• १६ भदौ २०८१, आइतबार

ऐतिहासिक बस्तीको संरक्षणमा सरकार लाग्नेछ : मन्त्री भुसाल

blog

खाेकना र बु‍‌गमतिमा घरदैलाेमा मतदातासँग कुराकानी गर्नुहुँदै मन्त्री भुसाल ।

गाेरखापत्र अनलाइन

ललितपुर, कात्तिक २४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक र पुरातात्विक खोकनाको बस्ती संरक्षणमा लागिपर्ने बताउनुभएको छ । ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका मन्त्री भुसालले ललितपुर महानगरपालिका वडा नं २० स्थित खोकना क्षेत्रको घरदैलोमा उहाँले जनताको पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

आफूले खोकनाको ऐतिहासिक बस्ती संरक्षणमा निरन्तर आवाज उठाएको स्मरण गर्नुहुँदै उहाँले पुरातत्व विभागले सो क्षेत्रको अध्ययन गर्ने र नेपाल सरकारले संरक्षण गर्नेपुर्ने कुरामा जोड दिनुभयो ।

खोकना नेपालको इतिहासको पहिलो व्यवस्थित बसोबास भएको ठाउँका रुपमा छ । खोकनाभित्र ४०/५० रोपनी क्षेत्रमा कुदेसा भन्ने ऐतिहासिक ठाउँ छ । जुन एक हजार २०० वर्ष पहिलाको व्यवस्थित बसोबासको अवशेषका रुपमा रहेको पुरातत्वविद्को भनाइ छ ।


उहाँले विकासनिर्माणका नाममा खोकना क्षेत्रमा रहेका सिकाली मन्दिरलगायत ऐतिहासिक संरचनालाई प्रभाव पार्न नहुने बताउनभुयो । यहाँको ऐतिहासिक संरचना ओझेलमा पर्छ कि भनेर खोकना क्षेत्रका जनताको चिन्तालाई आफूले नजिकबाट नियालेको भन्दै उहाँले खोकनाको ऐतिहासिकतामाथि दखल पुग्ने योजना परिमार्जन गर्ने गरी सबैले सोच्नुपर्ने बताउनुभयो ।


उहाँसँगै नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेशसभा (ख)का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठ घरदैलोमा सहभागी हुनुहुन्थ्यो । सो अवसरमा उहाँले ललितपुरको विकास र आर्थिक समृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ऐतिहासिक बस्तीको संरक्षण र प्रवर्धन गर्दै विकासका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले आगामी दिनमा वाम–लोकतान्त्रिक गठबन्धनका दलसँग सहकार्य गरेर विकासका कार्यक्रम तय गरिने विश्वास दिलाउनुभयो । 

त्यसैगरी, मन्त्री भुसाल र सभापति श्रेष्ठले ललितपुर महानगर वडा नं २२ को बुंगमती क्षेत्रमा घरदैलो गर्नुभएको थियो । घरदैलोका क्रममा उहाँहरूले बुंगमती बसपार्क, साँचो टोल, रातो मच्छिन्द्रनाथ, मच्छिन्द्रबहाल हुँदै फर्सीडोलसम्म पुगी मतदातासँग अन्तरक्रिया गर्नुभएको थियो ।