• १९ असोज २०८१, शनिबार

सरकार र चन्द समूहबीच छलफल

blog

फाइल तस्बिर ।

लुम्बिनी समाचारदाता

लुम्बिनी, कात्तिक २३ गते । गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन सरकार निरन्तर छलफलमा रहेको बताउनुभएको छ । 

नेकपालाई राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको जानकारी दिँदै मन्त्री खाणले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग दुई दिनअघि भैरहवामा वार्ता भएको बताउनुुभयो ।

रुपन्देहीको तिलोत्तमास्थित करौजियामा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने र मुद्दा फिर्ता लिनेलगायत विषयमा छलफल भएको स्पष्ट पार्नुभयो । पूर्ववर्ती सरकारले गरेको सम्झौताअनुसार कतिपय बन्दीलाई छोडिसकेको र अन्यलाई पनि जेलमुक्त  गर्न कानुन संशोधनका लागि कानुन मन्त्रालयबाट आवश्यक प्रक्रिया भइरहेको जानकारी पनि उहाँले दिनुुभयो । नेकपा वार्ता टोलीका संयोजक विश्वकर्माले काठमाडौँमा जारी पार्टीको बैठकमा प्रस्ताव राख्ने र सरकारसँग थप छलफलपछि सम्झौता गरिने गृहमन्त्री खाणले बताउनुुभयो ।

गृहमन्त्री खाणले नेकपाका नेता तथा कार्यकर्ताले निर्वाचनमा भाग लिन खोजे प्रशासनले धरपकड नगर्ने र अन्य नागरिकसरह मतदान गर्ने अवसर दिने प्रस्ताव गरेको बताउनुुभयो । “उहाँहरू शान्तिपूर्ण तरिकाबाट मतदान गर्न आए प्रशासनबाट धरपकड केही पनि हुनेछैन । हामीले वचन दिएका छौँ,” उहाँले भन्नुुभयो, “तर मतदान बिथोल्न खोज्ने र मतदातालाई आतङ्कित पार्न खोजेमा सरकार चुप लाग्न सक्दैन । यो पनि भनेका छौँ ।”