• १९ असोज २०८१, शनिबार

मतदानमा सहभागी गराउन सरकार–चन्द समूहबीच निरन्तर वार्ता

blog

श्यामशंकर पाण्डे

लुम्बिनी, कात्तिक २२ गते । गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन उक्त समूह र सरकारबीच निरन्तर छलफल भइरहेको बताउनुभएको छ । उहाँले राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको पनि जानकारी दिनुभयो । गृहमन्त्री खाँणले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग दुई दिनअघि भैरहवामा वार्ता भएको र उक्त वार्ता सकारात्मक रूपमा अगाडी बढेको बताउनुभयो ।

मंगलबार रुपन्देहीको तिलोत्तमास्थित करौजियामा आयोजित कार्यक्रममा बोल्दै उहाँले कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिनेलगायत विषय वार्तामा छलफल भएको बताउनुभयो । पूर्ववर्ती सरकारले गरेको सम्झौताअनुसार कतिपय बन्दीहरूलाई छोडिसकेको र अन्यलाई पनि जेलमुक्त गर्न कानुन संशोधनका लागि फाइल कानुन मन्त्रालयमा पठाइसकिएको उहाँले जानकारी दिनुभयो । 

गृहमन्त्रीले भन्नुुभयो,‘‘उहाँहरू शान्तिपूर्ण तरिकाबाट मतदान गर्न आए प्रशासनबाट धरपकड हुनेछैन । हामीले वचन दिएका छौँ तर मतदान बिथोल्न खोजे र मतदातालाई आतङ्कित पारे सरकार चुप लाग्न सक्दैन । यो पनि भनेका छौँ ।’’
नेकपा वार्ता टोलीका संयोजक विश्वकर्माले काठमाडौंमा जारी रहेको उक्त पार्टीको बैठकमा प्रस्ताव राख्ने र सरकारसँग थप छलफल तथा सम्झौता गर्ने बताएको गृहमन्त्री खाँणले बताउनुभयो ।

गृहमन्त्री खाँणले नेकपाका नेता कार्यकर्तासमेत निर्वाचनमा भाग लिन खोजे प्रशासनले धरपकड नगर्ने र अन्य नागरिकसरह मतदान गर्ने अवसर दिने प्रस्ताव गरेको बताउनुभयो । ‘उहाँहरू शान्तिपूर्ण तरिकाबाट मतदान गर्न आए प्रशासनबाट धरपकड हुनेछैन । हामीले वचन दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘तर, मतदान बिथोल्न खोजे र मतदातालाई आतङ्कित पारे सरकार चुप लाग्न सक्दैन । यो पनि भनेका छौँ ।’