• १९ असोज २०८१, शनिबार

पुनर्बीमा कम्पनी नवौँ वर्षमा : बढ्दै छ जोखिम वहन क्षमता

blog

काठमाडौँ, कात्तिक २३ गते । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेड स्थापनाको आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीको वार्षिकोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुनर्बीमाका माध्यमबाट स्वदेशी मुद्रा बाहिरिने अवस्थालाई कम गर्नसमेत भूमिका बढाउन आग्रह गर्नुभयो ।

कम्पनीले आफ्नो हिस्सा गुमेको भन्दै चिन्ता नगर्न आग्रह गर्दै उहाँले व्यवसाय आफैँले खोजेर गर्न आग्रह गर्नुभयो । पुनर्बीमा व्यवसायले एउटा देशभित्र मात्रै बजार खोजेर नहुने भन्दै उहाँले अन्तर्राष्ट्रिय बजारको व्यवसाय नेपाल भित्र्याउनसमेत आग्रह गर्नुभयो ।

नयाँ ऐन कार्यान्वयन गर्दै बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई नियन्त्रण नभई सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै प्राधिकरणका अध्यक्ष सिलवालले कम्पनीहरूलाई नियन्त्रण नभई सहजीकरण गर्न खोजिरहेको बताउनुभयो ।

कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरेले कम्पनीले उल्लेख्य रूपमा विदेशी मुद्रा आर्जन गर्न सफल भएको जानकारी दिनुभयो । “बीमा कम्पनीहरूको जोखिम बहन क्षमतामा समेत क्रमशः वृद्धि हुँदै गएको छ,” उहाँले भन्नुभयो, “प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आन्तरिक स्रोत साधनको परिचालन र रोजगारी सिर्जनामार्फत राष्ट्र निर्माणमा सहयोग पु-याएको छ ।”

आगामी दिन पुनर्बीमा व्यवसायका लागि त्यति सहज नभएकाले थप जोखिमको सामना गर्नुपर्ने अवस्था रहेको घिमिरेले बताउनुभयो । सूचना प्रविधिको प्रयोगबाट लागत घटाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।