• १३ साउन २०८१, आइतबार

डाेटी भूकम्पका कारण बैतडीमा चर्किए घर

blog

भूकम्पले चर्किएको बैतडी, पाटन नगरपालिकाको कृषि शाखाको भवन । तस्बिर – गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, कात्तिक २३ गते । गएराति आएको भूकम्पका कारण बैतडीका विभिन्न स्थानमा घरहरु चर्किएका छन् । पुराना तथा जीर्ण घरहरु चर्किएका छन् भने कतिपय ठाउँमा नयाँ घरहरुमा समेत चिरा परेकाे छ। 

भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखाको भवन चर्किएको नगरपालिका कृषि शाखा प्रमुख महेश अवस्थीले जानकारी दिनुभयो । भूकम्पका कारण दशरथचन्द नगरपालिका–१ का विभिन्न स्थानमा घरहरुमा चिरा परेकाे स्थानीय महेश भट्टले बताउनुभयो । 

राति २ बजेर १२ मिनेटमा डाेटीकाे खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का बैतडीमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण डोटीको पूर्वीचौकीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । 

यता, जिल्ला प्रहरी कार्यालयले भने भूकम्पका कारण क्षति भएको विवरण नआएको जनाएको छ । क्षतिको विवरण नआएको भूकम्पछि पराकम्पनहरु आउने भएकाले सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ ।

भूकम्पमा बेला बैतडी सदरमुकाममा सुरक्षित स्थान छैन   

सुदूरपश्चिमको बैतडी, दार्चुला, बझाङ, डोटीलगायतका जिल्लामा पटक–पटक ४ देखि ६ रेक्टर स्केलभन्दा माथिका पराकम्पन आउने गरे पनि भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी घर बन्न सकेको छैन । 


बैतडी सदरमुकामको मुख्य बजार गोठालापानीदेखि शाहीलेक हुँदै गढीसम्म करिब एक हजार भन्दा बढी पक्की घरहरु निर्माण भए भूकम्प प्रतिरोधी घर जम्मा तीन वटा मात्रै रहेको दशरथचन्द नगरपालिका बैतडीका इन्जिनियर जयसिंह बोहराले बताउनुभयो । 

उहाँले भन्नुभयो,“ बैतडी सदरमुकाम भूकम्पको उच्च जोखिममा छ । भूकम्प आयो भने गोठालापानी बजारमा भाग्ने ठाउँसमेत छैन । नगरपालिकाले नयाँ घर निर्माण गर्दा अनिवार्य नक्सा पास गर्न भने पनि आफूखुसी घर बन्ने गरेका छन् । भूकम्प दिवसका दिन मात्रै जोखिमको चर्चा हुने गरेको छ । व्यवहारतः भूकम्प प्रतिरोधी घर बन्न सकेका  छैनन् ।” 

बैतडी सदरमुकाम गढी, गोठालापानी र शाहीलेक बजार क्षेत्रका घर भूकम्पको जोखिममा रहे पनि थप बन्न लागेका घर पनि बाटो मिचेर झन् जोखिम बढाइरहेको उहाँले बताउनुभयो ।

२०७२ सालको भूकम्पपछि दशरथचन्द नगरपालिकाले अनिवार्य घरको नक्सा पास गराएर मात्रै नयाँ भवन निर्माण गर्ने नीति सार्वजनिक गरे पनि कार्यान्वयन हुन सकेको छैन । नगरपालिकाकै जग्गा र बाटो मिचेर घर निर्माण भइरहँदा पनि जनप्रतिनिधिको ध्यान जान सकेको छैन ।