• १३ साउन २०८१, आइतबार

‘प्रचारमा बन्देज छैन’

blog

अमरगढी समाचारदाता

डडेल्धुरा, कात्तिक २३ गते । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई प्रचारप्रसारमा कुनै बन्देज नलगाएको प्रस्ट पारेको छ। 

जिप्रकाले विज्ञप्ति जारी गर्दै आचारसंहिताको पूर्ण पालनासाथ राजनीतिक दल र उम्मेदवारले गर्ने प्रचारमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नगरिएको प्रस्ट पारेको छ।

जिप्रकाका प्रशासकीय अधिकृत हेमप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आचारसंहितामा व्यवस्था भएबमोजिमका प्रचार कार्य र स्थानीय प्रशासनलाई जानकारी गराई सञ्चालन गरिने घरदैलो, सभामा उम्मेदवार र राजनीतिक दलका नेताको आवश्यक सुरक्षाको प्रत्याभूति गरिनेछ।”

जिल्ला सदरमुकामस्थित तुफानडाँडा चोकमा सोमबार साँझ अमरगढी नगरपालिका–१, मालमका युवा समूहले माइकिङ गरेका थिए। उनीहरूले माइकिङ गरेर आफ्नो क्षेत्रको विकास भए मात्रै निर्वाचनमा सहभागी हुने र भोटको सदुपयोग हुनुपर्ने माग राखिरहेका थिए। सार्वजनिक क्षेत्रमा प्रशासनको अनुमतिबिना कार्यक्रम गर्न थालेको र केही उम्मेदवारविरुद्ध गालीगलौजसमेत गरेको गुनासोपछि प्रहरी टोली तुफानडाँडा पुगेको बताइन्छ। मालमका युवालाई सम्झाउने क्रममा स्वतन्त्र उम्मेदवार सागर ढकालको टोली पनि माइकिङमा प्रचार गर्दै सो ठाउँ आइपुगेका थिए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार तुफानडाँडा पुग्नुअघि नै सो युवा समूहलाई बागबजारस्थित प्रहरी टोलीले सवारीसाधनमा माइक जडान गरी प्रचार गर्न नपाइने भन्दै सम्झाएको थियो। तर, मालम क्षेत्रका युवालाई सम्झाउने क्रममा सागरको टोली त्यहाँ पुगेर प्रहरीसँग वादविवाद गर्न थालेको थियो। 

उहाँले भन्नुभयो, “यसअघि भागेश्वर गाउँपालिकामा पनि ढकालले निर्वाचन आचारसंहिताविपरीत माइकिङ गरेर प्रचार गरेको मौखिक उजुरीपछि निर्वाचन कार्यालय र प्रशासनको टोलीले उहाँलाई सम्झाएको थियो।”