महाभारतको कथाअनुसार आफू सारथि बनेर कृष्णले अर्जुनलाई युद्धकला सिकाए। अर्जुनलाई शिष्य र कृष्णलाई गुरु मान्ने हो भने महाभारतको यो किस्साबाट शिक्षक मार्गदर्शक र विद्यार्थी कर्मशील हुनुपर्ने आदर्श राजनीतिको दृष्टान्त प्राप्त हुन्छ। युधिष्ठिरको धर्मपरायणता र दुर्योधनको दम्भ अनि निर्णायक भूमिकामा रहेका कृष्णसँग गाँसिएको कथावस्तुमा महाभारतको युद्धले खिचातानी, कटुता, अन्यायका बीचमा पनि सुसंस्कारको पाठ पढाएको छ। धृतराष्ट्रको सत्तामुखी महìवाकाङ्क्षाका सामु धर्म, न्याय र सुशासनकै जित भएको देखाइएको छ।
यहाँ सिकारुकेन्द्रित सिकाइमा क्रियाकलाप र अनुभवमुखी अभ्यासको आवश्यकता पर्ने भाष्य प्रदर्शित भएको छ। शिक्षाविद् किल्प्याट्रिक, डिवे र कोलिङ्गसको बालकेन्द्रित चिन्तनभित्र आज बोलिने वस्तुताको पाश्र्वद्वार पूर्वीय चिन्तनमा हिजैदेखि खुला थियो। रुसो, मन्टेस्वरी, पेस्तालोजी आदिको धारणाभित्र जुलियन एच. स्टेवार्डको सांस्कृतिक वातावरणमुखी प्रयोगापेक्षी शिक्षा पनि हिजैदेखि नसिकाइएको होइन । यसर्थ वातावरण र प्रविधि, प्रविधि र समाज अनि समाज र जीवनसँग जोडिने विश्वास र त्यसभित्रको आदर्शभावबिना मानवताको उच्च संस्कार निर्देशित नहुने तर्कलाई अबको उत्तरआधुनिक विमर्शले सपेटी पार्नुपर्ने देखिन्छ।
आजकै कुरा गर्दा नेपाली राजनीतिका कारण जनताको मन बिक्न र विभाजित हुन अभ्यस्त बन्दै गयो। राष्ट्रिय स्वार्थभन्दा व्यक्ति स्वार्थमा हामी अन्धो बन्दै गयौँ। परिणामतः मानवता र शान्तिको उद्घोष नहुँदा मान्छेभित्र एकखाले कोलाहल छ, कमाउधन्दा छ, स्वार्थ छ। अरू सिध्याउने र आपूm (व्यक्ति) बन्ने सङ्कीर्णताको पोको बोकेर नेतृत्वमा रहनेहरू नै पथभ्रष्ट बन्दैछन्। महँगो खर्च गर्दै चुनावी यात्रामा हिँड्नेहरूसँग दूरदराजको पीडा, बाध्यता र भुइँमान्छेको दैनन्दिनीको भावनात्मक र व्यावहारिक ज्ञान फिका देखिन्छ।
राजनीतिभित्र सत्यता, न्याय, सुशासन, देशप्रेम र समर्पणको सौन्दर्य धमिलिएको छ। आगामी दिनलाई आकलन गर्दा विलासिताको मोहभित्र विसङ्गतिका चाङ अनि त्यसबाट निर्मित स्वार्थका तमाम भ्वाङ टाल्दैमा मुलुकलाई बनाउनुपर्ने असाध्यै मूल्यवान् समय खेर गइरहन्छ। एक वर्ष सरकार बनाउनमा र एक वर्ष चुनावी जितको तानाबाना बुन्दैमा बित्छ। बीचको तीन वर्ष पनि भागबण्डाकै लडाइँमा राजनीति अल्मलिने भय हाम्रासामु छ। यसकारण लोकतान्त्रिक पद्धतिको यति सुन्दर राजनीतिक संरचनामा पनि वितृष्णाको पहाड ठडिएको देखिन्छ।
वस्तुतः मानवतावादी शिक्षा र नैतिक आदर्शताबिनाको सिकाइले समाजमा सुशासनको जग निर्माण हुन सक्दैन। हाम्रो समाजको डिस्कोर्स (सङ्कथन)भित्र ‘सङ्गत गुनको फल’ भन्ने उक्तिमा नैतिकता गाँसिएको थियो। ‘पढेरभन्दा परेर जानिन्छ’ भन्दा व्यवहार जोडिएको हो। ‘बूढा मरे, भाषा सरे’भन्दा ज्ञान हस्तान्तरित परम्पराको सौन्दर्य थपिएको थियो। यद्यपि मुलुक राजनीतिक अस्थिरताको चङ्गुलमा रहँदा विकासका पक्षमा केन्द्रित रहनेलाई पनि एकाग्र बन्न दिइँदैन। अधिकार र कर्तव्यको समानान्तर प्रयोग हुन नसक्दा नेतृत्वमा व्यक्तिवादी स्वभाव हाबी बन्दै जाने परम्परा बन्यो। खेमा, गुट, उपगुट, परिवारवादले खुलेआम डेरा जमाइदियो। जनता बिस्तारै राजनीतिले सिकाएको विचारमा अभ्यस्त बन्दै आदर्शता बिर्संदै जान थाल्यौँ । शिक्षाले राजनीतिको कुसंस्कारलाई बदल्न सकेन।
युगसापेक्षी चिन्तन
दार्शनिक फुकोको शक्ति सिद्धान्तअनुसार शक्तिले ज्ञानलाई केन्द्रमा राख्छ। व्यावहारिक, यथार्थ अनि कर्तव्यको धर्मलाई समस्याको चाङतिर लगेर अँचेटिदिन्छ। बहुकेन्द्रवाद र विकेन्द्रीकृत राजनीतिक अभ्यासमा हाम्रो मुलुक एउटा प्रयोगशालाजस्तै बनिरहेको छ। विभिन्न परिवर्तन, तन्त्र, सिद्धान्त र अभ्यासभित्र हामी उज्यालोको अपेक्षामा छौँ। सबैले आ–आफ्नै विचारको मन्थनभित्र घोषणापत्र बोकेर राजनीतिक अभ्यासको आश्वासन दिइरहँदा हाम्रो मौलिक सभ्यताको अर्थबोध भएको छ/छैन भन्नुपर्ने स्थिति छ। देशकै माटो र पहिचान अनि
राष्ट्रिय स्वार्थको सघन आधारलाई कसरी समातिएको छ ? सिद्धान्त र व्यवहारबीच कार्यान्वयनको आधार कसरी सुनिश्चित छ ? कर्मकाण्डी स्वप्नाभित्र अबको जनताले आँखा चिम्लेर होमिनु हुँदैन।
स्वतन्त्र हुन् वा दलका उम्मेदवार, पुराना वा नयाँ पुस्ता– दुवै तहका नेतृत्वलाई वर्तमान युगसापेक्षी समृद्धि, रोजगार अनि दीर्घविकासको जनचाहनाबारे हेक्का हुनुपर्छ। योजना कति युगसापेक्षी र आधुनिक हो त भन्ने प्रश्नसँग जनताले हिजोको व्यवहार र भोलिको अपेक्षालाई मूल्याङ्कन गर्न थालिसकेको पनि छ। यसर्थ पुरानो विरासतले मात्रै अबको युगको चिन्तनलाई सम्बोधन गर्न सक्दैन। सबैभन्दा ठूलो विडम्बना त मुलुकमा अभैmसम्म पनि साìिवक आदर्श बोकेको राजनीतिक अभ्यासलाई हस्तान्तरण गरिएको देखिन्न। वाद–प्रतिवादमा भन्दा विकास र समृद्धिमुखी व्यवहारमा प्रतिस्पर्धा हुनुपथ्र्यो। कसैप्रतिको प्रेम र सद्भाव त सङ्गीतको सुर, ताल र लयजस्तै प्रिय हुनुपर्छ। त्यहाँ बाध्यता र विभेद हुँदैन। उसको कला र गलालाई मन पराइँदा व्यक्तिगत स्वार्थ हेरिँदैन तर जनतासँग “मलाई मन पराइदेऊ, मलाई भोट हालिदेऊ” भनिरहिएको देखिन्छ।
जनविश्वास जित्ने अभ्यासको खडेरी हस्तान्तरित भइरह्यो। प्रजातन्त्र प्राप्तिको आधा शताब्दीपश्चात् पनि हामी उही आत्मनिर्भरता, सुशासनको अपेक्षा र समानताको हुटहुटीमा चिन्तित छौँ। हामीले चाहेको, खोजेको र रोजेको विकास र समृद्धिका तृष्णा सोचेजसरी सफल भएनन्। फलतः शक्ति, सम्पत्ति र सम्मानको मोह र सत्तास्वार्थका कारण समाजको आदर्श शिक्षाले पनि काम गरेन। अर्काको सत्तोसराप गर्दै मपाईंत्ववादी सोचको
सङ्कीर्णताभित्रै आजको राजनीतिक शिक्षा र संस्कार विद्रुप भयो। यहाँ कृष्ण (नेता)ले चलाउने रथ र अर्जुनरूपी नवसिकारुमा समेत उही र उस्तै छनक देखियो। फलतः दलीय चरित्रको शैली र व्यवहारका कारण स्वतन्त्र उम्मेदवारको एक खाले बाढी आयो । यसले वैकल्पिक शक्ति निर्माण गर्दै गइरहेको छ। फलतः यसबाट पुराना भनिएका दलहरूमा सकारात्मक अभ्यास गर्नैपर्ने दबाब चाहिँ बढेको देखिन्छ।
सामाजिक सद्भाव र सुशिक्षाको अपेक्षा
शिक्षाविद् रुसोले भनेजसरी सिकारुलाई शिक्षकले प्रकृतिको काखमा छोडिदिनुपर्छ भन्ने उसबेला कृष्णले अर्जुनलाई सिकाएको युद्धकलाले पनि पुष्टि गर्छ। गीता ज्ञानका रूपमा जीवन र जगत्को यथार्थ बताइनुलाई सैद्धान्तिक आधार मान्नुपर्छ । युद्धमा आपूm सारथि बनेर अर्जुनलाई व्यावहारिक क्रिया अर्थात् युद्धमा होमिन सिकाइनुलाई आदर्शवादी व्यावहारिक शिक्षा मान्न सकिन्छ। रुसोका अनुसार शिक्षाको मूल लक्ष्य नै श्रमलाई आदर गर्ने सक्रिय नागरिक तयार हुनुपर्छ। यसबाट नवचेतनाको विकास सम्भव छ। यही जीवनपद्धतिको भाष्य बोकेर हाम्रो नेपाली समाज नैतिक आदर्शभावमा जीवित छ। मानवताको पाठ सिकाउने, प्रकृतिलाई माया गर्ने अनि प्राणी जगत्को अस्तित्व स्वीकार गर्ने आदर्श राजनीतिक संसारगत सुशिक्षा बोकेर हाम्रो पुर्खाको विरासत जोगिँदै आएको देखिन्छ। चाहे हामी मुन्धुमभित्र पसौँ या त्रिपिटक पल्टाऔँ अर्थात् वेदका सार नै किन नखोजौँ, आखिर हामीले पाउनुपर्ने सुशिक्षाभित्र मानवतावादी स्वर गुञ्जायमान छ।
आजको विज्ञान भोलि परिष्कृत हुँदै जान्छ। भौतिक जगत्को विकास परिवर्तनमुखी विशेषतामा केन्द्रित रहन्छ। यसो भन्दैमा हामीले ‘अहम् ब्रह्मास्मि’ भन्ने सार बिर्सनुपर्छ र ‘दासोअहम्’ बन्नुपर्छ भन्ने पनि होइन। माक्र्सले भनेभैmँ दर्शन पनि समयको बौद्धिक सारतत्व नै हो। विचारभित्रको डिस्कोर्स (सङ्कथन) पनि समयानुसार बदलिन्छ। सुशिक्षा सिकाउने संस्कृतिको सारभित्र डुबुल्की मार्न छोड्दा हामीले राजर्षि जनकको कथालाई कथा मात्रै मान्यौँ। बुद्धको अहिंसा र त्यागलाई संसार त्याग्नैपर्ने सन्देश ठान्यौँ। जीवन र जगत्को विमर्शमा पसेर नैतिक आदर्शवादी राजनीतिक सुशिक्षाको जग बसाल्नै सकेनौँ। परिणामतः राजनीतिभित्र खिचातानी बढ्यो, स्वार्थ हाबी भयो, अनुशासन भएन, लोभानी–पापानी बढ्यो। परिवारवादका कारण क्षमतावान् नै पाखा लागे। केही पाउने आशामा चाकडीबाज अद्यापि नवीन रूपमा विकसित भइरहेकै देखिन्छ। वस्तुतः राजनीति राजनीतिजस्तो भएन।
अन्ततः कार्ल माक्र्सले उठाएको दर्शन (द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद), राजनीतिक अर्थशास्त्र (उत्पादन, वितरण, विनिमय र उपभोग) तथा वैज्ञानिक साम्यवादलाई हाम्रो माटो सुहाउँदो सुशिक्षाले मात्रै सम्भव तुल्याउँछ। युगीन आवश्यकतामा आधारित भएर नयाँ र प्रगतिशील विचारमा मानव समाजले विश्वदृष्टि बनाउँदै अघि बढ्ने भए पनि मानवीय प्राकृतिक धर्म भनेकै खुसी र सुखी हुने हो। समाजलाई सुशासनको डोरोमा बाँध्ने सामाजिक आदर्शताको स्वतन्त्र चिन्तनलाई विकसित तुल्याउने हो। जीवन र जगत्को आशावादी चिन्तनमा विशेषतः पृथ्वीलाई स्वर्ग बनाउने र यहाँका मानिस देवता बन्नुपर्ने सारवस्तुलाई चाहिँ रोज्नुपर्ने आवश्यकता छ।
भौतिकवादको निराशा र अध्यात्मवादको आशाबीचबाट जन्माइनुपर्ने सामाजिक डिस्कोर्स (सङ्कथन)मा मात्रै व्यक्ति र समाजमुखी सुशिक्षाको युगीन विनिर्माण सम्भव हुन्छ। यसर्थ हिजोलाई हेरेर गाली गर्ने र विभेदको सङ्कीर्ण सोचभित्रै रुमल्लिने चिन्तनभन्दा माथि नउठेसम्म वर्तमान राजनीतिक पद्धतिभित्र संस्थागत भएको फोहोरलाई धुन सकिँदैन । आत्मनिर्भरता र रोजगार सिकाउने माटो सुहाउँदो योजनाका लागि समीक्षा भएमा समाजभित्र सुशासनको संस्कार सम्भव हुन्छ। यसर्थ सस्तो लोकप्रियताभन्दा माथि आदर्श राजनीतिकर्मी बन्न चाहने जो कोहीसँग योजनाबद्ध सुशासनको दिगो र प्रभावकारी वाचा हुनुपर्छ।