• १९ असोज २०८१, शनिबार

कोटेश्वरमा अन्डरपास, पेप्सीदेखि सिनामङ्गलसम्म सुरुङमार्ग

blog

काठमाडौँ, कात्तिक २३ गते । पूर्वसभामुख एवं लोकतान्त्रिक वाम गठबन्धनको काठमाडौँ–२ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओनसरी घर्तीले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । निर्वाचत क्षेत्र केन्द्रित रहेर उम्मेदवार घर्तीले मङ्गलबार घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालगायतका विषय समावेश छन् । 

अघिल्लो पटकको निर्वाचनबाट पाएको जनमतको कदर नहुँदा आर्थिक समृद्धिको आकाङ्क्षामा ठेस पुगेकाले गठबन्धन निर्माण गर्नुपरेको घोषणापत्रमा औँल्याइएको छ । संवैधानिक सर्वोच्चता, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि जनताको आकाङ्क्षा सम्बोधनका लागि गठबन्धन निर्माण भएको घोषणापत्रमा उल्लेख छ । काठमाडौँ–२ मा पर्यटकीय गन्तव्यको सर्किट निर्माणमा उहाँले प्रतिबद्धता जनाउनुभएको छ । यस्तै पूर्वाधार विकास र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि उहाँले प्रतिबद्धता जनाउनुभएको छ । साइकल लेनसहितको सडक सञ्जाल, विशेष खेलकुद क्षेत्रको विकास, साना तथा मझौला उद्योगको प्रवद्र्धनमा पनि उहाँले जोड दिनुभएको छ । 

साँखु–फड्केश्वर सडकलाई पूर्णता दिई मध्यपहाडी लोकमार्गसँग जोड्ने र साँखु हुँदै सिन्धुपाल्चोक जोड्ने सडकलाई पूर्णता दिने पनि उहाँले प्रतिबद्धता जनाउनुभएको छ । चाबहिल–साँखु सडकलाई शीघ्र पूर्णता दिने पनि उहाँको प्रतिबद्धतामा उल्लेख छ । अदालतको फैसलापछिको मुआब्जाको विवादलगायतले उक्त सडक झन्डै एक दशकदेखि पूर्ण हुन सकेको छैन । 

काठमाडौँ–२ का सबै विद्यालयमा अनुसन्धान केन्द्रको स्थापना पनि घोषणापत्रमा उल्लेख छ । आधारभूत तथा निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन गर्र्दै स्वास्थ्यमाथि नागरिकको अधिकार स्थापना गर्न भूमिका खेल्ने पनि घर्तीले प्रतिबद्धता जनाउनुभएको छ । शङ्खरापुर नगरपालिका–३, जर्सिङपौवामा अस्पताल निर्माणको प्रतिबद्धता उहाँले जनाउनुभएको छ । 

मनोहराको कटान नियन्त्रणका लागि एकीकृत कार्ययोजना ल्याउने तथा शालीनदी, मनोहरा–मूलपानी हुँदै बालकुमारीसम्म मनोहरा कोरिडोर निर्माण गर्ने पनि उहाँको प्रतिबद्धता छ । सार्वजनिक यातायात सुधारमा पनि उहाँको प्रतिबद्धता छ । मनोहरा कोरिडोर निर्माण गर्ने तथा पेप्सीकोलादेखि सिनामङ्गलसम्म सुरुङमार्ग निर्माण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमुनिबाट सुरुङमार्ग निर्माण गरी पेप्सीकोला–सिनामङ्गल आवतजावतको व्यवस्था मिलाउने घोषणापत्रमा उल्लेख छ । 

जडीबुटीदेखि तीनकुनेसम्म अन्डरपासको योजना पनि घोषणापत्रमा समेटिएको छ । सरकारले कोटेश्वरको जाम व्यवस्थापनका लागि अन्डरपासको योजना यसअघि नै वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक गरे पनि कार्यान्वयन भएको छैन । गठबन्धनले उक्त विषयलाई घोषणापत्रमा सार्वजनिक गरेको छ । यस्तै, घोषणापत्रमा कागेश्वरी मनोहरालाई प्रशस्त खानेपानीयुक्त, पर्यावरणमैत्री सहर बनाउने प्रतिबद्धता छ । शङ्खरापुरमा नेपालको कला, साहित्य र संस्कृति झल्किने गरी सांस्कृतिक ग्राम निर्माणको प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ । नेवाः सांस्कृतिक सहर साँखु, शालीनदी, बज्रयोगिनी तथा मणिचुड क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बृहत् गुरुयोजना बनाउने उहाँको घोषणपत्रमा उल्लेख छ । 

काठमाडौँ–२ मा गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा पूर्वसभामुख घर्ती तथा प्रदेश (क)मा नेपाली कांग्रेसका ध्रुव केसी र प्रदेश (ख)मा नेकपा (एकीकृत समाजवादी)का भरत फुयाल उम्मेदवार हुनुहुन्छ ।