• १६ भदौ २०८१, आइतबार

उद्योगग्राम स्थापना गरेर रोजगारी उपलब्ध गराउँछौँ : वरिष्ठ नेता पौडेल

blog

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेल । फाइल तस्बिर

तनहुँ, कात्तिक २३ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले जिल्लामा उद्योगग्राम र औद्योगिक स्थापना गरेर रोजगारीको व्यवस्था मिलाइने बताउनुभएको छ।

जिल्लाको भानु नगरपालिका-१३ पोखरीछापमा आज आयोजित कार्यक्रममा उहाँले कृषि, पर्यटन र ऊर्जाको विकास गरेर उद्योगग्राम र औद्योगिक क्षेत्रको स्थापना गरी लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने आफ्नो योजना रहेको बताउनुभयो।

नेता पौडेलले गाउँ-गाउँमा साना-ठूला कृषिजन्य र अन्य उद्योग स्थापना गराई स्वदेशमै रोजगारी, गाउँ-गाउँमा आम्दानीको अवसर सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो। धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष प्राथमिकता दिँदै आन्तरिक एवं बाह्य पर्यटक भित्र्याएर पर्यटन क्षेत्रमा फड्को मार्ने योजना अघि बढाइएको उहाँले बताउनुभयो। 

गठबन्धन मुलुकलाई अग्रगमनतिर लैजान गरिएको बताउँदै उहाँले प्रतिगामीलाई परास्त गर्न, सहिद तथा सपूतको बलिदानी, त्याग र तपस्यालाई साकार बनाउन गठबन्धन गरिएको बताउनुभयो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन आवश्यकता देखिएकाले गठबन्धन गरी देशलाई निकास दिन सँगसँगै लागेको नेता पौडेलले जोड दिनुभयो।

“मैले ल्याएको केही विकासका योजना अधुरा रहेकाले त्यसलाई पूरा गर्ने बाचासहित तपाईँहरूको घरदैलोमा आएको हुँ”, उहाँले भन्नुभयो, “यसपटक गठबन्धनका उम्मेदवारलाई बहुमत दिएर जिताउन आग्रह गर्दछु।” रासस