• १६ भदौ २०८१, आइतबार

गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्न जरुरी

blog

गणेशमान प्रति श्रद्धासुमन व्यक्त गर्दै संंविधान सभा सदस्य रामचन्द्र पोख्रेल । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक २४ गते । नेपाली कांग्रेसका सस्थापक नेता तथा जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर लौहपुरुप गणेशमान सिंहले देखाएको मार्गमा हिँडेर नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउनुपर्ने धारणा वक्ताहरुले व्यक्त गरेका छन् । गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समिति दमौली, तनहुँद्वारा व्यास नगरपालिका–२ गणेशमानचोकमा गरिएको सिंहको १०८ औं जन्मजयन्ती कार्यक्रममा वक्ताहरुले सो कुरामा बताएका हुन् । गणेशमान सिंहको जस्तो पदको लोभ नगरी त्यागको भावना लिएर अघि बढ्न जरुरी रहेको कुरा अधिकांशको जोड थियो । 

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा उहाँलाई लिइन्छ तर आफू भन्दा पार्टी र देश ठूलो हुन्छ आवश्यक पर्दा त्याग गर्नुपर्छ भन्ने बिर्सने वक्ताहरुको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र पोखरेलले गणेशमान सिंहलाई सम्झिने तर उहाँले देखाएको मार्गमा नहिँड्दा पार्टी कमजोर भएको बताउनुभयो ।


पदभन्दा पार्टीलाई ठूलो ठानेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । काँग्रेस १४ औं महाधिवेशनमा पद प्राप्त गर्न म मात्रै योग्य छु भन्ने भावना त्याग गर्नुपर्ने पोखरेलले बताउनुभयो । टिकट नपाएका व्यक्तिहरुले पनि गणेशमानले जस्तै त्यागको भावना राखेर पार्टी बलियो बनाउने मार्गमा हिँडेर आफ्ना उम्मेदवारलाई जिताउन लाग्नुपर्ने उहाँको भनाइ थियो । 

नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा गणेशमानले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेको उदाहरण दिँदै उहाँले यसबाट पाठ लिनुपर्ने बताउनुभयो ।

नेपालको नेपाली जनताले साथ दिएर अगाडि बढेर निरन्तर संघर्ष गर्दै पञ्चायतका कठिन दिनमा स्वतन्त्रता र न्यायको लागि लडेकाले दलित, महिला, जनजाति पिछडिएको समुदायले सम्मानजनक अधिकार प्राप्त गरेको उहाँको भनाइ थियो । 

गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समितिका कार्यबाहक अध्यक्ष रामचन्द्र बस्नेतले ससाना कुरामा नअल्झिकन अवसर र चुनौतीलाई सदुपयोग गर्दै सशक्त बनाएर पार्टी हाक्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा समितिका सचिव समुन्द्र गोदारलगायतले गणेशमानलाई एकदिन मात्रै सम्झिएर नहुने र प्रत्येक पल सम्झिएर उहाँको पाइला पछ्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।