• १३ साउन २०८१, आइतबार

बैंक ब्याजदर परिमार्जनको माग गर्दै कोहलपुरका उद्योगी व्यवसायी सडकमा

blog

विभिन्न प्लेकार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएका कोहलपुरका उद्योगी व्यवसायी । तस्विर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, कात्तिक २३ गते । बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरले अधिकांश उद्योगी व्यवसायीहरु सडकमा आउने परिस्थिति सिर्जना भएको हुँदा ब्याजदर घटाउन माग गर्दै कोहलपुरका उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । 

कोहलपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आ–आफ्ना उद्योग व्यवसाय बन्द गरेर बुधबार कोहलपुरका सबै उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् । 

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै विरोध प्रदर्शन गरिएको कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मणराज पौडेलले बताउनुभयो । 

उहाँले बैंक तथा वित्तीय संस्थाको व्यवसायीप्रतिको व्यवहार र ब्याजदरले उद्योग व्यवसाय धराशायी भएको जनाउँदै आन्दोलनको विकल्प नरहेकाले बाध्य भएर सडकमा आउनुपरेको बताउनुभयो । 

सङ्घकाे सो आन्दोलन र विरोध प्रदर्शनमा विभिन्न व्यवसायी सङ्घसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् । 

सो प्रदर्शन र सभामा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य चक्र अधिकारी, कोहलपुरका मेयर पूर्ण आचार्य, कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पाैडेल, घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधिलगायत विभिन्न उद्योगी व्यवसायीले तत्काल सरकारले हस्तक्षेप गरेर ब्याजदर र चालु पुँजी कर्जा निर्देशिका २०७९ लाई परिमार्जन गर्नुपर्ने माग गर्नुभयो । 

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति एवम् चालु पुँजी कर्जा निर्देशिका २०७९ ले व्यवसायीहरुलाई धराशयी बनाउँदै बैंक वित्तीय संस्थाहरुको हितमा मात्र भएकाले अविलम्ब परिमार्जन नभएसम्म आन्दोलनलाई चरणबद्व रुपमा जारी राख्ने सङ्घका अध्यक्ष पौडेलको भनाइ छ । 

यसअघि मङ्गलबार सङ्घको कार्यालयमा बसेको बैठकले बुधबार कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य चक्र अधिकारीले बैंक वित्तीय संस्थाहरुले मनपरी रुपमा ब्याजदर वृद्वि गर्ने परिस्थिति सरकारले सिर्जना गरेकाले सरकारले नै यसमा तत्काल रोक लगाउनुपर्ने माग गर्नुभयो ।