• १३ साउन २०८१, आइतबार

मधेशमा असी नाघेका मतदाता असी हजार

blog

राजविराज समाचारदाता 

जनकपुरधाम, कात्तिक २३ गते । मधेश प्रदेशमा मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आठ दशक उमेर नाघेका मतदाता ८० हजारभन्दा बढी छन्। 

आठ दशक नाघेका मतदातामध्ये ३९ हजार ८५९ पुरुष र ४१ हजार ६६ महिला गरी ८० हजार ९२५ जना छन्। यस प्रदेशमा उमेरको हिसाबले सबभन्दा कम ८१ वर्षमाथि समूहका मतदाता छन्। 

यहाँ कुल ३३ लाख ८६ हजार ६२८ जना मतदाता निर्वाचनमा मतदान गर्ने भएका छन्। प्रदेशमा पुरुष मतदाता १८ लाख २७ हजार ८५४ जना र महिला १५ लाख ५८ हजार ७०४ जना र अन्य ७० जना छन्। निर्वाचन आयोगले पछिल्लो २५ वर्षदेखि ८१ वर्षमाथिका मतदाता रहेको जनाएको छ। 

यसैगरी सबभन्दा बढी २६ देखि ४० वर्ष उमेर समूहका मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। यस उमेर समूहमा छ लाख ५९ हजार चार सय पुरुष, पाँच लाख ५० हजार ६३१ महिला र ३२ जना अन्य गरी १२ लाख १० हजार ६३ जना मतदाता छन्। 

त्यसपछि दोस्रो स्थानको सङ्ख्यामा ४१ वर्षमाथिदेखि ५० वर्षमुनि उमेर समूहका मतदाता छन्। यस समूहमा पुरुष तीन लाख एक हजार ९७५, महिला दुई लाख ९९ हजार ९८६ र अन्य १० गरी छ लाख एक हजार ९७१ जना मतदाता कायम भएको छ। 

यसैगरी ५१ वर्ष उमेरभन्दा माथि र ६० वर्षमुनिका मतदाताको सङ्ख्या तेस्रो स्थानमा रहेको छ। यसमा दुई लाख ६३ हजार ९६ पुरुष, दुई लाख ४७ हजार ४६८ महिला र १९ अन्य गरी पाँच लाख १० हजार ५८३ मतदाता छन्। 

त्यस्तै चौथो स्थानमा, १८ वर्षमाथि र २५ वर्षमुनिका उमेर समूहका तीन लाख ८८ हजार आठ सय छन्। जसमध्ये पुरुष दुई लाख ५९ हजार १८९, महिला एक लाख २९ हजार ६०७ र अन्य चार जना मतदाता छन् ।