• २० असोज २०८१, आइतबार

काउन्सिल र महासङ्घका पूर्व अध्यक्षको सुझाव

‘निर्वाचनको बेला सञ्चार माध्यम झनै अन्तरक्रियात्मक हुनुपर्छ’

blog

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहित अन्य सहभागी । तस्बिर : विपुल पाण्डे, प्रेस काउन्सिल

काठमाडौँ, कात्तिक २२ गते । प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरूले निर्वाचनका समयमा सञ्चार माध्यम उम्मेदवार र दलका विषयमा अन्तरक्रियात्मक हुनुपर्ने सुझाव दिएका छन् । 

मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता अनुगमन सुझाव समितिसँग गरेको छलफलमा विज्ञहरूले प्रेस काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको सन्तुलन, निष्पक्षतालगायतमा अनुगमन गर्नुपर्ने बताए । 

छलफलमा बोल्दै काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष सोमनाथ घिमिरेले सञ्चार माध्यमले उम्मेदवार र दलका विषयमा दिने सामग्री एकोहोरो र भ्रमपूर्ण हुन नहुने बताउनुभयो । मतदातालाई सही उम्मेदवार छनोटका लागि सञ्चार माध्यमका सामग्रीले सघाउनुपर्ने उहाँको भनाइ छ । घिमिरेले नेपालका सञ्चार माध्यमले चुनावका बेला गर्ने मत सर्वेक्षणको विधि र मापदण्ड प्रस्ट हुनुपर्ने बताउनुभयो । 

यस्तै, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष किशोर नेपालले काउन्सिलले जारी गर्ने आचारसंहितामा परिमार्जनसहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार माध्यमलाई आचारसंहिताको परिधिमा रहेर अन्तरक्रियात्मक गराउन काउन्सिलले भूमिका खेल्नुपर्ने बताउनुभयो । 

सञ्चार माध्यमले स्वतन्त्र र स्वच्छन्दताको सीमा नाघ्न नहुने 

का पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारलाई स्वनियमनमा रहन र आचारसंहिता पालनामा सजग रहन सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले काउन्सिललाई स्रोत साधन सम्पन्न गराउन आवश्यक रहेको भन्दै काउन्सिल सञ्चार माध्यम र पत्रकारको अभिभावक रहेको स्मरण गराउनुभयो । 

काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चार माध्यममा सन्तुलित सामग्री सम्प्रेषणका लागि सर्वप्रथम पत्रकारलाई नै सजग बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चार माध्यमले गर्ने मत सर्वेक्षण पत्रकार आचारसंहिताको विपरीत भए÷नभएको अनुगमन गरी आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति बिष्णु निष्ठुरीले पत्रकार र सञ्चार माध्यम अराजक हुनसक्नेतर्फ सचेत रहँदै काउन्सिलले जिम्मेवार प्रेसका लागि निरन्तर भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सञ्चार माध्यमले स्वतन्त्र र स्वच्छन्दताको सीमा नाघ्न नहुने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तारानाथ दाहालले निर्वाचनको समयमा जति धेरै अन्तरक्रियात्मक हुन सक्यो त्यति नै सही उम्मेदवार निर्वाचित हुने भन्दै सञ्चार माध्यमले पूर्वाग्रहरहित रूपमा उम्मेदवार र दलका विषयमा मतदातालाई सुसूचित गर्नुपर्ने बताउनुभयो ।


उहाँले प्रेस काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको सत्यता, पक्षधरता, पुनरावृत्ति, दुष्प्रचारयुक्त आदि विषयमा अनुगमन केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र बिष्टले सञ्चार माध्यमले चुनावका सन्दर्भमा स्वतन्त्र बहस चलाउन सक्नुपर्ने बताउनुभयो । निर्वाचनका समयमा दल र उम्मेदवारका विषयमा सामग्री सम्प्रेषणमै रोक लगाउन नहुने भन्दै बिष्टले स्वतन्त्र बहसबाट मतदातालाई स्पष्ट पार्नु मिडियाको दायित्व भएको उल्लेख गर्नुभयो ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा सञ्चार माध्यमको आफ्नै निर्देशिका आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचन आयोगले बनाएको आचारसंहिता प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने गरी लागू भएको भन्दै सञ्चार माध्यममा निष्पक्ष बहस हुन रोक्न नहुने बताउनुभयो । सञ्चार माध्यममा जति धेरै सम्पादकीय स्वतन्त्रताको उपयोग हुन सक्यो उति नै धेरै प्रेस स्वतन्त्रताको रक्षा हुने उहाँको भनाइ राख्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले गर्ने अनुगमनका सन्दर्भमा सरोकारवालाको सुझाव महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले सरोकारवाला तथा विज्ञको सुझावको आधारमा काउन्सिल अघि बढ्ने भन्दै स्वतन्त्र प्रेसको रक्षा र सञ्चार माध्यमलाई आचारसंहिताको पालनामा जिम्मेवार बनाउन काउन्सिल सधैँ सक्रिय रहने प्रस्ट पार्नुभयो ।

काउन्सिलले सञ्चार माध्यममा नियमित अनुगमनका साथै निर्वाचन लक्षित गरी वस्तुगत र विषयगत अनुगमन गरिरहेको छ । काउन्सिलको कात्तिक ६ गते बसेको बोर्ड बैठकले निर्वाचन अनुगमनलाई देशव्यापी र प्रभावकारी बनाउन अध्यक्ष बस्नेतको संयोजकत्वमा दुवै संस्थाका पूर्व अध्यक्ष सम्मिलित आचारसंहिता अनुगमन सुझाव समिति गठन गरेको थियो ।