• १९ असोज २०८१, शनिबार

भूकम्प पीडितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

blog

काठमाडौँ, कात्तिक २३ गते । गृहमन्त्री बालकृष्ण खाणले गए राति डोटीको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँमा केन्द्रबिन्दु बना  गएको भूकम्पमा परी घाइते भएकाहरूको यथाशीघ्र अस्पतालसम्म पुर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
उहाँले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई भन्नुभएको छ । गृह सचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार गर्न निर्देशन दिनुभएको हो । गृहमन्त्री खाणले घाइतेहरूको अवस्था र अहिले उनीहरूलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिनुभएको छ । 
उहाँले भूकम्पमा परेर प्रभावित भएकाहरूलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा तत्कालका लागि वासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ । भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६ जना नै घाइते भएका छन् । भूकम्पमा परी मृत्यु भएकाहरूको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गृहमन्त्री खाणले हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।