तो उत्तम जीवनको सार्थकता आत्मज्ञानमा मात्र सम्भव ठानेर हाम्रा ऋषिमहर्षिहरूले हाम्रो हितका लागि विभिन्न माहात्म्य प्रकाशन गरी हामीलाई छोडेका छन्। तिनमा मानवले आफ्नो उद्धारका लागि गर्नुपर्ने समयसापेक्ष कृत्य उदाहरणसहित प्रस्तुत छन्। कार्तिक माहात्म्य त्यस्तै सफल कृति हो। २६ अध्यायमा १३२८ श्लोकको यो कृतिको सन्देश मानवजीवनलाई सावधानीपूर्वक साधनापूर्ण जीवननिर्वाह गरी मुक्तिसोपान चुम्बन गर भन्नु हो। मान्छेको यो लक्ष्य कार्तिक स्नानबाट आर्जित पुण्यलाभले पूर्ति गर्ने हुँदा कार्तिक स्नान, दान र ईश्वरीय उपासना गरी मनुष्यले मोक्ष प्राप्त गर्नु भन्ने कार्यार्देश कार्तिक माहात्म्यको छ।