• १३ साउन २०८१, आइतबार

केही समय वृद्ध बाआमालाई

blog

उखान छ ‘आगो ताप्नु मुढाको कुरा सुन्नु बूढाको’ । यो उखानको सान्दर्भिकता कहिल्यै पुरानो हुँदैन। तर व्यवहारमा पुरानो भइसकेजस्तो छ। मान्छेमा आधुनिक प्रविधिलाई पछ्याउन छोडेर कसले सुनिरहन्छ गन्धे बूढाका कुरा भन्ने सोच बढेको छ। कोही पनि बूढाको कुरा सुन्न चाहँदैनन् र मुढाको आगो पनि ताप्न चाहँदैनन्। किनभने सजिलो विकल्पको विकास भएको छ विज्ञान र प्रविधिका कारण। अनि उपेक्षामा परेका छन् बूढा र मुढा दुवै। टीभी, मोबाइल, ट्याब्लेटले बूढाका कुरालाई ओझेल पारेका छन् भने विद्युतीय उपकरणले मुढाको आगोलाई। एकदमै उपेक्षामा परेका छन् बूढा र मुढा दुवै। तर कल्पना गरौँ त, बूढा र मुढा दुवै नभए यो समाज कस्तो हुन्छ होला ?

हरेक ज्येष्ठ नागरिक आफूसँग बोलिदिने र आफ्ना कुरा सुनिदिने मान्छे आफ्नो नजिक होस् भन्ने चाहन्छन्। तर यो औद्योगिकीकरणले खर्लप्प निलेको समाजमा मेसिनजस्तै भइसकेका मान्छेलाई एकैछिन आफ्ना वृद्ध बाआमासँग बसेर उनीहरूका कुरा सुनिदिने र उनीहरूसँग बोलिदिने फुर्सद नै कहाँ छ र! हुन त मान्छेले मेसिनजस्तै नचले वा नकुदे जीविका चलाउनै मुस्किल हुन्छ। समयको गतिसँगै कुद्नुपर्ने बाध्यता छ मान्छेलाई। विशेषगरी वयस्क अर्थात् आर्थिक दृष्टिकोणले सक्रिय मान्छेलाई। मान्छेको हैसियत, इज्जत र प्रतिष्ठा सबै अर्थले निर्धारण गर्छ अचेल। त्यसैले मान्छेको जीवनमा सबैभन्दा प्रधान वस्तु बनेको छ अर्थ अर्थात् पैसा। 

पैसा कमाउनका लागि मान्छे सधैँ हतारमा हुन्छ र बेफुर्सदमा हुन्छ। आफूलाई जन्म दिने वृद्ध बाआमासँग एकछिन समय बिताउन पनि बिदाकै दिन कुर्नुपर्छ। बिदाको दिनमा अनेक बहानामा बेफुर्सदी हुन्छन्। बाआमासँग बसेर भलाकुसारी गर्ने समय पाउँदैनन्। बरु बिदा मनाउन देश–विदेश घुम्छन्, तर आफ्नै बाआमासँग एकछिन बसेर भलाकुसारी गर्दैनन्। अनि ससाना केटाकेटीलाई चाहिँ स्कुलको गृहकार्य गर्दैमा समय बितेको पत्तै हुँदैन। एकछिन फुक्काफाल भएर खेल्न पनि पाउँदैनन्। अलिकति बचेको समय पनि गेम खेल्न र टीभी हेर्नमा बिताउँछन्। वृद्ध हजुरबाआमासँग बसेर राजकुमार–राजकुमारी र परीका कथा सुन्ने फुर्सद र चाहना अहिलेका केटाकेटीलाई पटक्कै छैन। 

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका भण्डार हुन्। उनीहरूका व्यावहारिक ज्ञान, सीप र अनुभवलाई अनुसरण गर्ने हो भने मान्छेको व्यावहारिक जीवन धेरै हदसम्म सहज, सक्षम र सफल हुनसक्छ। ज्येष्ठ नागरिकसँग बसेर उनीहरूका ज्ञान र अनुभवका कुरा सुन्ने र उनीहरूका सीपलाई अनुसरण गर्ने हो भने मान्छेले अनावश्यक तनाव र कहालीलाग्दो बेरोजगारीको पीडाबाट पनि मुक्ति पाउन सक्छन्। ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभव वर्तमान पुस्ताका मान्छेलाई अत्यन्तै सहयोगी र मार्गदर्शक सिद्ध हुनसक्छ। त्यसै कारण ज्येष्ठ नागकिरलाई समाजको आदर्शको रूपमा हेर्ने गरिएको छ। 

घरका ज्येष्ठ नागरिकका अनुभवका आदर्शवाणीलाई पनि गन्थनको रूपमा बुझ्ने गलत प्रवृत्तिले गर्दा साना वा ठूला कुनै पनि मान्छे ज्येष्ठ नागरिकका कुरा सुन्न चाहँदैनन्। ज्येष्ठ नागरिकका अनुभवका वाणीलाई बूढाको गन्थन भन्दै पन्छाउने वा पन्छिने प्रवृत्तिले अहिलेका मान्छे अमूल्य ज्ञान र शिक्षाबाट निशुल्क दीक्षित बन्नबाट वञ्चित हुँदै आएका छन्। ज्येष्ठ नागरिक स्वयं एउटा खुला किताब हुन्। त्यसबाट अनकौँ व्यावहारिक ज्ञानगुन र सीपका कुरा सिक्न सकिन्छ। तर अहिलेका मान्छे किताबी ज्ञानको पछि लागेका छन्। आदर्श र नैतिकताभन्दा व्यावसायिकताबाट बढी प्रभावित र त्यसैमा बढी अभिप्रेरित हुने प्रवृत्तिले गर्दा समाजबाट नैतिकता हराएको छ। अनि हिंसा र परपीडाले प्रश्रय पाएको छ। 

ज्येष्ठ नागरिकसँग समय व्यतित गर्नु समय खेर फाल्नु होइन, समयको सदुपयोग गर्नु हो। बरु ज्येष्ठ नागरिकप्रतिको कर्तव्य र जिम्मेवारीलाई बिर्सेर सामाजिक सञ्जालमा रमाउन खोज्नुचाहिँ समयको बर्बादी हो। आर्थिक बर्बादी पनि हो। यसो भन्दै गर्दा कसैकसैले सञ्चार र प्रविधिको विकास र त्यसको उपयोगितालाई चिन्न नसकेको आरोप पनि लगाऊलान्। सञ्चार र प्रविधिलाई उपयोग गर्नु बुद्धिमानी हो। तर अहिले सञ्चार र प्रविधिको सुविधाको उपयोगभन्दा बढी दुरुपयोग भइरहेको छ। त्यही दुरुपयोगचाहिँ समय र अर्थ दुवैको बर्बादी हो। यसको बदलामा ज्येष्ठ नागरिकसँग बसेर उनीहरूका अनुभवले खारिएका विचार र अनुभव सुन्नु समयको सदुपयोगसँगसँगै आर्थिक र सामाजिक लाभ पनि हो। अहिलेको पुस्ता त्यो लाभ प्राप्त गर्ने सुनौलो अवसरबाट वञ्चित भइरहेको छ।

हो, ज्येष्ठ नागरिक समाजका आदर्श हुन्। तर नितान्त व्यक्तिवाद र भोतिकवादको पञ्जाले गाँजिसकेको मान्छेले त्यही आदर्शलाई पनि बोझको रूपमा हेर्ने गरेको छ। हरेक कुरालाई अर्थसँग मात्रै जोडेर हेर्ने नितान्त व्यक्तिवादी र भौतिकवादी मान्छेले समाजको आदर्श मानिएका ज्येष्ठ नागरिकलाई आर्थिक बोझको रूपमा लिने गरेका छन्। कुनै आर्थिक योगदान नगर्ने र व्यय मात्रै बढाउने भन्दै ज्येष्ठ नागरिकलाई आर्थिक बोझकै रूपमा हेर्ने गरिएको छ। ज्येष्ठ नागरिकले अदृश्य रूपमा अथवा अप्रत्यक्ष रूपमा गरिरहेको महìवपूर्ण आर्थिक योगदानको भने कुनै मूल्याङ्कन नै हुने गरेको छैन। बालबच्चा हेरिदिएर, घरको कुरुवा बनेर र कामकाजी छोराबुहारीलाई ढुक्कले काममा जाने सहज वातावरण सिर्जना गरिदिएर ज्येष्ठ नागरिकले निर्वाह गरेको अत्यन्त जिम्मेवार भूमिका र तिनले गरेको आर्थिक योगदानको मूल्याङ्कन गर्ने हो भने त्यो योगदान आर्थिक दृष्टिकोणले सक्रिय मान्छेको भन्दा कम हुने छैन। तर त्यस्तो मूल्याङ्कन गर्ने परिपाटीको विकास नहुनु र त्यस्तो सोच मान्छेमा विकास नहुनु विडम्बना नै हो। आफ्नै मात्र भूमिकालाई अहम् ठान्ने र ज्येष्ठ नागरिकको भूमिकालाई अवमूल्यन गर्ने सोचले गर्दा ज्येष्ठ नागरिक आर्थिक बोझका रूपमा चिनिएका छन्। परिणामतः तिनीहरूको जीवन असुरक्षित र अमर्यादित बन्दै आएको छ।

आफूसँग बोलिदिने र आफ्ना कुरा सुनिदिने मान्छेको अभावमा ज्येष्ठ नागरिकले एक्लोपन महसुस गर्नुपर्ने र न्यास्रो मान्दै दिन बिताउनुपर्ने अवस्था दिनप्रतिदिन बढिरहेको छ। सक्षम सन्तानले दरिलो आयआर्जन गरी ठूल्ठूला घर र बङ्गला त बनाएका छन्। धेरै समय मान्छेको उपस्थिति नै नरहने त्यस्तो घर र बङ्गला भूतबङ्गलाजस्तो बनेका छन्। त्यस्तै भूतबङ्गलामा एक्लै–एक्लै न्यास्रो मान्दै दिन बिताउन विवश छन् ज्येष्ठ नागरिक। यस्तो एक्लोपन निकै पीडादायी हुन्छ। यस्तो पीडाले मान्छेमा मनोसामाजिक समस्या बढ्नसक्ने मनोविद्हरूको भनाइ छ।  अरूको कुरा सुन्दा र आफ्नो कुरा अरूलाई सुनाउन मात्रै पाउँदा पनि निकै रमाउने ज्येष्ठ नागरिकहरू एक्लै बस्न र एक्लोपन महसुस गर्न बाध्य भइरहेका छन्। गुँड कुर्ने माउ चराजस्ता भएका छन् ज्येष्ठ नागरिक। एक्लोपनको महसुसले ज्येष्ठ नागरिकहरूमा निराशावादी सोच आउने अथवा डिप्रेसनको समस्या देखिने गरेको छ। संसारमै एउटा घातक रोगको रूपमा विकसित भइरहेको छ डिप्रेसन। आर्थिक, सामाजिक र शारीरिक कारणले विकसित हुने डिप्रेसन रोगले प्राय सबै उमेरका मान्छेलाई गाँज्ने गरेको छ। वृद्धावस्थामा देखिने डिप्रेसन झनै खतरनाक हुनसक्छ। यसले अन्य सामाजिक समस्यालाई समेत थप बढाउने निश्चित छ।

कामकाजी छोराबुहारी बढी समय आआफ्नो काममा व्यस्त हुने र फुर्सद पाएको समयमा पनि अचेल सामाजिक सञ्जालमा व्यस्त हुने वा घुमघाममा फुर्सदको समय व्यतित गर्ने हुँदा वृद्धा बाआमा घरमा प्राय एक्लै हुने गर्छन्। अचेलको प्रतिस्पर्धात्मक युगमा शिक्षाआर्जन, वृत्तिविकास र जीविकोपार्जनका लागि व्यस्त हुनुपर्ने र रोजगारीका लागि देश छाडेर जानेहरूको सङ्ख्यासमेत अकल्पनीय रूपमा बढेकाले नेपालका सहर र ग्रामीण सबै क्षेत्रका ज्येष्ठ नागरिकहरूले एक्लोपनको महसुस गर्नुपर्ने बाध्यता बढेको छ भने उनीहरूको जीवन पनि असुरक्षित बन्न पुगेको छ। यस्तो अवस्थामा ज्येष्ठ नागरिकहरूमा समूहमा समय व्यतित गर्ने चाहना बढ्दै जानु अस्वाभाविक होइन। यसैकारण हिजोका दिनमा वृद्धाश्रममा बस्नेहरूलाई हेयको दृष्टिले हेर्ने समाज अहिले त्यसप्रति सकारात्मक देखिन थालेको छ। सरकारी तथा निजी क्षेत्रबाट समेत वृद्धाश्रमको स्थापना बढ्नु यही सकारात्मक सोच र समयको आवश्यकताको परिणति हो भन्न सकिन्छ।

हरेक सन्तानले वृद्ध बाआमाको सन्चो–बिसन्चोका बारेमा सोधिदिने, उनीहरूका आवश्यकताका बारेमा सोचिदिने र उनीहरूका कुरा सुनिदिने हो भने उनीहरू त्यसैत्यसै खुसी हुनेछन्। उनीहरूको मुहारमा मुस्कान फुल्नेछ। मुहार उज्यालो हुनेछ। त्यो मुस्कान र उज्यालो मुहार हेरेर प्राप्त हुने आनन्द अरू कुनै कुराले दिन सक्दैन। 

सधैँ घरको एकान्तमा एक्लै मनोवाद गर्न विवश बाआमा आफ्ना सन्तानसँग दोहोरो संवाद गर्ने अवसर पाउँदा त्यसैत्यसै रमाउँछन्। चैनको सास फेर्छन्। त्यसैले धेरै समय आफ्नो शिक्षा, पेसा वा व्यापार–व्यवसायलाई दिए पनि थोरै समय भए पनि वृद्ध बाआमालाई दिने हो भने उनीहरू एक्लोपन र निराशाको सिकार हुने छैनन्। अनि बेफुर्सदी सन्तानप्रति कुनै गुनासो पनि रहने छैन। वृद्धाश्रममा होइन, आफ्नै घरमा खुसीले रमाएर बाँच्न चाहने बाआमाको इच्छालाई हरेक सन्तानले बुझिदिनु आवश्यक छ। वृद्धाश्रम विकल्प त हो, तर समाधान नै चाहिँ हुँदै होइन।