• १९ असोज २०८१, शनिबार

धान काट्न मजदुर अभाव

blog

देवरामप्रसाद यादव

सप्तरी, कात्तिक २३ गते ।  सप्तरीमा धान काट्ने मजदुरको अभाव भएको छ ।  धानबाली भित्र्याउन मजदुरकै भर पर्नुपर्ने र सबैजसो किसानको एकै पटक बाली भित्र्याउनुपर्ने भएकाले मजदुर पाउन मुस्किल भएको हो । मजदुरले एक बिहान धान काटेको चार सय रुपियाँसम्म लिने गरेका किसानले बताएका छन् । 

जिल्लामा धमाधम धान भित्र्याउने बेला धान काट्ने मजदुर पाउनै गाह्रो भइरहेको राजविराज नगरपालिका–१०, बिरौलका किसान हरेराम यादवले बताउनुभयो ।

युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै यस जिल्लामा हरेक पटक खेती लगाउने र भित्र्याउने बेला मजदुरको अभाव हुँदै आएको हो । 

खेतबारीमा काम गर्ने मजदुर नपाउने समस्याले खेती गर्नै मुस्किल परेको भारतीय सीमा क्षेत्रस्थित छिन्नमस्ता गाउँपालिका–३ का किसान दीपेन्द्र यादवले बताउनुभयो । अन्य जिल्लामा धान काट्ने मेसिन प्रयोग हुन थाले पनि सप्तरीमा भने त्यस किसिमको मेसिन भत्रिएको छैन । 

कृषि ज्ञान केन्द्र, सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले कामदार अभावले जिल्लामा पछिल्लो समय हरेक खेती प्रभावित भइरहेको बताउनुभयो ।