• १६ भदौ २०८१, आइतबार

कैदीबन्दीका लागि कारागारमा छुट्टै मतदान केन्द्र

blog

कारागार कार्यालय लमजुङ । तस्बिरः बेलिना थापा, लमजुङ समाचारदाता ।

बेलिना थापा

लमजुङ, कात्तिक २४ गते । अघिल्लो निर्वाचनमा मतदानबाट वञ्चित कैदीबन्दीले यसपटक प्रतिनिधि सभातर्फ राजनीतिक दललाई मतदान गर्न पाउने भएका छन् ।

मतदान गर्न कैदीबन्दीका लागि जिल्ला कारागार कार्यालय, लमजुङमा अस्थायी मतदान केन्द्र रहने भएको छ । यस्तै निर्वाचनमा नखटिने कर्मचारी, सदरमुकाम केन्द्रित कर्मचारीले जिल्ला समन्वय समितिको अस्थायी मतदान केन्द्रमा मतदान गर्न सकिने जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार फोटोसहितका मतदाता नामावलीमा नाम सङ्कलन भएका १६ जना कैदीबन्दी यसपटकको निर्वाचनमा भाग लिनेछन् । कर्मचारी, सुरक्षाकर्मीलगायत ६४० जनाको नामावली आएको र यो बढ्न सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

कर्मचारी, सुरक्षाकर्मी, संस्थानका कर्मचारीले निर्वाचनमा भाग लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । सूचीकृत भएका कर्मचारी, सुरक्षाकर्मीलगायतले आफू खटिएकै ठाउँको मतदान केन्द्रबाट सङ्घीय संसद्का लागि समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताउनुभयो ।

आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा समानुपातिकतर्फ अस्थायी मतदाताले मतदान गर्न पाउने व्यवस्था यसपटक गरिएको छ । अस्थायी मतदाताले अन्य मतपत्रमा भने मतदान गर्न नपाउने मतदाता नामावली ऐन, २०७३ को दफा ३० मा व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङका सूचना अधिकारी जिबाखर शर्माले बताउनुभयो ।