• १३ साउन २०८१, आइतबार

किसान श्रेष्ठको चुनावी एजेन्डा बाराको पूर्वाधार विकास

blog

काठमाडौँ, कात्तिक २३ गते । नेकपा (एकीकृत समाजवाद) का नेता तथा प्रतिनिधिसभाका लागि बारा ४ बाट बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले चुनावी एजेन्डामा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिनुभएको छ ।

नेता श्रेष्ठले हरेक गाउँपालिका र उपमहानगरपालिका सबै वडाहरूलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिबद्धता जनाउनुभएको छ । सबै वडाहरूलाई आउँदो ५ वर्षमा पक्की सडकको रूपमा विस्तार गरिने उल्लेख गर्नुभएको छ ।  अमलेखगन्जमा रहेको विद्यमान खानेपानी समस्यालाई तत्काल समाधान गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ । प्रत्येक गाउँमा खानेपानीलाई पाइपलाइनका माध्यमले वितरण कार्यको आरम्भ गरिने प्रतिबद्धता पनि उहाँले जनाउनु भएको छ ।

नेता श्रेष्ठले विश्रामपुर–इटियाही–प्रसौनी–खुटवा–बुनियाद–इनर्वासिरा–महेन्द्र लोक मार्गसम्म सडक सञ्जाल निर्माण गरिने प्रतिबद्धता जनाउनु भएको छ । साथै छतवा–वतरा–फुलवरिया–फेटा–भर्वलिया–भलुही–बंजरिया–हरपुर इनर्वासिरा हुदै महेन्द्र लोक मार्गमा जोडिने उल्लेख गर्नुभएको छ । राष्ट्रिय गौरवका योजनाहरू फास्ट ट्र्याक, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने तथा वीरगन्ज र सिमरामा रहेको औद्योगिक कोरिडोरलाई विशेष आर्थिक क्षेत्र (सेज)को सञ्चालन गर्ने प्रतिविद्धतामा उल्लेख छ ।

आफ्नो निर्वाचन क्षेत्रमा ढल, नाला र पानीको निकासलाई व्यवस्थित गरी व्यवस्थित बसोबासको प्रबन्ध मिलाउने, सडक बत्ती, सौर्य बत्ती तथा हरियाली प्रवर्द्धनका लागि सडक पेटीमा वृक्षारोपण अभियान अघि बढाउने पनि उहाँले प्रतिविद्धतामा उल्लेख गर्नुभएको छ । पर्सा राष्ट्रिय निकुञ्ज तथा छातापिप्रामा रहेको गढीमाई मन्दिरलगायत स्थानहरूलाई पर्यटन केन्द्रको रूपमा विकास गर्ने तथा जङ्गली जनावर तथा प्राकृतिक बासस्थलहरुको संरक्षण तथा संवर्द्धन गर्ने पनि उल्लेख गर्नुभएको छ । औधौगिक कोरिडोरमा मजदुरका लागि २ सय शय्याको सुविधा सम्पन्न मजदुर अस्पतालको निर्माण तथा सञ्चालनको प्रतिबद्धता पनि उहाँले जनाउनु भएको छ ।