• १६ भदौ २०८१, आइतबार

सिन्धुली–१ मा द्विपक्षीय स्पर्धा

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, कात्तिक २३ गते । सिन्धुली जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को चुनावी वातावरण तात्न थालेको छ। 

यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले)को २५ वर्षे विरासत भत्काउने दाउमा नेपाली कांग्रेस लागेपछि निर्वाचनको वातावरण निकै रोचक बन्दै गएको छ। उक्त निर्वाचन क्षेत्रमा अहिले सत्तारूढ गठबन्धनबाट कांग्रेसका श्यामकुमार घिमिरे र एमालेबाट प्रदीपकुमार कटुवाल प्रतिस्पर्धामा हुनुहुन्छ। 

यस निर्वाचन क्षेत्रमा चार स्वतन्त्रसहित १३ उम्मेदवार चुनावी मैदानमा छन्। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. २ मा बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका कटुवालले कांग्रेसका घिमिरेलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको थियो। 

उनै पुराना प्रतिस्पर्धीबीच यो पटक प्रतिनिधि सभा सदस्यमा आमनेसामने हुँदा कडा प्रतिस्पर्धा हुने आकलन छ। निर्वाचन क्षेत्र नं. १ मा २०४८ र २०५१ सालको मध्यावधि चुनावमा कांग्रेसका विपिन कोइरालाबाहेक हालसम्म एमालेले जित्दै आएको छ।

यस पटकको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेस केन्द्रीय सदस्य घिमिरे एमालेको २५ वर्षे विरासत भत्काउन कस्सिनुभएको छ भने एमालेका उम्मेदवार कटुवाल विरासतलाई निरन्तरता दिन लाग्नुभएको छ।

जिल्लाका कुल ७९ वडामध्ये निर्वाचन क्षेत्र नं. १ मा ४१ वटा वडा छन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतपरिणामअनुसार एमालेका वडाध्यक्षहरूले २८ हजार ६२० मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षले २८ हजार १७ मत, माओवादी केन्द्रले १३ हजार ३६९ मत र नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्षले १८७ मत पाएका थिए। 

वडाध्यक्षहरूले पाएको मतका आधारमा सत्ता गठबन्धनभन्दा एमाले १२ हजार ६५३ मतले पछाडि छ।  निर्वाचन क्षेत्र नं. १ मा एक लाख सात हजार १३६ मतदाता छन्। ७७ मतदान स्थल रहेको उक्त क्षेत्रमा १२७ मतदान केन्द्र छन्।