• १९ असोज २०८१, शनिबार

'निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिन सक्छ'

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारी । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, कात्तिक २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को सङ्क्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड १९ को सङ्क्रमण कायम रहेकाले सङ्क्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । मङ्गलबार मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड १९ को सङ्क्रमण दर बढ्नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘ठूलो मात्रामा मानिसहरु एक ठाउँ भीडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण नै मान्छौँ । त्यसमा एउटा मानिसमा भएको कुनै पनि किसिमको सङ्क्रमण अरु मानिसमा थप जानसक्छ । त्यसले गुणात्मक रुपमा वृद्धि भएर धेरै मानिसलाई प्रभाव पार्नसक्छ भन्ने हिसाबले धेरै मानिसको भीडभाड हुने कुरालाई जनस्वास्थ्यको हिसाबले निकै ठूलो चासोको रुपमा लिइन्छ र निगरानी गरिन्छ ।’’


उहाँले देशमा कोभिड सङ्क्रमण दर धेरै नभए पनि सङ्क्रमणको अवस्था भने यथावत् रहेको उल्लेख गर्नुभयो । भीडभाड बढी हुँदा अन्य प्रकारका सङ्क्रामक रोग पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको उहाँको भनाइ छ ।

‘‘अझ कोभिड १९ को महामारी हामीले भोगेको अवस्था र हामीसँग सङ्क्रमण अहिले पनि रहिराखेको अवस्था छ, विश्वका विभिन्न ठाउँमा नयाँ भेरियन्टहरु देखिराख्ने सबै अवस्थालाई हेर्दाखेरी हाम्रो भीडभाड हुने गतिविधिलाई एकदमै सावधानीका साथ अगाडि लिएर जानुपर्छ । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नसक्ने, ख्याल गर्न सकिने ठाउँहरुमा विशेष रुपमा ख्याल गर्नुपर्ने हुन्छ ।,’’ उहाँले भन्नुभयो ।

डा. अधिकारीले कोभिड १९ विरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘कोभिड १९ विरुद्धको खोप नलगाएका व्यक्तिहरु सकेसम्म त्यसरी ननिस्किने । खोप अनिवार्य रुपमा लगाउने । पूर्ण मात्रा लगाइसकेको तीन महिना कटिसकेको छ भने त्यस्ता व्यक्तिहरुले समयमै एक अतिरिक्त मात्रा बुस्टर मात्राको रुपमा लगाउनुपर्ने हुन्छ । हातको सरसफाइमा विशेष ध्यान दिने । शरीर र लत्ता कपडाहरुको सरसफाइमा विशेष रुपमा ध्यान दिने गर्‍यौँ भने सबै किसिमका सङ्क्रामक रोगहरु छन् जुन भीडभाडबाट जोखिमपूर्ण हुनसक्छन् त्यसलाई नियन्त्रण गर्नसक्छौँ ।’’


उहाँले विश्वव्यापी रुपमा कोभिड १९ को सङ्क्रमण घटेको बताउनुभयो । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उहाँको भनाइ छ । तर पनि सङ्क्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनाका कारण सावधानी अपनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । डा. अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड १९ का सङ्क्रमितहरु रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कोभिड १९ सङ्क्रमणको अहिलेको अवस्था हेर्दाखेरी विश्वव्यापी रुपमा केही देशमा सङ्क्रमण बढेको देखिन्छ । प्रायः धेरै ठाउँमा त सङ्क्रमण ओरालो लागेको नै देखिन्छ । सहज अवस्था आएको पनि देखिन्छ । हामीकहाँ विगतको भन्दा सहज अवस्था हुँदै गएको देखिन्छ । तर, नयाँ भेरियन्टहरुको सम्भावना, पुष्टि हुने कुरा, त्यसका बारेमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने कुराहरु देखिराखिएको र कहिलेकाहीँ सन्जोगले अलि जोखिमपूर्ण भेरियन्ट आउँछ कि भन्ने कुरामा सतर्क रहनुपर्ने अवस्था देखिन्छ ।’’

डा. अधिकारीले थप्दै भन्नुभयो, ‘‘कोभिडको सङ्क्रमण सँगसँगै रहेर पनि मानिसहरु एकातिर केन्द्रित भएको हुनसक्छ । सङ्क्रमण पुष्टि हुने कुराहरु शून्य भइसकेको अवस्था अहिले छैन । अहिले पनि देशभरि ६ सयको हाराहारी सक्रिय सङ्क्रमितहरु रहेका तथ्याङ्कहरु प्राप्त भएको हाम्रो विवरणमा देखिन्छ । यसलाई हेर्दाखेरी सङ्क्रमणको कुरालाई अहिले पनि विचार गरेर सावधानी लिनुपर्छ । जस्तो जनस्वास्थ्यका मापदण्डका कुराहरु, खोपका कुराहरुलाई हामीले विशेष रुपमा केन्द्रमा राखेर काम गर्नुपर्ने अवस्था अहिले पनि छ ।’’

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीका अनुसार अहिलेसम्म ६ करोडभन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे पाँच करोड मात्रा खोप लगाइसकिएको तथ्याङ्क छ । उहाँले खोप लगाउने लक्षित जनसङ्ख्या दुई करोड ३३ लाखभन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताउनुभयो । उहाँले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि जानकारी दिनुभयो ।

उहाँले कोभिड १९ विरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिनुभयो । सर्वसाधारणलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गरी कोभिड १९ विरुद्धको खोप लगाउन पनि डा. अधिकारीले आग्रह गर्नुभयो ।