• १३ साउन २०८१, आइतबार

उत्कृष्ट पाठकलाई पुरस्कृत गरिने

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, कात्तिक २५ गते । टीकापुर सामुदायिक पुस्तकालयमा नियमित पुस्तक पढ्न आउने पाठक महिनैपिच्छे नगद पुरस्कार पाउने भएका छन् । पछिल्ला वर्षमा पुस्तक पढने पाठकको सङ्ख्या घट्दै गएपछि पाठकको रुचि बढाउन पाठकलाई पुरस्कृत गरिन लागेको हो ।

उत्कृष्ट पाठकलाई पुरस्कारका लागि शुक्रबार टीकापुर सरोकार समूह र टीकापुर सामुदायिक पुस्तकालयबीच सम्झौता भएको छ । ‘पठन संस्कृतिको पुनर्जागरण र प्रवर्धन गर्न उत्कृष्ट पाठकलाई दश हजार रुपियाँ राशिको पुरस्कार उत्प्रेरणास्वरूप उपलब्ध गराउनेछ’ टीकापुर सरोकार समूहका अध्यक्ष प्रशान्त अर्यालले भन्नुभयो ।

उहाँका अनुसार प्रविधि र स्मार्ट फोनको विकासले सबैतिर पठन संस्कृति हराएको र स्मार्टफोनमा हलुका विषयवस्तु हेर्ने र पढ्ने बानी बसेकाले पुस्तकहरू अध्ययन गर्ने संस्कृति हराउन गएको छ ।  

टीकापुर सामुदायिक पुस्तकालयले उत्कृष्ट पाठक छनोट कार्यविधि बनाएर टीकापुर सरोकार समूह समक्ष उत्कृष्ट पाठक सिफारिस गर्ने र टीकापुर सरोकार समूह र टीकापुर सामुदायिक पुस्तकालयले सामूहिक रूपमा पुरस्कार वितरण गर्नेछन् । 

टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशी पुस्तक भएर पनि पाठक अभाव भएको अवस्थामा उत्प्रेरणाले पाठक आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो । टीकापुर सामुदायिक पुस्तकालयमा करिब एघार हजार थान पुस्तक छन् भने ८४५ जना आजीवन सदस्य छन् ।