अघिल्लो चार वर्ष अमेरिकी मिडियाले ‘फेक मिडिया’ को उपाधि पाए। सायद विश्वको शक्ति सम्पन्न देश अमेरिका र त्यहाँका पनि राष्ट्रपतिले नै प्रयोगमा ल्याएकाले होला यो वाक्यांश संसारमा नै प्रयोगमा आयो। खासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वाक्यांशको प्रयोग गर्नुभएको थियो, अमेरिकी मिडियाहरूका लागि। उहाँले नै अमेरिकाका सबै (एकाधबाहेक) का मिडियालाई यो नामले बोलाउनुहुन्थ्यो। भाषण गर्न गयो कि उहाँले ‘फेक’ मिडियाबाट सुरु गर्नुहुन्थ्यो। पछि पछि त उहाँले फेक मिडिया अवार्ड नै स्थापना गरेको घोषणा पनि गर्नुभयो। र जसले बढीभन्दा बढी फेक (गलत समाचार) सम्प्रेषण गर्न सक्छ उसैलाई सो अवार्ड दिने घोषणा पनि गर्नुभएको थियो।
कारण के थियो त ? अमेरिकी राष्ट्रपतिजस्तो विश्व राजनीतिमै प्रभाव राख्ने शक्तिशाली व्यक्तिले मिडियालाई यस्तो उपाधि दिनुपर्ने कारण र तर्क थिए। आफू उम्मेदवार रहेको राष्ट्रपतीय निर्वाचनको प्रचारका समयमा अमेरिकाका कुनै पनि ठूला मिडियाले आफूलाई जित्छ भनेर लेखेनन् या सम्प्रेषण गरेरनन् भन्ने नै उहाँको तर्क थियो। पछि उहाँले चुनाव जित्नुभयो। उहाँले राष्ट्रपतिको उम्मेदवारीको प्रचार गरिरहँदा पनि आफूले जित्ने दाबी गर्दै गर्दा पनि कुनै अमेरिकी मिडियाले आफ्नो पक्षबाट समाचार सम्प्रेषण नगरेको गुनासो गरिरहनुहुन्थ्यो। उहाँका गुनासाहरू भने मिडियाले प्राथमिकताका साथ सम्प्रेषण गर्ने गर्दथे। चुनावमा उठेको जोसुकैले पनि आफूले निर्वाचन जित्ने दाबी त गरिहाल्छ नि भन्ने कोणबाट मिडियाले प्रचार गर्ने गर्दथे। जब उहाँले निर्वाचन जित्नुभयो, त्यसपछि उहाँको पहिलो निशाना नै मिडिया बन्यो। अनि उहाँले फेक मिडियाको उपाधि दिनुभयो। आफूलाई अमेरिकी नागरिकले मत दिन तयार रहेका तर मिडियाले भने आफूलाई कुनै पनि हालतमा जित्दैन भनेर प्रचार मात्र गरेकाले अमेरिकी मिडिया अमेरिकी नागरिकको मनसम्म पुग्नै नसकेको उहाँको तर्क थियो। जब कुनै मिडियाले जनताको मनमुटुमा पुगेर, जनताका कुरा बुझेर, उनीहरूको भावनालाई मुखरित गरिदिन सक्दैन र सतही बन्छ त्यो मिडिया फेक मिडिया हो भन्ने नै उहाँको तर्क थियो।
उहाँ राष्ट्रपति रहुञ्जेल उहाँ र अमेरिकी मिडियाबीच एक प्रकारको वाक्युद्ध कायमै रह्यो। मिडियाले उहाँलाई खेद्ने, उहाँले फेक मिडिया भन्ने। यसरी विश्वमा नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको हक, प्रजातन्त्र र नागरिक अधिकारको वकालत गर्ने अमेरिकी मिडियाले त्यस देशको सर्वाेच्च व्यक्तिबाट निरन्तर चार वर्षसम्म नै यो उपाधि पाइरह्यो। यो दुःखद पक्ष हो। हामी सात समुद्रपारिका मानिसहरूले त्यहाँको त्यो द्वन्द्वलाई कसरी लिने ? यहाँका मिडियाकर्मी तथा राजनीतिज्ञले पाँच वर्षअघिको त्यो बहसबाट के सिक्ने ? यस्तो बहसलाई निर्वाचनका बेला स्मरण गर्दा हानि नहोला। मिडियाले चुनावका बेला कुनै पनि उम्मेदवारको आवाज दिँदा सकेसम्म बराबरी स्थान दिने प्रयत्न गर्नुपर्छ। किनभने चुनावका बेला सानो र ठूलो दल नहोस् भनेर नै संसद् विघटन गरेर चुनावमा जाने अन्तर्राष्ट्रिय प्रचलन छ। संसदीय शासन प्रणालीमा ठूलो र सानो दलको मापन गर्ने संसद्मा कुनै दलको सिट सङ्ख्याले नै हो। त्यसैले संसदविहीन अवस्थापछि मात्र नयाँ संसद्को निर्वाचन सुरु गर्ने गरिन्छ।
तर यति गर्दा पनि ठूला दलका धेरै कुरा त मिडियामा आइ नै हाल्छन्। त्यसको कारण जनमत हो। किनभने हिजोको संसद्मा ठूलो दलको राष्ट्रिय सञ्जाल पनि ठूलो हुन्छ र जनताका निर्वाचन केन्द्रित क्रियाकलाप बढी नै हुन्छन्। दलले र दलका कार्यकर्ताले आयोजना गर्ने ती ‘इभेन्ट’का समाचार दिँदा पनि मिडियामा ठूला दलका आवाज बढी आउँछन् त्यो स्वाभाविक हो। यो अवस्थालाई पत्रकारिताले जनमतको स्थान अर्थात् जनताको आवाज भनेर परिभाषित गरेको हुन्छ। त्यसो हुँदा पनि मिडियाले सन्तुलन गर्न त खोजेकै हुन्छ। जस्तो कि छ सयभन्दा बढीको संविधान सभामा पनि राजतन्त्रको पक्षका तथा मुलुक सङ्घीयतामा जानु हुँदैन भन्ने एकाध जनप्रतिनिधिका आवाज पनि मिडियाले लुकाउँदैनथ्यो। त्यति धेरै सदस्य रहेको संविधान सभाबाट एकाधको आवाज बाहिर आउँथ्यो र जनतासमक्ष पनि पुग्थ्यो। यो जमिनमा उभिएर हेर्दा ट्रम्पले आफूलाई चुनाव हार्छ भनेर समाचार दिने मिडियालाई नै फेक मिडियाको उपाधि दिनु भनेको प्रजातान्त्रिक शासन व्यवस्थाको एक उच्चतम अतिवादी अभ्यास हो।
मिडियाले सत्यतथ्य लेख्छ तर सबैलाई खुसी पारेर लेख्न सक्दैन। मिडियाको आधारभूत आचारसंहिता पनि हो यो। यो तथ्यलाई मिडियाबाहेकका अरू सबैले र विशेषगरी राजनीतिकर्मीले बुझ्नु जरुरी छ। यस्तो सङ्कट नेपाली मिडियालाई पनि विगतमा नपरेको होइन। तत्कालीन नेकपा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्ति प्रक्रियामा समाहित भयो र त्यसको पहिलो सर्त संविधान सभाको निर्वाचन बन्यो। वि.सं २०६४ मै संविधान सभाको निर्वाचन भयो। अघिपछिजस्तै चुनावका बेला नेपालका मिडियाले पनि कसले चुनाव जित्छ भन्ने आकलन गरे नै। तर कसैले पनि भन्न सकेका थिएनन् पहिलो पार्टी माओवादी बन्छ भनेर। नेपालका सबै मिडियाको एउटा साझा विश्लेषण थियो– पहिलो पार्टी कांग्रेस, दोस्रोमा एमाले र तेस्रोमा माओवादी। अझ कतिपयले त द्वन्द्वका समयमा भएका ज्यादतीले जनता रुष्ट रहेकाले प्रचण्ड बाबुरामहरूले नै कसरी निर्वाचन जित्लान् भन्नेसम्मको पनि विश्लेषण गर्ने गर्दथे। त्यस समयमा नेपाली मिडियाका सामु एक प्रकारको सङ्कट आइलागेको थियो। माओवादीहरूले शान्तिपूर्ण संसदीय राजनीतिको बाटो रोजिसकेकाले उनीहरूलाई यसमा प्रवेश गराई मुलुकमा शान्ति स्थापना गराउनु थियो। त्यसैले उनीहरू निर्वाचन हार्दैछन् भनेर कतै भड्किने त्रास पनि थियो। उनीहरूलाई निर्वाचनमा लैजानु नै थियो तर मिडियाले सबैभन्दा ठूलो पार्टी माओवादी बन्दैछ भनेर लेख्न सक्ने अवस्था पनि थिएन। एकथरि माओवादी नेताहरू निर्वाचनमा जनताले कत्तिको पत्याउने हुन् भनेर चुनावमा जान डराइरहेको अवस्था पनि थियो। त्यसैले देशका सबै राजनीतिक दल र मिडियाले मुलुकमा शान्ति स्थापनाका लागि माओवादीलाई चुनावमा सहभागी गराउनैपर्ने दायित्वमा थिए। माओवादी चुनावमा पनि गयो र पहिलो पार्टी भयो। यसरी हेर्दा त्यस समय नेपाली मिडिया पनि नेपाली जनताको मनमा पुग्न नसकेकै हो।
वास्तवमा चुनावमा कसले जित्छ भनेर अनुमान गर्नु मिडियाका लागि एउटा ठूलो चुनौती नै हो। चुनावका बेलामा जनताका मनमुटुमा पुग्नु भनेको उम्मेदवारलाई भन्दा पनि गाह्रो काम हो मिडियाका लागि। हिजोका माथिका जस्तै यसै वर्षको पनि हामीसँग ज्वलन्त उदाहरण छ, काठमाडौँ महानगरको चुनावको। बालेन साहको उदय सायद न मिडिया र न त सतही रूपमा हेर्दा नागरिकले नै अनुमान गरेका थिए। फेरि हरेक चुनावका आयाम र अवस्था फेरिँदै जान्छन्। अहिलेको चुनावमा यस्तो अवस्था देखा पर्दैछ कि जनताले जे भन्छ त्यो गर्दैन। दलका, उम्मेदवारका र मिडियाका अघि राखेको अभिमतअनुसार जनताले मत हाल्ने बेलामा नगर्न सक्छ। नेताले जनतासँग दिनहुँ ढाँट्छन् भने हामीले ढाँट्न किन नहुने भन्ने मानसिकतामा कतै जनता पुगेका छन् कि ? त्यसैले मिडियाका अनुमानको सही परिणाम नआउन सक्छ। त्यसैले मिडियाले फेक मिडियाको उपाधि पाउने डर हुन्छ भनेर बुझ्न सक्नुपर्छ।
निर्वाचनका बेला जनताले आफ्ना उम्मेदवारसँग मिडियामार्फत भेट्छन्। मिडिया, मतदाता र उम्मेदवारको बीचमा असन्तुलन आएमा सूचना सही नहुन सक्छ। मिडियाको काम पहरेदारको हो। नागरिकले चुनावको सूचना आफ्ना उम्मेदवारबाट भन्दा बढी मिडियामार्फत नै प्राप्त गर्दछन्। उम्मेदवारका योग्यता र योजना तिनका मतदातासमक्ष पु-याउन र जनताका गुनासा र मागहरूलाई उनीहरूका उम्मेदवारसमक्ष पु¥याउन सबैभन्दा प्रभावकारी माध्यम नै मिडिया हुन्। त्यसैले पनि निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन मिडिया जत्तिको अरू कोहीले सघाउन सक्दैन। यो तथ्य निर्वाचनमा संलग्न हुने सबैले बुझ्नु जरुरी छ।
मिडियाको शक्ति उसको व्यावसायिकता र निष्पक्षतामा छ। कुनै एक व्यक्ति या पार्टीमा केन्द्रित भएर उसैले मात्र चुनाव जित्छ भन्ने आशयका मात्र समाचार दिनेहरूको बिगबिगी यो चुनावमा पनि देखापरेकै छ। आज हामीले सम्प्रेषण गरिरहेका समाचारहरू मङ्सिरको पहिलो साता हेरेर, पढेर नागरिकले प्रश्न गर्ने अवस्था आयो भने त्यो मिडिया हाउसको विश्वसनीयतामा सधैँ प्रश्न उठ्नेछ। त्यसैले कुनै पनि पत्रकारलाई कुनै एउटा पनि गल्ती गर्ने छुट छैन। कुन समाचार प्रभाव र दबाबबाट उत्पादन र वितरण भएको छ भन्ने कुराको राम्रो जानकारी अबका पाठकहरूले राख्न थालेका छन् भन्ने तथ्यको हेक्का अहिलेका सञ्चारकर्मीले बुझ्नु जरुरी छ। मङ्सिर ४ गते त मतदान मात्र गर्ने हो, चुनाव अहिले भइरहेको छ भन्ने विषयलाई हरेक सञ्चारकर्मीले बुझ्नु जरुरी छ। किनभने राज्यको पहरेदारका रूपमा मिडियाले दिन सक्ने सिर्जनात्मक सहयोग र खबरदारी दिने समय अहिले नै हो र यतिखेरका महत्वपूर्ण सूचनाबाट राज्यले पनि आफ्ना कोर्ष करेक्सन गर्न सक्ने सम्भावना रहन्छ। भनिन्छ, न्यायाधीशपछि सबैभन्दा धेरै झुट कुरा सुन्नुपर्ने पेसा भनेको पत्रकारिता हो। जसरी न्यायाधीशले कुनै एउटै मुद्दामा पनि हो र होइन भन्ने अनेकथरी बाङ्गाटिङ्गा बहस चुपचाप सुनिरहनुपर्छ, त्यसैगरी पत्रकारले पनि सबै पक्षका भए नभएका दाबीहरू सुन्नु नै पर्छ। तर तिनै झुटको थुप्रोबाटै सही र गलत छुट्याउन सक्ने क्षमता पनि तिनै पत्रकारसँग हुनुपर्छ। यस्तो झुठको खेती पनि प्रायः चुनावकै बेलामा हुने गर्दछ। किनभने चुनाव भनेको नयाँ सरकार बनाउने प्रक्रिया हो। नेपालजस्ता तेस्रो विश्वका मुलुकका लागि सरकारको महत्व कति छ भन्ने कुराको व्याख्या हामीले देखे भोगेकै कुरा हो, जसको व्याख्या यहाँ कुनै एक आलेखमा मात्र सम्भव छैन। यही महत्वका कारण पनि सत्ता हत्याउन प्रयोग हुने अनेक खेलको सारथि मिडिया पनि बनाइन सक्छ। प्रायः चुनावका समयमा नै झुटको बाढी आउने गर्दछ र त्यसको पुष्टिका लागि अधिक प्रयोग हुने भनेको मिडिया नै हो।